ओस्कार तेक्वान्दो टिम च्याम्पियन

काठमाडौं, २५ असार । प्रथम काठमाडौं जिल्लास्तरीय तेक्वान्दो (युनियन) प्रतियोगिताको ओस्कार ६ स्वर्णसहित आइतबार टिम च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषको २५ केजी तौलसमूहमा सुजन मार्पाले सुप्रिमका जङ्गे मगर तथा ३५ केजीमा विवेक सिग्देलले ओस्करका सुजन लुइँटेललाई हराए । विजेताद्वय होली एन्जल्सका हुन् । काठमाडौं जिल्ला खेलकुद विकास समिति तथा राष्ट्रिय तेक्वान्दो युनियन, नेपाल काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ३० केजीमा होली एन्जल्सका सुरज मगर पहिलो भए । फाइनलमा उनले ओस्करका अनिल कुँवरलाई पाखा लगाए ।
पुरुषको ४५ केजीमा सुप्रिमका श्यामचन्द्र क्षत्री पहिलो र ग्रिनलन्सका सञ्जीव संग्रौला दोस्रो, ५० केजीमा ग्रिनलन्सका निकेश महर्जन पहिलो र होली एन्जल्सका किसान बमजन दोस्रो तथा ५४ केजीमा ओस्करका सुमन सेर्मा लिम्बू पहिलो र आरम्भ कपन युवा क्लबका सुजन तामाङ दोस्रो भए । ५८ केजीमा ग्रिनलन्सका प्रकाश तामाङ पहिलो र होली एन्जल्सका विकास तामाङ दोस्रो तथा ६२ केजीमा ओस्करका भरत गुरुङ पहिलो र होली एन्जल्सका अर्जुन खड्का दोस्रो भए ।
महिलाको ५३ केजीमा होली एन्जल्सकी मनीषा मगर पहिलो र लिटिल मुन कपनकी पुष्पा पौडेल दोस्रो भए । ४९ केजीमा ओस्कारकी सविना भट्टराई पहिलो, ३५ केजीमा ओस्कारकी गंगा कार्की पहिलो र लिटिल मुनकी गोमा मगर दोस्रो भए । ४० केजीमा ओस्कारकी रूपा थापा पहिलो र होली एन्जल्सकी अनिता सुनुवार दोस्रो भए ।
पहिलो हुने सबै खेलाडी मकवानपुरको हेटौंडामा हुने पहिलो मध्यमाञ्चल क्षेत्रीय तेक्वान्दो (युनियन) प्रतियोगिताका लागि छनोट भएको केन्द्रीय महासचिव राजकुमार कार्कीले जानकारी दिनुभयो । विजेतालाई मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष राजकुमार कार्की, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मत थपलिया र कार्यालय प्रमुख लीलाराम बस्नेतले पुरस्कृत गरे । प्रतियोगितामा १४ स्वर्णका लागि १ सय २० खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया