महानगरपालिकाको बजेट दुई अर्ब

काठमाडौं : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०६९/७० का लागि एक अर्ब ८९ करोड ६० लाख रुपियाँको बजेट पारित गरेको छ । सो रकम गत वर्षका तुलनामा करिब ४० लाख रुपियाँले कम हो ।
महानगरपालिकाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले महानगरपालिकाबाट गरिने विभिन्न गतिविधि तथा प्रशासनिक खर्चका लागि सो रकम पारित गरेको बताए ।
उनले महानगरपालिकाले आव ०६८/६९  एक अर्ब १३ करोड आम्दानी गरी एक अर्ब नौ करोड रुपियाँ खर्च गरेको तथा आन्तरिक स्रोतबाट ६७ करोड २४ लाख रुपियाँ संकलन गरेको र बाँकी रकम सरकार र जनसहभागिताबाट प्राप्त भएको जानकारी पनि दिए ।
महानगरपालिकाले चालु आवमा प्रकोप उद्धार विशेष कोष स्थापना गर्ने र सो कोषमा स्थानीय नगरवासीबाट प्रतिघर प्रतिवर्ष सेवा शुल्कका रूपमा एक सय रुपियाँ लिई  प्रकोपसम्बन्धी कार्यमा मात्र खर्च गर्ने बताएको छ । त्यसैगरी महानगरपालिकाले आर्थिक व्यवस्थापनतर्फ वातावरण तथा फोहरमैला व्यवस्थापन कोष खडा गर्ने तथा मोटरसाइकलको लिँदै आएको कर दोब्बरले वृद्धि गरी दुई सय रुपियाँ पुर्‍याएको छ ।
सहरी विकास तथा सम्पदा संरक्षण कोष स्थापना गर्न महानगरपालिकाले २० लाख र हनुमानढोका दरबार संरक्षण कार्यक्रमबाट ३० लाख छुट्टाउने र कोषमा नेपाल सरकार, निजी क्षेत्रलगायतका संघ/संस्था एवं व्यक्तिहरूबाट प्राप्त रकम जम्मा गरी प्रथम चरणमा टेकु दोभानदेखि थापाथली क्षेत्रभित्रका सम्पदा संरक्षण कार्यमा खर्च गर्ने व्यवस्था महानगरपालिकाले मिलाएको छ । (सौस)

प्रतिक्रिया