आर्थिक वृद्धिको एजेन्डा हस्तान्तरण

काठमाडौं : नेपालको आर्थिक वृद्धिको एजेन्डा ०१२ ले कृषि, शिक्षा, जलविद्युत्, पूर्वाधार (यातायात) र पर्यटन गरी पाँच क्षेत्रमा बृहत् अध्ययन अनुसन्धान गरी कार्यान्वयनका लागि विभिन्न सुझाव पेस गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र समृद्धि द प्रोस्परिटी फाउन्डेसनको संयुक्त प्रयासमा नेपाल आर्थिक वृद्धि एजेन्डा ०१२ विमोचन गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच सो प्रतिवेदन राष्ट्रिय योजना आयोगलाई हस्तान्तरण गरिएको छ ।
पाँच क्षेत्रका वर्तमान अवस्था, समस्या तथा चुनौतीका विश्लेषण र नीतिगत सुधारका सुझावलाई प्रतिवेदनमा समावेश गरिएको छ । विमल वाग्ले, प्राडा टंकनाथ शर्मा, डा. कमलराज ढुंगेल, कमलराज पाण्डे र डा. दण्डपाणि पौडेलले क्रमश: कृषि, शिक्षा, जलविद्युत्, पूर्वाधार (यातायात) तथा पर्यटन क्षेत्रको अध्ययन गर्न प्रमुख रूपमा खटेका थिए ।
कुल गार्हस्थ उत्पादनमा एकतिहाइ योगदान दिने र दुईतिहाइ जनशक्तिलाई रोजगारी दिने कृषि क्षेत्रको मुख्य चुनौतीका रूपमा व्यावसायीकरणको अभावलाई प्रतिवेदनमा उल्लेख गरिएको छ । व्यावसायीकरण अभावका कारण मल तथा सिँचाइको अभाव, बजार पहुँच नहुनु, बजारको विकास नहुनु, जोखिम व्यवस्थाको प्रावधान नहुनु, अनुसन्धान एवं विस्तारको कमीलाई प्रतिवेदनमा देखाइएको छ । शिक्षा क्षेत्रको मुख्य चुनौतीका रूपमा दक्ष जनशक्तिको अभाव, शिक्षा क्षेत्रका सरकारी तहबाट खर्च गरेअनुसार प्रतिफल नदेखिनु, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा कम लगानी हुनुलाई लिइएको छ । राष्ट्रिय योग्यता प्रणाली सुरुवात गर्ने तथा बजारमा दक्ष जनशक्तिको अभाव पूर्ति गर्नका लागि गैरऔपचारिक शिक्षाको सुरुवात गर्नेलगायत सरकारी खर्चलाई प्रभावकारी बनाउन शिक्षामा भौचर प्रणाली थालनी गर्ने सुझाव प्रतिवेदनमा दिइएको छ । जलविद्युत् क्षेत्रतर्फ ठूला र भण्डारण किसिमका आयोजना निर्माण नभई समस्या समाधान नहुने निष्कर्ष निकालिएको छ । (सौस)

प्रतिक्रिया