अत्तरियामा दुई बम फेला

कैलाली, ३० असार । कैलालीको अत्तरियामा रहेको पूजा स्टोर अगाडी अज्ञात समूहले राखेको दुई बम मध्ये एउटा बिष्फोट भएको छ ।
आज बिहान बिस्फोट भएको उक्त बमबाट कुनै क्षति भएको छैन । बम बिस्फोट पछि घटनास्थलमा पुगेको नेपाली सेनाको डिस्पोजल टोलीले विष्फोट हुन बाँकी बम निस्क्रिय पारेको कैलाली प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले बताए । दुबै क्यान बम हुन् ।
बिहान साढे छ बजेतिर प्लाष्टिक संकलन गर्न गएका बालबालिकाले चलाउँदा बम बिस्फोट भएपछि अत्तरिया बजार तनावग्रस्त भएको थियो ।
यसैवीच, अत्तरियामा रहेको एनसीसी बैंकको शाखा कार्यालयमा लुटपाटको प्रयास भएको छ । छ÷सात जनाको संख्यामा आएका लुटेराले बैंकको ताला फोडेर चोर्ने प्रयास गरेको अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
लुटेराहरुले वल्डिङ् ग्याँसको सहायताले सो बैंकको च्यानल गेटमा लगाएको ताला काट्दै गरेको थाहा पाएर सुरक्षा गार्डले प्रहरीलाई खबर गरेपछि उनीहरु भागेका थिए ।
घटनास्थलमा पुगेको प्रहरीले तालाकाट्न प्रयोग गरिएको ग्याँस र अन्य सामान बरामद गरेको छ । सो घटनामा संलग्नलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।
बारामा पनि बम
उता, बाराको जितपुरस्थित अम्वे ग्लास हाउस अगाडि आज विहान शुतली बम फेला परेको छ । प्लाष्टिकको झोलाभित्र बेरेर राखेको अवस्थामा फेला परेको बम ईलाका प्रहरी कार्यालय जितपुरको टोलीले निस्क्रिय बनाएको प्रहरीले जनाएको छ ।
गत बिहिबारपनि जितपुर बजारस्थित कन्हैयालाल गुप्ताको पसल अगाडि सुतली बम फेला परेको थियो । स्थानीय व्यापारीलाई तर्साएर रकम असुल गर्न केहि दिनदेखि आपराधिक समूहहरु सक्रिय रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया