टिटिभी र गोर्खापत्रको विजयी सुरुआत

काठमाडौं, २७ असार । पाँचौँ मिडियाकप नकआउट फुटबल प्रतियोगितामा तराई टेलिभिजन (टिटिभी) र गोर्खापत्रले मंगलबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा टिटिभीले सौर्य दैनिकलाई ५–० ले पराजित गर्‍यो । विजयी टिमका लागि अमनप्रसाद अधिकारीले दुई गोल गरे भने अभिषेक कार्की, सन्दीप क्षत्री तथा किरण शाक्यले एक–एक गोल थपेका थिए ।
उद्घाटन खेलमा सौर्य दैनिक टोलीको दाँजोमा टिटिभीका खेलाडी शारीरिक तवरले बढी सुगठित र धेरै संगठित देखिएका थिए । सौर्यका खेलाडीले सुरुदेखि नै आफ्नो लय समात्न सकेनन् र चालीस यार्डजति टाढाबाट अमनले फ्रिकिकमा गरेको सुन्दर गोल गर्दै टिटिभीलाई सुरुमै अग्रता दिलाएपछि सौर्य टोली सम्हालिन नसकेको प्रष्ट महसुस गर्न सकिन्थ्यो । मध्यान्तरसम्म विजेता टोली ३–० ले अगाडि थियो ।
सौर्यका गोलकिपर इन्द्र लामाले अनेकपटक सुन्दर बचाउ गरेर दर्शकको वाहवाही लुटेका थिए । त्यसैगरी कप्तान सुवास सुनुवार, लक्ष्मण सुनुवार, रमेश सुनुवार, प्रदीप घिमिरे, लोकेन्द्र प्रसाईं, अक्रिन अधिकारीसमेतले निकै प्रयास गरेका थिए । तर मैदानमा सौर्य दैनिक टोली होइन, टिटिभी टोली बेहतर प्रमाणित भयो ।
नेपाल ओलम्पिक संग्रहालयद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा गोर्खापत्रले च्यानल नेपाललाई ४–३ गोलले पाखा लगायो । गोर्खापत्रको तर्फबाट मजरुल हक, जयकुमार केसी, प्रजित शाक्य तथा पूर्ण पौडेलले एक–एक गोल गरे । च्यानल नेपालका लागि सुरज रेग्मीले दुई तथा मोहनराज अधिकारीले एक गोल फर्काए । गोर्खापत्रको खेल निकै सन्तुलित र सुसंगठित देखिएको थियो । मध्यान्तरसम्म गोर्खापत्र १–० ले अगाडि थियो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव केशव स्थापितले एक कार्यक्रमबीच फुटबललाई किक गरी उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, टेलिभिजन ब्रोडकास्टिङ एसोसिएसनका अध्यक्ष आरके मानन्धर, उपत्यका रेडियो प्रसारक संघका अध्यक्ष विष्णुहरि ढकाल, नेपाल ओलम्पिक म्युजियमका प्रमुख क्षितिज अरुण श्रेष्ठ र प्रतियोगिताको सहआयोजक डाइरेक्सन नेपालका प्रमुखसमेतले सम्बोधन गरेका थिए । प्रतियोगितामा विभिन्न सञ्चारमाध्यमका १४ टिम सहभागी छन् । फाइनल साउन ६ गते हुनेछ । बुधबारदेखिका खेलहरू लगनखेलस्थित बुद्धिविकास मण्डलको मैदानमा हुनेछन् ।

प्रतिक्रिया