काठमाडौं : एउटी श्रीमती, मध्यरातमा श्रीमान् सुतिसकेपछि रक्सीले मात्तिँदै घर आउँछे । श्रीमान् बिहान अफिस हिँड्दा ऊ सधैं सुतिरहेकी हुन्छे । श्रीमतीले दिएको तनाब भुल्न श्रीमान् रक्सीको सहारा लिन्छ । एक दिन संयोगले ऊ पस्छ मालतीको भट्टीमा ।
चलचित्र मालतीको भट्टीको कथा यसरी उठान हुन्छ । आधुनिक जीवनशैलीमा अभ्यस्त एक सहरिया दम्पत्तीको तनाबपूर्ण सम्बन्धबाट सुरु हुने चलचित्रको कथा सुरुमा सोचेकै दिशामा अघि बढ्छ । पाश्चात्य जीवनशैलीमा रमाउने श्रीमती सावित्री (नन्दिता केसी) ले आवारा युवक (कोमल) आयुष केसीसित हिमचिम बढाउँछे । श्रीमान् र बाबुबाट पैसा पाउन छाडेपछि सावित्रीले कोमलसित पैसा सापट लिएर मोजमस्ती गर्छे भने आफ्नो शरीर नै उसलाई सुम्पिन्छे । यता, श्रीमान् आदित्य (जीवन लुइँटेल) भट्टीवाली मालतीसित सल्किन थाल्छ र उसलाई दुई जिउकी बनाउँछ ।
यसैबीचमा आदित्य गुन्डाहरूबाट पिटिएर मरणासन्न अवस्थामा अस्पताल पुग्छ भने उसले धोका दिएको सम्झेर मालती रेस्टुरेन्ट बन्द गरी आफ्नो गाउँ फर्किन्छे । यता, कोमलले सावित्रीलाई आफ्नो पैसा तिराउन ब्ल्याकमेलिङ गर्न थाल्छ । उसले सावित्रीसित यौनसम्बन्ध राखेको भिडियो सार्वजनिक गरिदिन्छ । त्यस काण्डले मर्माहत भएर सावित्री आत्महत्या गर्ने सुरले घरबाट हिँड्छे । अर्कोतर्फ अस्पतालबाट बिसेक भएको आदित्य मालतीको खोजीमा हिँड्छ र उसको गाउँ पुग्छ । मालतीको घरमा पुग्दा उसले जे देख्छ, त्यही हो कथाको चरमोत्कर्ष ।
पहिलो चलचित्रमै निर्देशक गणेशदेव पाण्डेले राम्रो सम्भावना देखाएका छन् । कथाले आधुनिक भनिने सहरिया युवापुस्ताभित्र रहेको विकृतिलाई उजागर गर्न खोजेको छ । मौलिक नभए पनि कथा–पटकथामा अमिल्दा वा खोट लगाउन सकिने प्रसंग निकै कम छन् । नामजस्तै चलचित्र पूरै रक्सीमय छ । चलचित्रका नायक–नायिका करिब एक चौथाइ दृश्यमा रक्सीमै भूलिरहेका हुन्छन् । यद्यपि, ‘कथाले मागेको’ हुनाले यसलाई अतिरञ्जित भनिहाल्न मिल्दैन । सेक्समा आधारित फिल्मको बाढी लागेका बेला नायिकालाई नंग्याउन सक्ने थुप्रै मौका भए पनि निर्देशकले संयम अपनाएका छन् । सेक्स दृश्यमा सकभर कम अंगप्रदर्शन गराइएको छ । आदित्यले मालतीप्रति प्रेम अभिव्यक्त गर्दाको दृश्यलाई कलात्मक रूपमा देखाइएको छ । आदित्य मालतीको घरमा पुग्दा सामना गर्नुपरेको अवस्थाले दर्शकलाई मजैले झस्काउन सफल छ ।
मुख्य भूमिकामा रहेका नायक जीवन लुइँटेललाई व्यक्तित्वले साथ दिएको छ । उनले कम अभिनय गरेर बढी प्रभाव छाड्ने प्रयास गरेका छन् । डाइलग डेलिभरीमा भने उनले सुधार गर्नुपर्ने देखिन्छ । भट्टीवाल्नीको भूमिकालाई रेखा थापाले न्याय गरेकी छन् । उनको अभिनयमा खोट लगाउने ठाउँ देखिँदैन । सुहाउँदो भूमिका पाए पनि नन्दिता केसी त्यति खुल्न सकेकी छैनन् । उनको पनि डाइलग डेलिभरी कमजोर छ । राजारामको रूपमा आरपी भट्टराईले फाट्टफुट्ट हँसाउँछन् तर निर्देशकले उनलाई सदुपयोग गर्न नसकेको भान हुन्छ । किनकि चलचित्रभरि कमेडी दृश्य निकै कम छन् । सुनील थापा र लक्ष्मी गिरीको अभिनय परम्परागत छ । अन्य कलाकारले खासै मौका पाएका छैनन् । प्राविधिक रूपमा चलचित्र स्तरीय नै छ । कालीप्रसाद बाँस्कोटाले संगीत दिएका सबै गीत कर्णप्रिय छन् । तर, एउटा गीतलाई वाक्क हुने गरी पटकपटक रिपिट गरिएको छ चलचित्रमा । नृत्य र द्वन्द्वमा नयाँपन अभाव छ । वितरक प्रदीपकुमार उदयको प्रस्तुति रहेको यो चलचित्रलाई समग्रमा मनोरञ्जनमूलक औसत चलचित्रको दर्जामा राख्न सकिन्छ ।
– चिरञ्जीवी
प्रतिक्रिया