६ मन्त्रीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं, २८ असार । नियुक्त भएको ३५ दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने नियम उल्लंघन गर्दै बाबुराम भट्टराई नेतृत्व सरकारका एकतिहाइ मन्त्रीले अझै आºनो सम्पत्ति विवरण बुझाएका छैनन् । प्रधानमन्त्री कार्यालयले सम्पत्ति विवरण बुझाउन पटक–पटक ताकेता गर्दा उनीहरूले विभिन्न बहाना गरी टार्दै आएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार सञ्चारमन्त्री राजकिशोर यादव, भूमिसुधारमन्त्री चन्द्रदेव जोशी, सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकाल, श्रम तथा रोजगारमन्त्री कुमार बेलबासे, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने र वन तथा भू–संरक्षणमन्त्री यदुवंश झाले मन्त्री भएको दुई महिना बित्न लाग्दा पनि सम्पत्ति विवरण नबुझाएका हुन् ।
पद तथा गोपनीयताको शपथ खाएको १५ देखि ३५ दिनभित्र प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले आºनो सम्पत्ति विवरण बुझाउनुपर्ने नियम छ । सरकारले यो नियम मन्त्रिपरिषद्बाट पारित गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार राष्ट्रसेवक कर्मचारीहरूले नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र आºनो सम्पत्ति विवरण बुझाउनुपर्छ । तर, ६० दिन नै नपुगी मन्त्री परिवर्तन हुन थालेपछि सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ खाएको १५ देखि ३५ दिनभित्र आºनो सम्पत्ति विवरण बुझाउनुपर्नेे नियम बसालेको प्रधानमन्त्री कार्यालयका एक वरिष्ठ अधिकारीले बताए ।
‘सम्पत्ति विवरण नबुझाउने मन्त्रीहरूलाई हामीले समयमै बुझाउन भन्दै यसबीचमा निकै पटक आग्रह गरेका छौँ तर अझै ६ जना मन्त्रीज्यूले बुझाउनुभएको छैन,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘उहाँहरू म पार्टीका काममा व्यस्त भएकाले तत्काल बुझाउन सक्दिनँ भन्दै पन्छदै आउनुभएको छ । कुनै पनि बेला सरकार ढल्ने खतरा भएकाले पनि मन्त्रीज्यूहरूले आनाकानी गरिरहनुभएको हुन सक्छ ।’ प्रधानमन्त्री कार्यालयका अनुसार केही मन्त्री आºनो सम्पत्ति विवरण बुझाउन नपाउँदै पदमुक्त भएका छन् । मन्त्रीहरू कुनै पनि बेला पदमुक्त हुने भएकाले प्रधानमन्त्री कार्यालयले सम्पत्ति विवरण बुझाउन ताकेता गरी रहेको हो ।
पार्टी र व्यक्तिगत काममा व्यस्त भएकाले आफूले सम्पत्ति विवरण बुझाउन नपाएको गणतान्त्रिक फोरमका नेतासमेत रहेका सञ्चारमन्त्री यादवले बताए । ‘मैलै कुनै गलत नियत राखेर आºनो नबुझाएको होइन,’ मन्त्री यादवले सौर्यसँग भने, ‘तपार्इंलाई जानकारी नै छ, पछिल्लो समयमा हाम्रो पार्टीभित्र कति धेरै लफडा छ, त्यसैमा लागेकाले मैले सम्पत्ति विवरण बुझाउन नसकेको हुँ ।’ मन्त्री यादवले केही दिनमा आफूले सम्पत्ति विवरण बुझाउने पनि बताए । ‘सम्पत्ति विवरण बुझाउने म्याद त पहिले नै सकिइसकेको छ, तैपनि म आºनो सबै सम्पत्ति विवरण बुझाउँछु,’ यादवले थपे ।
परिवार दलका अध्यक्ष रहेका सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले पनि व्यक्तिगत कामको चाप बढी भएकाले समयमै आºनो सम्पत्ति विवरण बुझाउन नसकेको बताए । ‘मन्त्री भएको ३५ दिनभित्र आºनो सम्पत्ति विवरण बुझाउनुपर्छ भन्ने नियम छ क्यारे †’ मन्त्री ढकालले भने, ‘मैले आºनो सम्पत्ति विवरण तयार गरिसकेको छु, केही दिनभित्रै बस्ने क्याबिनेट बैठकमा प्रस्तुत गर्छु ।’ आफूलाई आºनो सम्पत्ति विवरण बुझाउन कुनै आपत्ति नरहेको उनले दाबी गरे । मन्त्री ढकालले भने, ‘आफूसँग भएको सम्पत्ति देखाउन कुनै अप्ठ्यारो मान्नुपर्ने अवस्था छैन तर प्राविधिक कारणले ढिलाइ भइरहेको छ ।’
भूमिसुधार तथा व्यवस्थामन्त्री चन्द्रदेव जोशीले भने सम्पत्ति विवरण बुझाउनुपर्छ भन्ने आफूलाई जानकारी नै नरहेको दाबी गरे । ‘बुझाउनैपरे पनि मसँग के सम्पत्ति छ र बुझाउनु ?’ नेकपा संयुक्तका अध्यक्षसमेत रहेका मन्त्री जोशीले भने, ‘राजधानीमा आठ आनामा बनेको एउटा घर छ, सभासद् हुँदा पाएको १०/१२ लाख रुपियाँ बैंकमा होला, अरू के छ र बुझाउनु ?’ अब जति छ त्यो सम्पत्तिको विवरणचाहिँ बुझाउने मन्त्री जोशीले बताए ।’ उनले भने, ‘मानिसहरूसँग कति धेरै सम्पत्ति हुन्छ, मेरो के छ र ? सबै पारदर्शी छ, त्यसैले हतार–हतार बुझाइहाल्नुपर्छ जस्तो पनि लाग्दैन ।’
वनमन्त्री यदुवंश झाले भने आफूले मंगलबार मात्र आºनो सम्पत्ति विवरण बुझाएको जानकारी दिए । ‘मैले आºनो सम्पत्ति विवरण बुझाएको छु, त्यसलाई सरकारले सार्वजनिक गरेको छैन,’ मन्त्री झाले बुधबार साँझ सौर्यसँग भने, ‘सरकारले आज–भोलि नै सार्वजनिक गर्छ होला ।’ उनले आºनो र परिवारको नाममा १२/१५ लाख नगद, जनकपुरमा तीन बिघा जमिन, जेठो छोराको नाममा एउटा कार र कान्छो छोराको नाममा मोटरसाइकल रहेको विवरण आफूले सरकारसमक्ष पेस गरेको बताए । २० तोला सुन र ८०/९० तोलाभन्दा बढी चाँदी रहेको पनि उनले जानकारी दिएका छन् । झाले भने, ‘मलाई प्रधानमन्त्री कार्यालयले पहिले नै सम्पत्ति विवरण बुझाउनू भनेको थियो तर कार्यव्यस्तताले गर्दा केही ढिलो गरी बुझाएँ ।’
नेकपा मालेको तर्फबाट श्रम तथा रोजगारमन्त्री बनेका कुमार बेलबासेले पनि मंगलबार मात्र आºनो सम्पत्ति विवरण बुझाएको बताए । उनले भने, ‘मैले अर्घाखाँचीमा सगोलमा रहेको सम्पत्तिको विवरण प्रधानमन्त्री कार्यालयमा बुझाएको छु तर सरकारले सार्वजनिक गरेको छैन, त्यो केही दिनमै सार्वजनिक हुन्छ होला ।’ आफूसँग सम्पत्ति नभएकाले पनि सम्पत्ति विवरण बुझाउन त्यति साह्रो हतार नगरेको मन्त्री बेलबासेको भनाइ थियो । उनले थपे, ‘सम्पत्ति भएको भए १५ वर्षदेखि डेरामा बस्नुपथ्र्यो ?’ महिला बालबालिका तथा समाजकल्याणमन्त्री बद्री न्यौपानेले भने आºनो सम्पत्ति विवरणबारे केही बताउन चाहेनन् । उनले भने, ‘म अहिले व्यस्त छु पछि कुरा गरौँला ।’
प्रधानमन्त्री कार्यालय बैठक शाखाका प्रमुख गेहनाथ गौतमले पनि अझै ६ जना मन्त्रीले आºनो सम्पत्ति विवरण नबुझाएको बताए । ‘सम्पत्ति विवरण बुझाउने मन्त्रीहरूको नाम र उहाँहरूको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयको वेबसाइटमै राख्छौँ,’ सहसचिव गौतमले भने, ‘नबुझाएको कुरालाई बुझाएको भन्दै राख्नु त भएन ।’

प्रतिक्रिया