“प्रस्ताव नगरीकनै माया बसेछ”

मेरो फस्र्ट डेट अन्यको भन्दा केही फरक लाग्छ मलाई । ती दिनमा म २६ वर्षकी थिएँ, उहाँचाहिँ २८ वर्षको । पशुपति पुरी, मेरा श्रीमान् । २०६२–६३ सालको जनआन्दोलनमा विद्यार्थीको मोर्चा सम्हालिरहेकी थिएँ । पक्राउ पर्ने, घाइते हुने, पुलिसको कुटाइबाट टाउको फुट्ने भइरहन्थ्यो । यसै कारण मिडियामा परिचित भइरहेकी थिएँ । त्यही क्रममा एक दिन बानेश्वरको बेकरी क्याफेमा हामीले एक–अर्कालाई पहिलोचोटि देख्यौँ । उहाँको एक साथी मेरो पनि साथी भएकाले उनैका कारण विनाप्रसंग हाम्रो भेट हुन पुगेको थियो । त्यसो त उहाँ मलाई चिन्नुहँुदो रहेछ, पहिलो भेटमै तारिफ गर्नुभयो । मेरा लागि चाहिँ उहाँ बिल्कुलै नयाँ मान्छे ।
पहिलो भेटमै फोन नम्बर आदानप्रदान भयो, कुराकानी झाँगिदै गयो । बढीजसो फोन उहाँ नै गर्नुहुन्थ्यो, बेलाबेलामा म पनि गर्थें । उहाँ होसियार भएर आन्दोलनमा जान सम्झाइरहनुहुन्थ्यो । दुईपटक टाउको फुटिसकेकाले अरूले पनि यसै भनेर सम्झाउँथे । एक अमेरिकी साथीले त ‘यो लगाएर जाऊ’ भन्दै मलाई हेल्मेटै गिºट दिएका थिए । यस कारण सहानुभूतिका ती शब्द मेरा लागि सामान्य नै थिए ।
आन्दोलन सफल भएपछि म अलि फ्री भएँ । हामीबीच कुराकानी पनि लम्बिन थाल्यो, फोनमा मात्रै । पहिलोचोटि भेटेको दुई वर्षपछि पुतलीसडकको एक रेस्टुरेन्टमा दुईजना मात्र भेट गर्‍यौँ । २ बजे भेट्ने भने पनि मेरो मिटिङका कारण चार बज्यो । त्यसको भोलिपल्ट म जनकपुर जानुपर्ने थियो । उहाँले ‘म पनि पोखरा जानु छ, कलंकीसम्म सँगै जाऊँ न त’ भन्नुभयो । हामीले त्यसै गर्‍यौँ । गफ र भेटघाट बढे पनि हामीले मायाप्रेमका बारे भने सोचेकै थिएनौँ । जनकपुरमा मलाई थोरै आर्थिक समस्या पर्‍यो । उहाँलाई नै फोन गरेँ । पोखराबाट उहाँले मोबाइलमा ५ सयको रिचार्ज गराइदिनुभयो । काठमाडौं फर्किएपछि त हामी अब दिनदिनै भेट्न थालेका थियौँ । फोनमा पहिला मेरो पार्टीकै बारेमा कुराकानी बढी हुन्थ्यो । पछिचाहिँ एक–अर्काको व्यक्तिगत जीवनबारे पनि चासो राख्न थाल्यौँ । वन मन्त्रालयका कर्मचारी उहाँ जागिरका सिलसिलामा पोखरा सरुवा हुनुभयो । तर, पनि हाम्रो सम्बन्धलाई असर पारेन । अब मोबाइलमा कुराकानी गर्दा दुईपट्टिकै पैसा काटिने भएपछि उहाँले मलाई पोखराकै सिम पठाइदिनुभयो । सजिलोसँग गफ होस् भनेर यति धेरै कसरत गरेको देख्दाचाहिँ उहाँलाई मप्रति केही इन्ट्रेस्ट रहेको अनुभूति गरेकी थिएँ । हुँदाहुँदा राति १०–११ बजेपछि एकअर्कालाई फोन गर्दा पनि हामीलाई अप्ठ्यारो लाग्दैनथ्यो । तर, मेरो पढाइमा असरचाहिँ परेको थियो । म सधैँ १०–११ बजेसम्म अध्ययन गरेर सुत्थेँ । अबचाहिँ उहाँसँग केही गफ गरेपछि मात्र निदाउने बानीले समात्यो । लाग्न थालेको थियो– उहाँसँग अरू साथीसँगभन्दा अलि फरक सम्बन्ध छ । तर, यो माया नै हो भनेर स्पष्ट पनि भइसकेकी थिइनँ ।
अहिले सम्झन्छु– एक–अर्कालाई प्रस्ताव नगरीकनै हामबीच माया भने बसिसकेछ, ती कुरा शब्दमा भन्नु नपर्ने रहेछ । जब कुनै मानिसलाई चाहिनेभन्दा बढी प्राथमिकता दिइन्छ, त्यही नै माया रहेछ । नत्र जो पायो त्यहीसँग त दुई मिनेट बिताउन पनि असहज हुन्छ । वास्तवमा त्यो प्रेम भावना अमूर्त थियो तर दह्रिलो रहेछ ।
अनेरास्ववियुको १८औँ सम्मेलन चितवनमा हुँदा उहाँले मलाई खुबै ध्यान दिनुभयो । चिनेका मान्छेहरूलाई रामकुमारीको टिमलाई सहयोग गर भन्नुहुन्थ्यो । मैले उपाध्यक्ष जितेकी थिएँ । मलाई अध्यक्ष बनाउने १९औँ सम्मेलनचाहिँ पोखरामा भएको थियो । उहाँ त्यति बेला वीरगन्ज हुनुुहुन्थ्यो । तर पनि पोखरा आएर आºना पुराना साथी जम्मा गर्नुभएछ र मेरो समर्थनमा अड्डा जमाउनुभएछ । पोखराका गल्लीगल्लीमा मेरो पर्चा टँसाउनुभएछ । उहाँको त्यो योगदान मेरा लागि फलीफाप साबित भयो ।
पहिलो भेटपछिका पाँच वर्ष बितिसकेका थिए । हामी वल्र्ड ट्रेड सेन्टरमा कफी खाँदै थियौँ । उहाँले भन्नुभयो– अब बिहे गर्नुपर्छ । मलाई कुनै नौलो लागेन, न त एक्साइटमेन्ट । यसको अर्थ, मेरो मनलाई उहाँ नै आºनो मान्छे हो भन्ने पहिल्यैदेखि लाग्न थालिसकेको रहेछ । मैले ‘हुन्छ’ भनेँ । तर, भर्खरै अध्यक्ष भएकाले केही समय कुर्दा राम्रो हुने बताएँ ।
विवाहका लागि तयार भयौँ, तर समस्या थियो– संगठनमा कसरी भन्ने ? त्यही क्रममा एक दिन पत्रकार भवानीश्वर गौतमले मेरो अन्तर्वार्ता लिए । अन्त्यमा उनले मेरो विवाहको कुरा सोधे । अचम्मै लाग्यो– बाहिर कतै भनेकै छैन, पत्रकारले कसरी थाहा पाए † हो न हो, यिनले सबै कुरा थाहा पाएरै बिहेबारेको अन्तर्वार्ता लिन आए भन्ने पर्‍यो मेरो मनमा । उनलाई भनेँ– ‘हो म विवाह त गर्दै छु, तर मान्छे र मिति भने अहिल्यै भन्न सक्दिनँ । संगठनमा कुरा नराखीकन हल्ला गर्न हुँदैन ।’ उनलाई न्युज नलेख्न निकै आग्रह गरेँ । खासमा उनलाई थाहै रहेनछ, प्रसंगवश सोधेका मात्र रहेछन् ।
२०६६ साल माघ २९ गते हामीले सम्बन्धलाई बिहेमा परिणत गर्‍यौँ । लाग्छ– यो १८–१९ को उमेरमा गरिने गन्तव्यहीन प्रेम थिएन, त्यसैले त सही गन्तव्यमा पुगिछाड्यो । त्यसको दुई वर्षपछि छोरा जन्मिसक्यो, नाम राखिसकेका छैनौँ । छोरा सानै छ, त्यसैले राजनीतिमा पहिलेजस्ता सक्रिय हुन पाइरहेकी छैन ।
दाम्पत्य जीवनको रथ राम्रैसँग गुडिरहेको छ । अलिअलि ठाकठुक त भई नै हाल्छ, तर सानो सानो कुरामा । यो सामान्य नै हो, अलिअलि ठाकठुक त आगो बाल्नलाई पनि त गर्नुपर्छ नि † मेरो दाइले उखान सुनाउनुहुन्थ्यो– ‘विवाहको पहिलो वर्ष श्रीमती कराउने श्रीमान्ले सुन्ने, दोस्रो वर्ष श्रीमान् कराउने श्रीमती सुन्ने र तेस्रो वर्षदेखिचाहिँ श्रीमान्–श्रीमती दुवै कराउने छिमेकीले सुन्ने ।’ तर, हाम्रो हकमा चाहिँ यो उखान अहिलेसम्म उखानै मात्र छ । घरायसी व्यवस्थापनका मामिलामा सानोतिनो ठाकठुक चलिरहन्छ । म पनि अलि हुस्सू छु भन्या, एक ठाउँमा राखेको सामान अर्कोतिर खोज्न पुग्छु । यस्तै कुरामा उहाँको भनाइ भेट्छु ।
मेरो पारिवारिक जीवनले राजनीतिमा कहीँ डिस्टर्ब गर्छ जस्तो लाग्दैन, उहाँ निकै बुझ्झकी हुनुहुन्छ । राजनीतिमा २० वर्ष बिताइसकेँ, त्यसैले केही वर्ष ग्याप हुँदैमा ट्ेरन छुट्ला कि भन्ने चिन्ता छैन । फेरि मलाई सस्तो लोकप्रियताका लागि दौडन मन छैन, त्यसैले छोरा ठूलो होउन्जेल कुर्ने सुरमा छु । तर, अहिले नै पार्टीले एप्रोप्रियट जिम्मेवारी दिएर तिमीले यसो गर्नैपर्छ भन्छ भने पनि छोरालाई कङ्गरु ब्यागमा बोकेर जहाँसुकै जान पनि तयारै छु । तर, अब म रत्नपार्क र बल्खुका चौरमा दुबो उखेलेर बस्ने स्टेजको पोलिटिक्समा चाहिँ पक्कै छैन । जहिले मलाई उपयुक्त जिम्मेवारी दिइन्छ, फेरि राजनीतिमा सक्रिय हुनेछु ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया