‘बैंकभन्दा छिटो सेवा दिन्छौँ’

संकटा बचत तथा ऋण सहकारी संस्था (साकोस) हजारौा सहकारीका भिडमा एक अग्रणी नाम हो । १९ वैशाख ०५७ मा दर्ता भएको यसले १ असार ०५७ बाट कारोबार थालेको हो । संस्था १३औ वर्षमा प्रवेश गरिसकेको छ । हाल दुई हजार तीन सयभन्दा बढी सदस्य संस्थाबाट प्रत्यक्ष लाभान्वित भएका छन् । समग्र सहकारी आन्दोलन र संस्थाबारे सौर्यका काजी श्रेष्ठले गरेको कुराकानी : 

संस्थाका बारेमा केही बताइदिनुस् न ?
३१ जनाबाट प्रतिव्यक्ति २० हजारका दरले ६ लाख २० हजार संकलन गरी संस्था सुरु भएको हो । १३ वर्षसम्ममा आइपुग्दा पाँच करोडभन्दा बढी चुक्ता पुँजी र ७० करोडभन्दा बढीको कारोबार गर्न संस्था सक्षम भएको छ ।
संस्थामा दुई हजार तीन सय सदस्य छन् । सदस्य विस्तारमा हामी लागेका छैनौँ । अन्य सहकारीजस्तो सदस्य विस्तार हामी गर्दैनौँ । संस्थाका कर्मचारी र पदाधिकारी इमान्दार छन् । संस्थाको आफ्नै भवन छ । आगामी दिनमा सदस्यलाई अझ बढी सुविधा र राज्यमा सहकारी चिनाउने प्रयासमा हामी लागिपरेका छौँ । संस्थाले सहकारी पसल पनि सञ्चालन गरेको छ । अन्तभन्दा सस्तो र गुणस्तर सेवा दिने हाम्रो प्रयास जारी छ ।
सदस्यले कस्तो सुविधा पाएका छन् ?
संकटा १३ वर्षमा प्रवेश गर्नु ठूलो कुरो हो । हरेक सालको साधारणसभामा हजारौँको संख्यामा सदस्य उपस्थित हुन्छन् । दिन प्रतिदिन सफलताको शिखरमा चुम्दै छौँ भन्नमा हामी ढुक्क छौँ । यसको सफलता भनेको सदस्यहरूको नै हो । सदस्यले जम्मा गरेको पैसा अप्ठेरो परेका बेला झिक्न र ऋण निकाल्न पउनु पर्छ भन्ने हाम्रो मान्यता छ । उनीहरूले मागेका खण्डमा संस्थाले तुरुन्तै दिने व्यवस्था हामीले गरेका छौँ । बैंकभन्दा पनि छिटोछरितो सेवा हामीले दिन्छौँ । जहाँ र जहिले पनि हामी सेवा दिन्छाौँ । सहकारी पसलबाट सदस्य तथा गैह्रसदस्य सबै सन्तुष्ट छन् । यहाँबाट बिक्री भएका सामान महंगो, गुणस्तरहीन भन्ने कुनै गुनासो आएको छैन ।
सहकारी व्यावसायिक हुन आवश्यक छ ?
अन्तर्राष्ट्रिय सहकारी महासंघले पनि सहकारीहरू व्यावसायिक हुनु पर्ने नीति लिएको छ । हाम्रो भौगोलिक अवस्थाअनुसार कृषि उपज गाउँगाउँमा खेर गइरहेको अवस्था छ । त्यसलाई सहरमा ल्याउनसके उचित बजार पाउने थियो । यसका लागि सहकारी संघहरूले सहयोग गर्नुपर्ने हुन्छ । सबै गोलबद्ध भई व्यासायिक रूपमा जानुपर्छ । विश्वको कुरा गर्ने हो भने जुन देशमा सहकारी फस्टाएको छ त्यस ठाउँको आर्थिक अवस्था राम्रो छ । त्यसैले सहकारी व्यावसायिक रूपमा जानसके नेपालको भाविष्य पनि सुनिश्चित हुने छ ।
सहकारी बैंक र सहकारीको सम्बन्धलाई कसरी हेर्नु हुन्छ ?
सहकारी बैंक स्थापनापछि सहकारीकर्मीले राहत पाएका छन् । सहकारीले अब हाम्रो पनि अभिभावक छ भन्ने महसुस गरेको छ । सहकारी समूह बनाउन लागेका सबैलाई फाइदा नै भएको छ । बैंकले सहकारीलाई आवश्यक परेका बेला ऋण दिने, निक्षेप जम्मा गर्ने र ठाउँठाउँमा शाखा खोली सेवा दिने गरेका कारण सहकारी बैंकप्रति बढ्दो आकर्षण छ ।
अन्तर्राष्ट्रिय सहकारी वर्षलाई कसरी लिनुभएको छ ?
यो वर्ष सहकारीकर्मीको आफ्नै वर्ष हो । यसलाई आआफ्नै स्थानबाट मनाउनु पर्छ । संकटा सहकारीले पनि विभिन्न कार्यक्रम गरिसकेको छ । आफूमात्र नभई विभिन्न निकायसंगको सहकार्यमा कार्यक्रम गर्ने छौँ । कर्मचारीले मात्र नभई सदस्यले पनि केही बुझ्नु पर्छ भन्ने उद्देश्यले लिडरसिप, व्यवस्थापन र नेतृत्वविकास तालिम दिएका थियौँ । त्यस्तै केही दिनअघि मात्र सहकारी पत्रकारलाई दुईदिने तालिम दियाँै । यसखालका नयाँ कार्यक्रम गर्ने सोचमा छौँ । सरकारी तवरबाट सहकारी वर्षको कुनै कार्यक्रम भएको छैन । यसले केही गर्लाजस्तो लाग्दैन ।
सहकारी मन्त्रालयको अपेक्षा के छ ?
सहकारी तथा गरिबी निवारण मन्त्रालय केही महिनाअघि मात्र गठन भएको हो । यसअघि मन्त्रालय नभएको चाहिँ होइन । कृषिसँग जोडिएको थियो । आम सहकारीकर्मीले यसलाई गर्वका रूपमा लिएका छन् । मन्त्रालय भयो अब केही हुन्छ भन्नेपक्षमा हामी छैनौँ । किनकि उनीहरूले धेरै कुरा सिक्न बाँकी छ । मन्त्री, सचिवलगायत कार्यरत कर्मचारीले सहकारीलाई राम्रोसँग बुझ्नु पर्छ । प्रारम्भिक, जिल्ला संघ, विषयगत, केन्द्रीय र राष्ट्रिय संघसँग छलफल गरेर जानुपर्छ ।
सहकारीमा राजनीतिक प्रभाव कस्तो छ ?
विभिन्न संघमा राजनीति बढेको छ । केहीले भोगेका छन् त केही बाँकी नै छ । विस्तारै यसले संस्थामा पनि असर पर्ने छ भन्ने लागेको छ । यो विकृति हो । यसलाई रोक्नु पर्छ । यसले सहकारीलाई विनासतिर धकेल्छ ।
संस्था सञ्चालनका चुनौती के छन् ?
सुरुमा संस्था सञ्चालन गर्ने क्रममा म आफैले घर दैलोमा गएर सदस्य बनाएको थिएँ । त्यसैको परिणाम अहिलेको उपज हो । उनीहरूप्रतिको धारणा, विचार सबै अध्ययन गरेको छु । सहकारीका चुनौती धेरै रहेका छन् ।
देशमा सहकारी नीति छैन, के भन्नु हुन्छ ?
कानुन कानुनमै सीमित छ । नीति व्यक्तिको हातमा छन् । जसले जुनबेला चाह्यो त्यहीबेला जारी गर्न सक्छ । तर, व्यवहार कस्तो छ कसैलाई थाहा छैन । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको कडा नीति र निर्देशन छ, उनीहरू सक्षम छन् । उनीहरूभन्दा हामी सक्षम छैनौँ भन्ने पनि होइन । तर, हामीलाई सक्षम भन्ने निकाय छैन । सहकारी अनुगमन गर्न आउँछन् संस्थाका पदाधिकारीभन्दा पनि तल्लोस्तरकाहरू । उनीहरूले कसरी अनुगमन गर्न सक्छन् ? सहकारीले सिइयो राखेर सञ्चालन गरेको हुन्छ तर अनुगमनमा खरिदार आउँछन् । उनीहरूले के अनुगमन गर्लान् र राम्रो नराम्रो छुट्याउने ?
संस्थाको भावी कार्यक्रम के छ ?
०६९/७० सम्म बानेश्वर र ललितपुरको कुनै ठाउँमा सहकारी पलस सञ्चालन गर्ने योजना छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने क्रममा विभिन्न कार्यक्रम पनि रहेका छन् ।
सहकारी सहरकेन्द्रित भयो नि, होइन ?
सहर केन्द्रित हुनुको मुख्य कारण पैसा हो । सबैलाई पैसाकै मतलब छ । आफ्नो गाउँ आफै बनाऔँ भन्नेमा कोही छैन । तराईका मान्छे पैसा कमाउन पहाडतिर जान्छन् । गाउँ भन्दै सहरमा आउने मानिसले दु:ख पाइरहेका छन् । तसर्थ आफ्नै जिल्लाबाट सहकारी स्थापना गरी यसको विकासमा लाग्नु पर्छ । यसको मतलब हामी सहरमा छाँै र सहरको सेवा सुविधा भोगौँ भन्ने होइन । सहरमा बस्ने मानिसले ठूला समस्या भोगेका छन् र चुनौती पनि । गाउँमा ठूलो सम्भावना छ । जो जहाँ छौँ त्यहीँबाट सहकारी स्थापना गरी देश विकासमा लागौँ भन्ने मेरो धारणा छ ।

प्रतिक्रिया