महासंघद्वारा राखेपलाई चेतावनी

काठमाडौं, २८ असार । नेपाल खेलकुद महासंघले राष्ट्रिय खेलकुद परिषद्को तीन दिनअघि बसेको बोर्ड बैठकले गरेका निर्णय आपत्तिजनक रहेको जनाएको छ । महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गरी ‘पदमुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले गरेका विवादास्पद र हचुवा निर्णयहरूले नेपाल खेलकुद महासंघको गम्भीर ध्यानाकर्षण भएको’ जनाएको छ । बोर्ड बैठकले नेपालमा अस्तित्वमा रहेका दुई ओलम्पिक कमिटी विघटन गरी नयाँ ओलम्पिक कमिटी गठन गर्ने निर्णय गरेको थियो ।
स्मरण्ीय छ, खेलकुदमा भएको सरकारी हस्तक्षेपका कारण धेरै राष्ट्रले प्रतिबन्धको समस्या भोगिसकेका छन् । महासंघले यस अवस्थामा सरोकारवालाहरूसँग छलफल गरी सहमतिका साथ ठोस र दीर्घकालीन योजना बनाई अघि बढ्नुपर्ने बेलामा निहित दलीय स्वार्थले प्रेरित भई परिषद्ले आसन्न लन्डन ओलम्पिक २०१२ लाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ । नेपाल ओलम्पिक कमिटी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ( आइओसी) को मातहतमा रहेको राष्ट्रिय ओलम्पिक कमिटीमध्ये एक हो । आइओसीले आफ्नो मातहतको निकायभन्दा बाहेक अन्यलाई बेवास्ता गर्नु स्वाभाविक पनि हो ।
परिषद्ले निर्णय गरेलगत्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले पनि उक्त कदम ओलम्पिक चार्टरविरुद्ध हुने बताइसकेका छन् । स्रोतका अनुसार युवा तथा खेलकदु मन्त्रालयका सचिव सुशील घिमिरेसहित परिषद् सदस्य सचिव युवराज लामा हरेक संघका एकएक प्रतिनिधिलाई मिलाएर नयाँ ओलम्पिक कमिटी गठन गर्ने तयारीमा लागेका छन् । परिषद् एमाओवादी निकट भए पनि राजनीतिक सोच नमिल्ने र लोकतान्त्रिक दाबी गर्नेले यस घटना क्रममा साथ दिएको देखेर आश्चर्यचकित भएको महासंघले जनाएको छ । महासंघले परिषद्का कारण लन्डन ओलम्पिक प्रभावित भए यसको जिम्मेवारी राज्यपक्षले नै लिनुपर्ने जनाएको छ ।
‘तीन हजार प्रशिक्षक तयार गर्ने (नियुक्ति गर्ने) बेमौसमको बाँसुरी बजाउनु, संगठनहरूका कार्यालय परिषद् हाताबाट हटाउने वाहियात कुरा गर्नु र संघहरूको स्वतन्त्रतामाथि हस्तक्षेप हुने गरी एनओसीअन्तर्गतका खेलकुद संघहरूलाई धम्क्याउने कुरा गर्नु अख्तियारको कठघरामा उभिएको राखेपका लागि त्यति सुहाउने कुरा होइन,’ महासंघ अध्यक्ष पुरुषोत्तम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघले सरोकारवालासँग छलफल गरी सहमति कायम गरेर अघि नबढे सशक्त विरोधमा उत्रने चेतावनी दिएको छ ।

प्रतिक्रिया