कालोसूचीमा परेका व्यक्ति परिषद्मा सल्लाहकार

काठमाडौं, ३ साउन । उच्च माध्यमिक शिक्षा परिषद्बाट उत्तरपुस्तिका परीक्षणमा लापरबाही गरेको ठहर गरी कालोसूचीमा परेका व्यक्ति उपाध्यक्षको सल्लाहकारमा नियुक्त भई सुविधा लिएको खुलासा भएको छ । जबकि परिषद्मा सल्लाहकार नियुक्ति गर्ने व्यवस्था नै छैन ।
कालोसूचीमा परेका उदय तिवारीले अवैधरूपमा एकबर्षे करारमा नियुक्ति लिएका हुन् । उनले असार मसान्तमा करार अवधि सकिए पनि पुन: नियुक्तिको माग राखेर कर्मचारीदेखि पदाधिकारीलाई थर्काउने र बितन्डा मच्चाउने गरिरहेका छन् ।
लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्षसमेत रहेका तिवारीलाई पाँच वर्षका लागि परिषद्ले कालोसूचीमा राखेको थियो । उनलाई गत आर्थिक वर्षमा उपाध्यक्ष डा. हेमकुमार मिश्रको सल्लाहकारमा नियुक्त गरिएको हो । असार मसान्तबाट करार सकिएका तिवारी अझै पनि सल्लाहकारमा नियुक्तिका लागि लागिपरेका छन् । करार अवधि थप गर्न माग गर्दै तिवारीले परिषद्मा बितन्डा मच्चाउँदै आएका छन् ।
स्रोतका अनुसार तिवारीले ०६५ सालमा कक्षा १२ को एकाउन्ट विषयमा लापरबाहीपूर्वक उत्तरपुस्तिका परीक्षण गरेको पाइएपछि संपरीवेक्षण बोर्डले निर्णय गरी कारबाही गरेको थियो । परिषद्कै कालोसूचीमा परेका व्यक्तिलाई सल्लाहकार बनाउँदा परिषद्ले कस्तो प्रगति गर्ने हो भन्ने कर्मचारी प्रश्न गरिरहेका छन् ।
असार मसान्तबाट करार अवधि सकिएका तिवारी अहिले पनि करार थपका लागि लागिपरेका छन् । दरबन्दी नै नभएका ठाउँमा सल्लाहकार नियुक्त गरिएको थियो । महालेखा परीक्षणको कार्यालयले उपाध्यक्षको सल्लाहकार राख्न नमिल्ने भन्दै यसअघि सल्लाहकार भएका व्यक्तिबाट रकम असुल्नसमेत निर्णय गरेको छ । सल्लाहकारले लिएको सुविधा बेरुजु देखाइएको छ ।
तिवारीले करार अवधि थप गर्नका लागि अनेक हथकन्डा अपनाएका छन् । परिषद्का महाशाखा प्रमुख, उपसचिवदेखि अधिकृतसम्मलाई दुव्र्यवहार गर्नसमेत उनी पछि परेनन् । सोमबार कर्मचारी प्रशासनका उपसचिव कृष्णप्रसाद शर्मालाई दुव्र्यवहार गर्नुका साथै टेबल ठोक्ने, थर्काउने गरेका थिए । तिवारीले लगातार अभद्र व्यवहार गरेको भन्दै उमाशिप कर्मचारी संघ र राष्ट्रिय कर्मचारी संगठन, उमाशिपका अध्यक्षले सोमबार संयुक्त रूपमा कारबाही गर्नुपर्ने माग राखेका छन् । तिवारीका क्रियाकलाप असह्य भएको भन्दै सोमबार कर्मचारीले सबै काम ठप्प पारेका थिए ।

प्रतिक्रिया