कृष्णलाई करार कर्मचारीको सहयोग

काठमाडौं : नसासम्बन्धी रोगबाट पीडित बक्सिङ करार प्रशिक्षक कृष्णमान श्रेष्ठलाई राखेपअन्तर्गत कार्यरत करार कर्मचारीले सोमबार आर्थिक सहयोग प्रदान गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले श्रेष्ठलाई ७६ हजार ३ सय १४ रुपियाँबराबरको चेक श्रेष्ठलाई हस्तान्तरण गरे । एकदिनको तलब कट्टा गरी श्रेष्ठलाई उक्त आर्थिक सहयोग प्रदान गरिएको हो ।
श्रेष्ठलाई भारतमा उपचार गर्न डाक्टरले सुझाव दिएको नेपाल बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठले बताए । उनका अनुसार उपचारमा कम्तीमा ८ देखि ९ लाख रुपियाँसम्म खर्च हुनेछ । नेपाल लोकतान्त्रिक करार कर्मचारी संघका अध्यक्ष काजीमान श्रेष्ठले प्रशिक्षक श्रेष्ठको उपचारप्रति सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिए । प्रशिक्षक श्रेष्ठ दक्षिण एसियाली महासंघीय खेलकुदको पाँचौँ संस्करणका रजत तथा सातौँ संस्करणका कांस्यविजेता हुन् । (सौस)

प्रतिक्रिया