मत-विमत

राष्ट्रधर्म र राजनीतिमा आएको विचलन

सौर्य अनलाइन २०६९ असार २८ गते ४:०५ मा प्रकाशित

राजनीतिक परिवर्तनको नाममा धर्मनिरपेक्षताको नाटक चलिरहँदा सनातन धर्मको कुरा उठाउनु हिन्दू अतिवादी र राजावादीजस्ता हास्यास्पद उपाधि पाइने स्थिति थियो । जसले गर्दा ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बीहरू रहेको देशमा धर्मका पक्षका आवाजहरूलाई सञ्चार जगतले पनि खासै स्थान दिन सकेनन् । राजनीतिक परिवर्तनको छद्म नाटकको पर्दाफास हुँदै जानेक्रममा नेपाल सर्वोत्कृष्ट सनातन धर्मदर्शनको राष्ट्रको नामबाट चिनिँदा कसलाई बेफाइदा भएको रहेछ ? सनातन हिन्दूराष्ट्र किन हटाउनुपर्‍यो ? र हटाउँदा कसलाई के फाइदा हुँदो रहेछ ? भन्ने कुरा दिनप्रतिदिन उदागिँदै छ । माफियाको इसारामा भित्र–भित्र देशको स्वधर्म, दर्शन, मौलिकता, परम्परा, सभ्यता, संस्कृति र जनचाहनाविरुद्धका षड्यन्त्रमा परधर्मीलाई साथ दिँदै पराइको चारोमा नाच्ने र बाहिर–बाहिर साम्राज्यवाद तथा विस्तारवादको विरोधका शब्द बोल्दै राष्ट्रवादीको छद्म नाटकका पात्र बन्नेहरूको ‘जो चोर उसको ठूलो स्वर’ भन्ने उक्ति प्रमाणित भएको छ ।
नेपालभूमि प्राचीनकालदेखि नै तपोभूमि–देवभूमिको सार्थकताले विश्वमा चिनिएको छ । पूर्वीय धर्मदर्शनका शास्त्रहरूले यहीँको महिमा गाएको छ । धार्मिक ऐतिहासिक तथा पुरातात्विक महत्त्वका विषयहरूले यिनै विशेषतालाई प्रमाणित गरेको छ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध यहीँ जन्मनु, हजारौं साधनास्थल तपोस्थलका अवशेष गुफाहरू र प्राचीन हस्तलिखित साधना ग्रन्थहरू फेला पर्दै जानु इतिहासको अकाट्य प्रमाण बनेको छ । हजारौं ऋषिमुनिहरूले यहीँ आएर साधना गरी सिद्धि प्राप्त गरेको इतिहासले सिद्ध गर्छ । आदि–अनादि हुँदै सत्य, द्वापर, त्रेता युगका विभिन्न प्रमाण आदिबाट पनि यहाँको मौलिकता, दर्शन, कला, संस्कृति सनातन धर्म दर्शनपरक रहेको पाइन्छ । अक्षरवर्णमा देववर्ण अर्थात् देवनागरीलिपि यहाँको हुनु, पशुपतिनाथ एवं बौद्धनाथ लुम्बिनी यहीभूमिमा हुनु, भौगोलिक रूपमा विश्वको शिरका रूपमा विराजमान सरगरमाथा यहीँ हुनु, जलस्रोतलगायत खनिज द्रव्यहरूको प्रशस्त सम्भावना रहेका चट्टान आदिहरू प्रशस्त रहनु, जडीबुटी पनि विश्वमा सर्वोत्कृष्ट यहीँको हुनु, कुनै समयमा शान्ति राष्ट्र भनेर यही भूमिलाई विश्वले चिन्नुजस्ता विषयवस्तुले यो भूमिको पहिचान विश्वका सामु विशेष महत्त्वपूर्ण रहँदै आएको हो ।
कसैको अस्तित्वलाई समाप्त पार्नुछ भने पहिला त्यसको धर्म, संस्कार, संस्कृति, परम्परा, सभ्यता, मौलिकता, दर्शन आदि पहिचानलाई समूल समाप्त गर्नुपर्छ र त्यहाँ आºनो साम्राज्यवाद, विस्तारवाद लाद्नुपर्छ भन्ने मानवसभ्यताको कलंकित संकीर्ण मानसिकताको तुच्छ सिद्धान्त हुन्छ । त्यही सिद्धान्त नेपालमा प्रयोग भएको छ । सनातन धर्म दर्शनका वेद, वेदान्तजस्ता सृष्टिका अद्वितीय धर्मदर्शन ग्रन्थहरू जलाउने, सनातनीहरूलाई विभिन्नखालका दु:ख, कष्ट दिने तथा मठ–मन्दिरलगायतका सनातन संरचना तथा सम्पदाहरूमा विभिन्न बहानामा हमला गर्ने जस्ता षड्यन्त्रहरू गर्ने कार्य विभिन्न मिसनका रूपमा हुँदै आएका हुन् र छन् । यस्ता षड्यन्त्रका कार्यहरू वर्तमानमा विभिन्न निहुँबाट नेपालको राजनीतिक क्षेत्रमा पस्न सफल भएको छ । यसको एउटा उदाहरण हो नेपाली जनताले कहिल्यै पनि कुनै पनि आन्दोलन वा जनसंघर्षका क्रममा नउठाएको र संसद्मा समेत आवश्यक प्रक्रिया नपुर्‍याई बहसमा नल्याई सिधै संविधानसभाका सभाध्यक्षको मुखबाट गराइएको धर्म निरपेक्षताको घोषणा ।
धर्मोपदेशले सधैँ अकर्मलाई निरुत्साहित गर्छ र सदाचारको व्यवहारको मार्गदर्शन गर्छ, मानव समाजलाई मानवतातर्फ उत्प्रेरित गर्छ । अकर्म अर्थात् भ्रष्टाचार, लुट, हत्या, अपहरण, आतंक, विखण्डन आदिलाई पेसा बनाएका राजनीतिक नेताहरूले धर्म नभएपछि यस्ता अकर्महरूलाई निरन्तरता दिन सधैँ पाइन्छ भन्ने कुण्ठित भावनाले समय समयमा धर्मनिरपेक्षता ठूलो उपलब्धि हो भनी माफिया डकार डकार्ने गरेका छन्, जसमा परधर्मीहरूको ठूलो डिजाइनेसनको समीकरण रहेको छ । दिनप्रतिदिन यसका सबुतहरू खुलासा र छरपस्ट हुनेक्रम जारी छ ।
घर घरमा विखण्डन ल्याउने, नेपाली भाइभाइका बीचमा फुट ल्याउने, पराइको स्वार्थ पूरा गराउने, स्वधर्म मासेर परधर्म भित्र्याउने, हत्या, आतंक, कलह, सन्त्रास फैलाउने, अमनचैन खलबल्याउने, मानवलाई दानव बनाउने आततायी राजनीति नेपालीको चाहना थिएन । यस भूमिलाई सनातन हिन्दू धर्मराष्ट्रको नामबाट अलग्याउने दुस्साहसपूर्ण खेल धेरै समय अघिदेखि हुँदै आएको बुझिन्छ, जसले समय–समयमा भएका जनसंघर्षहरूमा अप्रत्यक्ष रूपमा भूमिका निभाए, नेपाली राजनीतिमा यस्ता तत्त्वहरूको संलग्नता रहँदै आएको वर्तमानमा पनि स्पष्ट देखिन्छ । सृष्टिकै सर्वोत्कृष्ट ज्ञान–विज्ञान, धर्मदर्शन भएर पनि केही नभएको जस्तो असक्षम, अस्वावलम्बी, दैनियता, अभाव हुनु तथा आत्मनिर्भर हुन नदिनुमा र यो भूमि माफियाहरूको अखडा हुनुमा विशेषखालको दुस्साहसपूर्ण षड्यन्त्रको हात रहेको प्रमाणित हुन्छ ।
सर्वोत्कृष्ट सनातन धर्म, दर्शन, संस्कार, संस्कृति, परम्परा र सभ्यताबाट विभूति तथा अलंकारित राष्ट्रको नागरिक भएर पनि माफिया सञ्जालको षड्यन्त्रको चक्रब्युहको संगीतमा नाचिरहेको अकर्मण्य राजनीतिका कारण वर्तमान स्थितिमा नेपालीले आºनो अस्तित्व र पहिचान हराउने खतरा भएको बुझ्नै पर्ने अवस्था छ । किन यस्तो मुलुक असहाय र निकम्पा हुन पुग्यो भन्ने सवालमा एउटै उत्तर भेटिन्छ, त्यो हो यहाँका यी सम्पदालाई देखेर ईष्र्या गर्नेले यहीँका राजनीतिक क्षेत्रलगायतलाई हतियार बनाएर षड्यन्त्रका गोटी चाले र हामीले हामीमाथि के खेल खेलिँदै छ भन्ने थाहा पाएनौँ । बरु पराइले भनेकालाई सत्य मानेर अझै पनि उतै दौडिरहेको स्थिति छ । विश्वले नै पवित्र, शान्ति मुलुक भनेर मानेको, साम्राज्यहरू हार्दा पनि आºनो सान नझुकाएका पुर्खाका सन्तति भएर स्वधर्म, दर्शन, परम्परा, संस्कार, संस्कृति र सभ्यतामाथि प्रहार भइरहेको मुकदर्शक भएर कसरी हेरिरहन सक्छौँ ? स्वधर्म, दर्शन, संस्कार, कला, संस्कृति, परम्परा, सभ्यता नभए केले मौलिकता दिन्छ ? मौलिकता नभए कसरी राष्ट्रियता हुन्छ ? नेपाली स्वयंले स्वयंलाई सोध्नुपर्ने प्रश्नहरू हुन् यी ।
यस भूमिको भौतिक विकास सँगसँगै आध्यात्मिक विकास पनि हुनपर्ने जरुरी हुनुका कारण र आधारहरू छन् । यही सत्य आधारको कारणले नै यस भूमिको पहिचान पृथक रूपमा विशेष विषयहरूबाट हुन गएको हो र तपोभूमि भनिएको हो । आध्यात्मिक विकासविनाको भौतिक विकासले मात्रै यस भूमिको परिचय बचाइरहन सक्तैन, वर्तमानमा यही सत्यतालाई नेपालले बिर्सिरहेको छ र विखण्डनउन्मुख भइरहेको छ । अध्यात्मगत विकासलाई, अध्यात्म ज्ञानविज्ञानलाई, आध्यात्मिक क्षेत्रलाई, अध्यात्मसँग सम्बन्धित पक्षको विकासलाई बेवास्ता गरिँदा यस भूमिको परिचय सभ्यता मौलिकता आदिले संरक्षण गर्दै आएको राष्ट्रियता धरापमा परेको छ । यस प्रकारको अवस्थालाई बोध गर्ने र धरापबाट राष्ट्रलाई उद्धार गर्ने/गर्न सक्ने क्षमता आजको तामसी राजनीतिक क्षेत्रसँग छैन ।
इतिहासको कालखण्डहरूमा नेपाली जनताले विभिन्नखालका राजनीतिक आरोह–अवरोह पार गर्दै आए, विभिन्नखालका वाद–सिद्धान्त राजनीतिक मान्यतालाई अपनाउँदै–प्रयोग गर्दै आए, फिरंगी भिरंगी समान खतरा हुन्छ भन्ने जानेर साम्राज्यवाद र विस्तारवादको विरोध गर्दै आए । तर, वर्तमानमा हेर्ने हो भने नेपाली राजनीतिले स्वधर्मलाई बेवास्ता गरेर परधर्मलाई भित्र्याइरहेको छ । मागेर कसैले दिएकाले सधैँलाई पुग्दैन भन्ने कुरा सम्बन्धित सबै सरोकारवालाले राम्रोसँग बुझ्न जरुरी छ ।
(लेखक ब्रह्माण्डीय सनातन धर्म महासभाका महासचिव हुन् ।)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय