ब्रेट ली अब नखेल्ने

सिड्नी : अस्ट्रलियाका फास्टबलर ब्रेट लीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । शुक्रबार यो घोषणा गरेसँगै उनले प्रशस्त धनराशि भएका आपिएल र घरेलु बिग व्यास टुर्नामेन्टमा भने सहभागी भइरहने बताए । लीले टेस्ट क्रिकेटबाट त फेब्रुअरी २०१० मै सन्न्यास लिइसकेका थिए भने अहिले सीमित ओभर क्रिकेटबाट पनि सन्न्यास लिएका हुन् ।
३५ वर्षीय लीले आगामी सेप्टेम्बरमा श्रीलंकामा हुने टी–ट्वान्टी विश्वकप प्रतियोगितापछि सन्न्यास लिने योजना थियो तर हालै इंगल्यान्ड भ्रमणको क्रममा चोटग्रस्त भएपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटलाई अलबिदा भनेका हुन् । ब्रेट लीका नाममा पाकिस्तानका शोएब अख्तर (१६०.८ किमी प्रतिघन्टा) पछि दोस्रो सबैभन्दा तेज गतिले बलिङ गरेको कीर्तिमान छ । लीले १६० किलोमिटर प्रतिघन्टाको गतिले बल फ्याँकेका थिए ।
लीले ७६ टेस्टमा ३०.८१ को औसतले ३१० विकेट लिएका छन् भने एकदिवसीय क्रिकेटमा २२१ म्याच खेलेर २३.३६ को औसतले ३८० विकेट आफ्नो पोल्टामा पारेका छन् । उनले जम्मा २५ वटा टी–ट्वान्टी म्याच खेले जसमा २५.५० को औसतमा उनले २८ विकेट हात पारेका थिए । (एजेन्सी)

प्रतिक्रिया