उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिने

काठमाडौं, ३१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ ।
मन्त्रालयले स्वास्थ्य सेवातर्फका कर्मचारीको मनोबल उच्च राखेर गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले पाँच कर्मचारीलाई पुरस्कृत गर्न लागेको हो ।
मन्त्रालयले निजामती सेवामा जस्तै स्वास्थ्य सेवामा पनि कर्मचारी पुरस्कृत गर्ने उद्देश्यले ‘नेपाल स्वास्थ्य सेवाका कर्मचारीलाई पुरस्कार प्रदान गर्ने निर्देशिका, २०६९’ पनि निर्माण गरिसकेको छ । निर्देशिकाअनुसार मन्त्रालयले ‘उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार’ एकजनालाई र ‘स्वास्थ्य सेवा पुरस्कार’ चारजनालाई प्रदान गर्नेछ । उत्कृष्ट स्वास्थ्य सेवाको पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ भने स्वास्थ्य सेवा पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।
मन्त्रालयले ‘नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५’ को नियम १२७(क) मा स्वास्थ्य सेवाका कर्मचारीलाई पुरस्कृत गर्न सक्ने व्यवस्थाअनुसार यस वर्षदेखि पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको मन्त्रालयका सहसचिव श्रीकृष्ण भट्टले जानकारी दिए । ‘निजामती सेवातर्फ निजामती कर्मचारी पुरस्कार प्रदान हुँदै आएको भए पनि स्वास्थ्य सेवामा हालसम्म थिएन’ उनले भने, ‘स्वास्थ्यका कर्मचारीको हौसला बढाउन नियमावलीमा भएको प्रावधानअनुसार पुरस्कार प्रणाली सुरु गरेर निरन्तरता दिन लागिएको हो ।’
निर्देशिकाअनुसार पुरस्कार सिफारिस समितिको अध्यक्ष नेपाल सरकारका मुख्य सचिव रहनेछन् । पाँचसदस्यीय समितिमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयका सचिव तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक सदस्य रहनेछन् भने स्वास्थ्य मन्त्रालयको सचिवले तोकेको बाह्रौँ तहका अधिकृत सदस्य–सचिव रहने व्यवस्था छ । (प्रशिक्षार्थी)

प्रतिक्रिया