काठमाडैां : ताइवानी वृत्तचित्र भ्वाइसेस् इन द क्लाउडलाई उत्कृष्ट चलचित्र घोषणा गर्दै राजधानीमा बिहीबारदेखि जारी ‘छैटौँ नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव–२०१२’ सम्पन्न भएको छ । आइतबार सम्पन्न तीनदिने महोत्सवमा आरोन निर्देशित ७७ मिनटको यो वृत्तचित्रले उत्कृष्ट पुरस्कारबापत् ‘स्वर्ण ड्रम’ जित्यो । एसियाली मूलको एक अमेरिकीले दिवंगत आमाको आत्मा र वंश खोज्न ताइवान पुगेका बेला उजागर गरेको ताइबानी संस्कृतिको अनौठो पक्षलाई वृत्तचित्रले चित्रण गरेको छ ।
महोत्सवमा द्वितीय पुरस्कार अस्ट्रेलियाको लघु सिनेमा ‘मामु’ ले जितेको छ । यसले ‘रजत ड्रम’ प्राप्त गर्यो । मार्तु समुदायको बबी पात्रलाई आत्माले दु:ख दिएको अलौकिक प्रसंगलाई मामुले उठाएको छ । तेस्रो पुरस्कारस्वरूप क्यानेडियन फिल्म ‘चिलविरुद्ध भँगेरा’ ले ‘कास्य ड्रम’ प्राप्त गर्यो । माइकल डेरोजर निर्देशित यो चलचित्रमा चक्रव्युह रच्ने चिल र धेरै जान्ने बन्न खोज्ने भँगेराको दौडको रोचकतालाई समेटिएको छ ।
यस्तै, नेपाल बस्दै आएका युगान्डाका सिनेकर्मी डिदमान दिला निर्देशित वृत्तचित्र ‘एकखुट्टे नाचको ध्वनि’ ले ‘जुरी अवार्ड’ प्राप्त गर्यो । पीडादायी जीवन बिताएकी एकखुट्टे नेपाली युवतीले एकखुट्टाले गरेको नृत्यमा यो फिल्म आधारित थियो ।
राजधानीको याक एन्ड यती होटलमा आइतबार अबेर साँझ गरिएको समापनमा बिजेताहरूलाई पुरस्कार प्रदान गरियो । कार्यक्रममा लघु सिनेमा ‘सेलफोन’ ले यो वर्षको प्रोत्साहन अवार्डबापत् २५ हजार रुपैयाँ पायो । यस्तै, नेपाल पानोरामा अवार्ड भने लुज सिंह निर्देशत वृत्तचित्र ‘इम्प्रेसन अफ लुम्बिनी’ले प्राप्त गर्यो । लुम्बिनी नेपालकै हो भन्ने तथ्य बोकेको यो वृत्तचित्रबाट अवार्डसँगै निर्देशक सिंहले १५ हजार रुपैयाँ पुरस्कार पाए । १५ हजार रुपैयाँसहितको दर्शक रोजाइको पुरस्कार भने ‘के:वा कोक्कमा’ (लाटो पहाड) ले प्राप्त गर्यो । शिक्षामा पछि पर्दा लिम्बू समाजले भोग्नुपरेको समस्या यो चलचित्रले उजागर गरेको छ । मानवशास्त्री डा. डम्बर चेम्जोङ, भारतीय सिनेकर्मी तथा प्राध्यापक रीता दत्त र अस्ट्रेलियन सिनेकर्मी एन्ड्रोई भियलको निर्णायक समूहले सहभागी चलचित्रको क्षमता जाँच गरेका थिए । (सौस)
प्रतिक्रिया