पुन:स्थापनामा दाहाल पनि सकारात्मक

काठमाडौं, १ साउन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल  संविधानसभा पुन:स्थापना गर्न सकारात्मक देखिएका छन् । संविधानसभा पुन:स्थापनाका लागि शीर्ष नेताहरूसमक्ष हारगुहार गर्दै आएका पूर्वसभासद्को टोलीसँगको भेटमा आइतबार अध्यक्ष दाहालले दलहरूबीचको सहमतिमा  पुन:स्थापनामा जान सकिने धारणा राखेका हुन् । यसअघि कांग्रेस सभापति सुशील कोइरालाले पनि संविधानसभा पुन:स्थापनामा आफू सकारात्मक रहेको भन्दै यसबारे पार्टीमा छलफल चलाउने आश्वासन दिएका थिए ।
‘कांग्रेस र एमालेलगायत दललाई पनि दबाब दिनुस्, हाम्रो पार्टी त्यसका लागि सकारात्मक छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक पूर्वसभासद्ले भने, ‘दलहरूबीच वार्ता जारी रहेकाले संविधानसभा पुन:स्थापनाको सम्भावना बढी रहेको र त्यसका लागि अझै दबाब जरुरी छ ।’
दाहाललाई ज्ञापनपत्र बुझाएपछि पत्रकारसँग कांग्रेस पूर्वसभासद् शोभाकर पराजुलीले संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्नेमा अध्यक्ष दाहाल सकारात्मक रहेको र उनले आफ्नोतर्फबाट विशेष पहल गर्ने आश्वासन दिएको बताए । पराजुलीका अनुसार दाहालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान निर्माण प्रक्रियामा देखिएका विवादित विषय एकमुष्ट समाधान हुने अवस्था आए संविधानसभा पुन:स्थापना गर्न सकिने बताइसकेको उल्लेख गर्दै पार्टीमा पुन:स्थापनाबारे विवाद नरहेको बताएका थिए । पूर्वसभासद्ले संविधानसभाका विभिन्न समितिमा रहेर जिम्मेवारी पूरा गरेकाले सबै समान दोषी हुन् भनेर तर्क गर्नुको औचित्य नहुने भन्दै उनले संविधान बनाउन नसक्नाको प्रमुख दोष ठूला दलका शीर्ष नेताले नै लिनुपर्ने र जिम्मेवारी पनि शीर्ष नेताको नै रहेको स्वीकारसमेत गरे ।
दाहाललाई ज्ञापनपत्र बुझाउन एमाओवादी, कांग्रेस, एमाले, नेकपा–माओवादी, मधेसी मोर्चामा सम्बद्ध दलका पूर्वसभासद् कोटेश्वरको पेरिसडाँडास्थित एमाओवादीको केन्द्रीय कार्यालय पुगेका थिए ।

प्रतिक्रिया