१५ दिनभित्र पिपिए गर्न ऊर्जाको निर्देशन

काठमाडौं, १ साउन । सरकार र निजी क्षेत्रद्वारा निर्माणाधीन ६ आयोजनाबीच १५ दिनभित्र विद्युत् खरिद सम्झौता (पिपिए) गर्न ऊर्जा मन्त्रालयले निर्देशन दिएको छ ।
आइतबार नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागलाई पत्र लेख्दै पिपिएलगायतका काम गर्न निर्देशन दिइएको हो । ‘६ आयोजनाको पिपिएलगायतका काम १५ दिनभित्र गर्न पत्र पठाएका छौँ,’ ऊर्जा सचिव हरिराम कोइरालाले भने ।
सुपर सिक्स नामले परिचित ६ आयोजना तथा सम्बन्धित निकायबीच करिब साढे दुई वर्षदेखि विवाद थियो । गत ११ असारमा ६ आयोजना तथा ऊर्जा, प्राधिकरण र विभागबीच सात बुँदे सहमति भएको थियो । ६ मध्ये तल्लो सोलु र मेवाखोलालगायतका केही आयोजनाले डलरमा पिपिए गर्नुपर्ने माग गरेका थिए भने प्राधिकरणले खिम्ती र भोटेकोसी जलविद्युत् आयोजना डलरमा पिपिए गर्दा ‘ठूलो जोखिम’ हुने भन्दै अस्वीकार गर्दै आएको थियो ।
सहमतिअनुसार वर्षामा ४.८० पैसा र हिउँदमा ८.४० पैसाको दरमा पिपिए गर्ने तथा विदेशी ऋण ल्याउने आयोजनाका हकमा पे–ब्याक नभएसम्मका लागि डलरमा पिपिए गरिनेछ । त्यसैगरी प्राधिकरणले समयमै ट्रान्समिसन लाइन बनाइदिने, समयमै आयोजना नबनाएमा र ट्रान्समिसन लाइन नबनाएमा एकअर्का निकायले क्षतिपूर्ति तिर्नुपर्ने, वातावरणीय अध्ययन, उत्पादन अनुमतिपत्रको सहजीकरणका लागि सहयोग गर्ने सहमति पनि उनीहरूबीच भएको छ ।
कुल २१०.५ मेगावाटका ती आयोजना साढे तीन वर्षदेखि ६ वर्षभित्र निर्माण सम्पन्न हुने गरी सहमति भएको थियो । यी सहमति कार्यान्वयनमा सहजता ल्याउन ऊर्जा मन्त्रालयका सहसचिव सुनिल मल्लको संयोजकत्वमा विभागका दिनेश घिमिरे र प्राधिकरणका रामेश्वर मान सुल्पिया सदस्य रहेको समितिसमेत ऊर्जाले गठन गरेको छ ।
सहमतिअनुसार अब १६ मेगावाटको दोलखाको सिगटी, २४.१ दोलखाकै मेगावाटको खारे, २३.५ मेगावाटको सोलु, ८२ मेगावाटको तल्लो सोलु, संखुवासभाको १४.९ मेगावाटको माया र ताप्लेजुङको ५० मेगावाटको मेवाखोला जलविद्युत् आयोजनाको पिपिएबारे सहमति भएको हो ।

प्रतिक्रिया