राजविराज, ३० असार । सप्तरीको सारस्वर गाविसमा गोली प्रहारबाट नेपाली कांग्रेस गाउँ इकाइका सभापतिको हत्या भएको छ । बिहीबार मध्यरात गोली लागेर सारस्वर गाविस–५ का ३५ वर्षीय इन्द्रनारायण यादवको मृत्यु भएको छ भने एकीकृत नेकपा माओवादीका गाउँ कमिटीका संयोजक क्रिस भनिने कृष्णनन्दन यादव घाइते भएका छन् ।
प्रहरीका अनुसार बिहीबार मध्यरात स्थानीय ताराकान्त यादवले आपसी विवादपछि घरमा रहेको बन्दुक निकालेर हान्दा इन्द्रनारायणको मृत्यु भएको हो । ताराकान्त मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ता रहेको कांग्रेसले जनाएको छ । गोली लागी घाइते भएका दुवैजनालाई उपचारार्थ सिराहा लहानस्थित अस्पतालतर्फ लैजाँदै गर्दा इन्द्रनारायणको मृत्यु भएको र क्रिसको चाहिँ उपचार भइरहेको सप्तरी प्रहरीका एसपी गणेश थापा क्षेत्रीले बताए । एसपी थापाका अनुसार गोली चलाएको अभियोगमा ताराकान्त, उनका छोरा दीपेन्द्र र स्थानीय रुद्री मण्डललाई बन्दुकसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
गाविसको मोटरबाटो ग्राभेलिङ गर्न उपभोक्ता समितिको अध्यक्षका लागि भएको विवादका कारण फोरम कार्यकर्ताले गोली हानी यादवको हत्या गरेको कांग्रेस सप्तरीले जनाएको छ । ताराकान्तले भने समूहमै आएका व्यक्तिहरूले छोरामाथि हातपात गर्न थालेपछि आफूले गोली चलाएको बयान दिएको इलाका प्रहरी कार्यालय बोदेबर्साइनका इन्चार्ज विनोद झाले बताए ।
यसैबीच पीडित पक्षले शुक्रबार प्रहरीले दोषी सबैलाई पक्राउ नगरेको भन्दै बोदेबर्साइन इलाका प्रहरी कार्यालयमा तोडफोड गरेका छन् । तोडफोडमा कार्यालयको झ्यालढोकाका सिसा फुटेको प्रहरीले जनाएको छ । त्यस क्रममा प्रहरीसँगको झडपमा ६ जना सर्वसाधारण घाइते भएको प्रदर्शनकारी पक्षले जानकारी दिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी कार्यालयको सुरक्षार्थ प्रहरी निरीक्षकको कमान्डमा ३० सुरक्षाकर्मी थप गरी सुरक्षा मजबुत पारिएको प्रहरीले जनाएको छ ।
आमाछोरीको हत्या गरी लुटपाट
राजन दाहाल
हेटौंडा, ३० असार । मकवानपुरको भँैसे गाविस वडा नम्बर ३ कालिटारमा लुटेरा समूहले आमाछोरीको हत्या गरी धनमाल लुटेर लगेको छ । लुटेरा समूहले शुक्रबार बिहान २/३ बजेतिर ज्ञानबहादुर थापा मगरका पत्नी गंगामाया र छोरी लक्ष्मीको हत्या गरी धनमाल लुटपाट गरेको हो ।
बिहान घरको ढोका नखुलेपछि आफन्त थापा निवास जाँदा उनीहरू मृत भेटिएको स्थानीय शिव थापाले बताए । पैसा र व्यक्तिगत रिसइवीका कारण उनीहरूको हत्या भएको हुन सक्ने आशंका थापाले गरे ।
फरक/फरक कोठामा सुतेका आमाछोरीको हातखुट्टा सलले बाँधी मुखमा कपडा कोचेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । ओछ्यान र सिरानीमा रगत लागेको अवस्थालाई विश्लेषण गर्दा हत्याभन्दा अघि कुटपिट भएको अनुमान प्रहरीले लगाएको छ ।
घरमा रहेका दुवैजनाको हत्या भएकाले लुटपाट कति भयो यकिन हुन नसकेको मकवानपुरका एसपी पूर्णचन्द्र जोशीले बताए । लुटपाटका क्रममा दराज फोरिएको लत्ताकपडा यत्रतत्र फ्याँकिएको र सुन राख्नका लागि प्रयोग हुने बाकस रित्तो छ ।
त्रिभुवन राजपथसँगै जोडिएको उक्त घरमा सामान्य खाजा र किराना पसल सञ्चालनमा थियो । पसल गाउँको मध्यभागमा रहेका कारण कारोबार राम्रो हुने गरेको थियो । स्थानीयवासी र छोरा तुल्सीसँगको सोधपुछका आधारमा केहीलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ । एसपी जोशीले अनुसन्धान सुरु भएको बताउँदै चाँडै घटनामा संलग्न दोषीलाई पक्राउ गरिने बताए ।
प्रतिक्रिया