रजतधारी अनिशा सम्मानित

काठमाडौ, २५ असार । कजाकिस्तानको आस्तानामा भएको एसियाली सिन क्योकुसिन कराते च्याम्पियनसिपकी रजतपदकविजेता अनिशा लामा स्याङ्तान आइतबार सम्मानित भएकी छन् ।
नेपाल सिन क्योकुसिन कराते संघ, लुनिभा सहकारी संस्था लिमिटेड, नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय फुलकन्टयाक्ट कराते संघ तथा नेपाल फुलकन्टयाक्ट कराते महासंघले अनिशालाई सम्मान गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित कार्यक्रममा अनिशालाई सिन क्योकुसिनले १५ हजार ५ सय, लुनिभाले १० हजार तथा राष्ट्रिय फुलकन्टयाक्ट र फुलकन्टयाक्ट महासंघले समान ५–५ हजार रुपियाँ प्रदान गरे ।
त्यस्तै उक्त प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेका कुमार श्रेष्ठ पनि प्रशंसापत्रद्वारा सम्मानित भए । अनिशाले महिलाको ६५ केजी तौलसमूहमा रजत हात पारेकी थिइन् । अनिशाले क्वार्टरफाइनलमा मलेसिया र सेमिफाइनलमा रुसका खेलाडीलाई हराएकी थिइन् । फाइनलमा भने अनिशा कजाकिस्तानकी खेलाडीसँग पराजित भइन् । २१ देखि २५ जुनसम्म भएको प्रतियोगितामा १५ राष्ट्र सहभागी थिए । उक्त सफलतासँगै अनिशाले लिथुआनियामा सन् २०१३ मा हुने विश्वच्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुमारले जानकारी गराए ।

प्रतिक्रिया