भारतीय स्थल सेनाध्यक्ष नेपाल आउने

काठमाडौं, २४ असार । प्रधानसेनापति छत्रमान सिंह गुरुङ्गको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल बिक्रम सिंहले यसैसाता नेपालको भ्रमणमा आउने भएका छन् ।
सिंहले असार–२६ देखि ३० गतेसम्म चार दिन नेपालको औपचारिक भ्रमण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा पहिलो दिन असार–२६ गते भारतीय स्थल सेनाध्यक्ष सिंहले सैनिक मञ्चमा अवस्थित ‘वीर स्मारक’मा माल्र्यापण गर्ने छन् । त्यस लगत्तै उनले जंगी अड्डामा प्रधानसेनापति गुरुङ्गसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।
असार–२७ सिंह काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन गर्नका साथै सोही दिन प्रधानमन्त्री बाबुराम भट्टराईसँग शिष्टाचार भेटघाट गर्ने निर्देशनालयले जनाएको छ ।
उनलाई शीतल निवासमा राष्ट्रपति डा.रामवरण यादवले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम समेत रहेको छ । असार–२७ गते नै भारतीय स्थल सेनाध्यक्ष सिंहलाई प्रधानसेनापति गुरुङ्गले जंगी अड्डामा रात्रीभोज दिने छन् ।
असार–२८ गते सिंहले मुस्ताङ्ग जिल्लाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्ने छन् भने पोखरास्थित भारतीय पेन्शन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको पनि भ्रमण गर्ने निर्देशनालयले जनाएको छ । उनले असार–२९ गते गौतम बुद्धको जन्म स्थान लुम्बिनीको पनि भ्रमण गर्ने छन् ।
भारतीय स्थल सेनाध्यक्ष सिंह असार–३० गते अपरान्ह स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रतिक्रिया