नौ सय बेडको सहकारी अस्पताल बन्दै

काठमाडौं, ३१ असार । स्वयंभूस्थित नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिले छिट्टै तीन सय शैय्याको मनमोहन मेमोरियल शिक्षण अस्पताल सञ्चालनमा ल्याउने भएको छ । यससाथै दुई वर्षभित्र अस्पतालको क्षमता विकास गरी नौ सय शैय्याको बनाउने र मनमोहन मेमोरियल मेडिकल कलेजले वार्षिक एक सय ५० जना विद्यार्थीलाई एमबिबिएस पढाउने लक्ष्य रहेको संस्थाले जनाएको छ ।
शनिबार आयोजित संस्थाको छैटौँ वार्षिक साधारणसभामा सो कुरा संस्थाले जनाएको हो । अस्पताल हेलिप्याडसहितको सुविधासम्पन्न हुने संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए । हेलिकोप्टरबाट ल्याइएका बिरामीलाई एयरपोर्टबाट अस्पतालसम्म पुर्‍याउँदा मुत्यु हुने सम्भावना बढी हुने भएकाले हेलिप्याड निर्माण गर्न लागेको पाण्डेले बताए । त्यस्तै धादिङमा मनमोहन अधिकारी सहकारी विश्वविद्यालय सञ्चालन गर्ने प्रक्रियासमेत अघि बढाइएको समेत पाण्डेले बताए ।
सहकारी पनि ठुल्ठूला व्यवसाय गर्न सक्षम रहेको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले बताए । साना व्यवसाय मात्र सहकारीले गर्ने भ्रम हटाउनु पर्ने उनको भनाइ थियो । अबको समयमा उत्पादानमूलक सहकारीलाई बढवा दिनुपर्ने धारण उनले व्यक्त गरे ।
सहकारीमार्फत देश विकास गर्न प्रशस्त सम्भावना रहेको पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले बताए । जसअनुरूप नै सरकारले तीनखम्बे अर्थनीतिलाई अवलम्बन गरेको बताए । ‘उत्पादन, स्वास्थका साथै शिक्षा क्षेत्रमा सहकारी लाग्नु पर्छ,’ उनले भने, ‘यस क्षेत्रमा सहकारी लाग्न सके अवश्य पनि सफल हुनेछ ।’ सहकारीको प्रवद्र्धन र विकासमा सहकारीकर्मी एकजुट हुनुपर्ने उनले बताए ।
एक हजार सात सय ५० जना सदस्य रहेको संस्थाले हाल मनमोहन मेमोरियल सामुदायिक अस्पताल सञ्चालन साथै मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्ससेमार्फत स्टाफ नर्स, बिएससी नर्सिङ, एचए, ल्याब टेक्निसियनलगायतका विभिन्न प्राविधिक विषय पढाउँदै आएको छ । यसैबीच संस्थाले नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को प्रवद्र्धन तथा विकासका लागि सहयोगस्वरूप २० हजार रुपियाँ प्रदान गरेको छ ।

प्रतिक्रिया