प्रशिक्षकमाथि गम्भीर आरोप

काठमाडौं : नेपाली टेबलटेनिसका तीन वरिष्ठ प्रशिक्षकमाथि गम्भीर आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेको छ । निवेदनमा मुख्य प्रशिक्षक वृजेन्द्र हमाल, प्रशिक्षक सुशील पौडेल र शंकर गौतममाथि अनुचित आर्थिक लाभ उठाएको आरोप लगाइएको छ । साथमा, सदस्य सचिव युवराज लामालाई भ्रष्टाचार गरेको जानकारी भए पनि कारबाहीको नाटक गरी अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा सरुवा गरिएको आरोप लगाइएको छ ।
प्रशिक्षण हल भाडामा लगाई त्यसको हिसाबकिताब नदेखाएको, आफू खुसी कम रकममा भाडामा दिने गरेको र संघले गर्नुपर्ने प्रतियोगिता पनि व्यक्तिगत रूपमा गरिएको आरोप लगाइएको छ ।
अख्तियारमा दायर निवेदनमा निवेदकको नाम भने उल्लेख छैन । नेपाल टेबलटेनिस संघको साधारणसभा सकिएको केही समयपछि नै भएको यस खालको निवेदनलाई अर्थपूर्ण रूपमा पनि लिइएको छ । एक महिनाअघि सम्पन्न साधारणसभामा हमाल उपाध्यक्षमा निर्वाचित भएका थिए भने गौतम सचिव पदमा निर्विरोध निर्वाचित भएका थिए । यसैगरी, सुशील सबैभन्दा बढी मत ल्याएर सदस्यमा निर्वाचित भएका थिए । उक्त साधारणसभामा सुशील शाही प्यानल पराजित भएको थियो । चतुरानन्द वैद्य अध्यक्षमा निर्वाचित भएका थिए । (सौस)

प्रतिक्रिया