मिथकीय विनिर्माण : तारो

आख्यानमा मुक्तकीय झट्का दिने लघुत्तम रचनाविधानका रूपमा रहेको लघुकथा नेपाली साहित्यको पछिल्लो समयमा निकै लोकप्रिय रहेको छ र धेरै लघुकथाकार यस अवधिमा क्रियाशील छन् । त्यस्तै क्रियाशील व्यक्तित्वमध्ये कृष्ण शाह यात्री स्थापित लघुकथाकारका रूपमा देखिन्छन् । उनको व्यक्तित्व बहुमुखी छ । आधुनिक प्रयोगशील नाट्यसिर्जना, बालसाहित्य, आख्यान र समालोचनामा समेत स्थापित यात्रीका सबै विधामा दर्जनौं कृति प्रकाशित छन् । सम्पादनमा पनि उनको विशिष्टता छ भने आफूले कलम चलाएका सबै विधामा पृथक् पहिचानका साथ देखापर्नु उनको विशेषता हो ।
‘सूक्ष्म शिखाहरू’ (२०५६) र ‘आणविक अस्त्र’ (२०६४) पछि कृष्ण शाह यात्रीको ‘तारो’ तेस्रो लघुकथा कृतिका रूपमा देखिएको छ । यस संग्रहभित्रका ६५ वटै लघुकथा हरेक दृष्टिले सशक्त र व्यंग्यधर्मी छन् । मान्छेभित्रका नीचता, दुष्टता, आडम्बरी प्रवृत्ति, छल–छद्म, क्रुरता, अमानवीयता, हठता, स्वार्थी प्रवृत्ति, वैयक्तिक पारिवारिक समस्या आदि कृष्ण शाह यात्रीका यी लघुकथाका केही अन्तर्वस्तु हुन् भने तीभन्दा पनि अझ बढी राजनीतिक क्षेत्रमा देखिएका संगतिहीनता, मूल्यहीनता, विकृति, विसंगति, भ्रष्टाचारी प्रवृत्ति, सत्ता दुरुपयोग, देशको जर्जर अवस्था, नेताहरूका स्वार्थी प्रवृत्ति, अकर्मण्यता, मान्छेका पैसामुखी प्रवृत्ति मूल अन्तर्वस्तु बनेर आएका छन् । साहित्यिक क्षेत्रमा देखिएका प्रदूषण र विद्रुपताको अभिव्यञ्नना तथा पौराणिक मिथकहरूको विनिर्मीकरण गरेर देखाउने नवीन शैलीको प्रयोग लघुकथाकार कृष्ण शाह यात्रीका लघुकथाको निजी प्रवृत्ति हो भने प्रविधि संस्कृतिको प्रयोग अर्को विशेषता हो ।
लघुकथाकार कृष्ण शाह यात्रीको ‘तारो’भित्रका प्राय: सबै लघुकथा यिनै केन्द्रीय सन्दर्भहरूसँग सम्बद्ध छन् र उपयुक्त अन्तर्वस्तु र प्रवृत्तिहरूको संकुल वृत्तबाट उनको यस संग्रहका लघुकथाहरू लेखिएका छन् । ‘कुमारी आमा’को मातृत्व/नारीत्व, ‘बयान’को तर्क, ‘योग्यता’को विद्रुपीकरण, ‘गोलेमन्त्री’को सम्पत्ति, ‘स्वभाव’को व्यंग्य, ‘फूट’कोसंगतिहीनता, ‘जेल वर्षहरू’को राजनीतिक दुर्गन्ध, ‘बन्द’को युगीनता आदि यस्ता केही शक्तिशाली विम्ब हुन्, जसका आधारमा यस संग्रहका लघुकथालाई प्रतिनिधिमूलक हैसियतमा उभ्याउन सकिन्छ । साहित्यिक क्षेत्रमा देखिएका विकृति र विसंगति, मिथकीय विनिर्माण र प्रविधिसंस्कृतिको प्रभाव–प्रयोग उनका लघुकथाका विशिष्ट प्राप्ति हुन् ।
‘कन्जुस्याइँ’को कुबेर, ‘श्रवणकुमार’ लघुकथाको श्रवणकुमार, ‘हार’को युधिष्ठिर, ‘आधुनिक एकलव्य’का एकलव्य र द्रोणाचार्य आदि यस्ता शक्तिशाली मिथकीय विम्ब हुन्, जसले वर्तमान नेपाली राजीतिक, समाज, संस्कृति र युगीन कुरूप यथार्थको सजीव विम्बचित्र उतार्छन् । प्राचीन पौराणिक मिथकीय पात्रविम्ब र मिथकीय घटनासन्दर्भलाई वर्तमानको विद्रुपीकरणसँग समीकरण गरी युगीन यथार्थलाई अभिव्यञ्जित गरिएको छ । वर्तमानको संगतिहीनता र कुरूप यथार्थप्रतिको व्यंग्यका दृष्टिले यी र अन्य लघुकथा निकै प्रभावी छन् । ‘बाँदर मान्छे’, ‘स्वप्नयन्त्र’, ‘नयाँ युग’, ‘नयाँ साथी’ आदि लघुकथामा प्रविधि संस्कृतिको प्रभाव छ भने ‘योग्यता’, ‘विधाविमर्श’, ‘चर्चा’, आदि लघुकथामा साहित्यिक क्षेत्रमा देखिएका विकृति र विसंगतिप्रति व्यंग्य छ ।
यस संग्रहका धेरै लघुकथा राजनीतिक विकृति, विसंगति कुरूप यथार्थप्रतिको व्यंग्यमा केन्द्रित छन् । यस्ता लघुकथामध्ये ‘डर’, ‘प्रवेशाज्ञा’, ‘दृश्य दृश्यहरू’, ‘फुट’, ‘श्रेणी’, ‘विकल्प’, ‘फेराइ’ आदि शीर्षकका लघुकथा प्रभावी देखिन्छन् । कतिपय लघुकथामा नवीन शैली पनि अवलम्बन गरिएको छ । ‘कुमारी आमा’, ‘बयान’, ‘प्रवेशाज्ञा’, ‘जेल वर्षहरू’ आदि लघुकथामा नवीन शैलीको बान्की छ । यसरी ‘तारो’ शीर्षकको प्रस्तुत लघुकथासंग्रहका लघुकथाहरू अन्तर्वस्तुका दृष्टिले विविधतामय छन् भने मिथकीय विनिर्माण भएका उपर्युक्त केही लघुकथा र शैलीय नवीनता भएका केही लघुकथामा मिथकीय सन्दर्भ र पात्रहरूको विनिर्मीकरणबाट नवीनता र प्रयोगपरकता थपिएको छ । कतिपय लघुकथामा चिद्वैषम्य र विपर्यासको प्रयोग गरेर व्यंग्यलाई प्रभावी तुल्याइएको छ र त्यस्तो व्यंग्य श्यामव्यंग्यका रूपमा पनि देखिएको छ ।
लघुकथाको शीर्षक ‘तारो’ नै व्यंग्यको सबैभन्दा राम्रो नमुना हो । यसबाट पनि प्रस्तुत संग्रहका लघुकथा बढी व्यंग्यप्रधान छन् भन्ने स्पष्ट देखिन्छ । तारोको अर्थ वाणको तीर वा निसाना हो । यो सूक्ष्म रूपमा अर्जुनदृष्टि हो । कृष्ण शाह यात्रीले वर्तमानका यावत् संगतिहीनता र कुरूपताप्रति यी लघुकथामा व्यंग्यको तारो अर्थात् तीर हानेका छन् र तारो बनेका छन् नेपाली राजनीतिक, समाजिक, वैयक्तिक, आर्थिक आदि क्षेत्रमा देखिएका कुरूप त्रासदी र संगतिहीनता ।
तसर्थ, रोचक र घोचक हुनु यस संग्रहका लघुकथाहरूको विशेषता हो । समकालीन नेपाली लघुकथा लेखनका क्षेत्रमा क्रियाशील कृष्ण शाह यात्रीको यस कृतिभित्रका सबै लघुकथा व्यंग्यप्रधान मात्र होइन, सुधारात्मक बाटो देखाउन पनि सक्षम छन् । यस संग्रहका लघुकथाले समकालीन नेपाली लघुकथाका क्षेत्रमा प्रतिनिधित्व गर्ने क्षमता राख्छन् । यो नै यस कृतिको प्राप्ति हो । मिथकीय विनिर्माण, युगचेतनाको अभिव्यक्ति र व्यंग्यधर्मिताका त्रिआयामबाट सिर्जिएका यी लघुकथा पठनीय छन् ।

प्रतिक्रिया