अत्तरियामा बम विस्फोट

कैलाली, ३१ असार । कैलाली अत्तरियामा बम विस्फोट भएको छ । पूजा स्टोरअगाडि अज्ञात समूहले राखेका दुईवटा बममध्ये एउटा विस्फोट भएको हो ।
शनिबार बिहान विस्फोट भएको बमबाट ठूलो क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बम विस्फोटपछि घटनास्थल पुगेको नेपाली सेनाको बोराडाँडी ब्यारेकबाट गएको बम डिस्पोजल टोलीले अर्को बम निष्क्रिय पारेको एसपी घनश्याम अर्यालले बताए ।
उनका अनुसार विस्फोट भएको र निष्क्रिय पारिएका क्यान बम थिए । कालो प्लास्टिकभित्र बेरेर राखिएको अवस्थामा फेलापरेका बम कसले राखेको भन्ने खुलेको छैन । बिहान साढे ६ बजेतिर प्लास्टिक संकलन गर्न गएका बालबालिकाले चलाउँदा बम विस्फोट भएपछि अत्तरिया बजार तनावग्रस्त भएको थियो ।
यस्तै, शनिबार बिहान करिब साढे ४ बजे अत्तरियास्थित एनसिसी बैंक शाखा कार्यालयमा लुट्ने प्रयास भएको छ । सातजनाको संख्यामा आएका लुटेराले बैंकको ताला फोडेर चोर्ने प्रयास गरेको अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
लुटेराले वेल्डिङ ग्यासको सहायताले बैंकको च्यानल गेटमा लगाएको ताला काट्ने बेला बैंक सुरक्षागार्डले थाहा पाएर प्रहरीलाई खबर गरेपछि उनीहरू भागेका थिए । घटनास्थलमा पुगेको प्रहरीले ताला काट्न प्रयोग गरिएको ग्यास र अन्य सामान बरामद गरे पनि घटनामा संलग्नलाई समात्न सकेको छैन । घटनास्थलमा पुगेका एसपी अर्यालले बैंक लुट्न प्रयास गर्ने र बम राख्ने एउटै समूह हुन सक्ने बताए । घटनापछि अत्तरियाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया