प्रचण्डद्वारा परिवर्तनको स्वामित्व लिने प्रस्ताव

काठमाडौं, २६ असार । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र संविधानको एजेन्डालाई थप विकास गरी पार्टीलाई अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन् । सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा उनले १२ बुँदे सम्झौतापछि भएका परिवर्तनको स्वामित्व लिँदै पार्टी अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।
साउनको पहिलो साता हुने विस्तारित बैठकमा पेस गर्न उनले ३८ पृष्ठ लामो प्रतिवेदन तयार गरेका हुन् । पोलिटब्युरोपछि बस्ने केन्द्रीय समितिमा पनि प्रतिवेदन पेस गरिनेछ । प्रतिवेदनमा पार्टीको राजनीतिक कार्यदिशा, पछिल्लो राजनीतिक अवस्था, संविधानसभा विघटन, शान्तिप्रक्रिया, पार्टी विभाजन, महाधिवेशनलगायत विषयको विश्लेषण गरिएको छ ।
‘१२ बुँदे सम्झौतायताका सबै विषयको गहन विश्लेषण गरेर अध्यक्षले प्रतिवेदन तयार गर्नुभएको छ । अब छलफल सुरु हुन्छ,’ माओवादी प्रवक्ता दीनानाथ शर्माले भने । प्रस्ताव पेस गर्दै अध्यक्ष दाहालले १२ बुँदे सम्झौता हुँदै सुरु भएको शान्ति र संविधान निर्माणको अभियान अझै नसकिएकाले दलहरूबीच सहकार्य र सहमति गरेर अगाडि बढनुपर्नेमा जोड दिए ।
‘१२ बुँदे सम्झौता गरेर कुनै गल्ती भएको छैन, दलहरूबीच शान्ति र संविधानको अभियानलाई पूरा गर्न दलहरूबीच सहकार्य र सहमति गरेर अगाडि गर्नुपर्छ,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै प्रवक्ता शर्माले भने । उनले पार्टीभित्र विचार समूह बनाउन दिएर ‘अति जनवाद’ प्रयोग गर्नु गलत भएको अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालले पार्टी विभाजन गरेका मोहन वैद्यहरूमा ‘वाम विसर्जनवाद’ हावी भएको आरोप पनि लगाए ।
दाहालको प्रतिवेदन अध्ययनका लागि पोलिटब्युरो सदस्यहरूलाई बाँडिएको छ । अध्ययन गरेर भोलिदेखि सदस्यहरूले त्यसमाथि छलफल गर्नेछन् ।

प्रतिक्रिया