द लिजेन्डलाई सेभेन ए साइड फुटबल उपाधि

काठमाडौं, २४ असार । कपनमा आयोजित सेभेन–ए साइड फुटबल प्रतियोगिताको उपाधि द लिजेन्ड एफसीले शनिबार हात पारेको छ । द लिजेन्डले उपाधि भिडन्तमा बालकुमारी युवा क्लबलाई ४–० को सहज निकाल्न सफल भयो ।
कपन गाउँ खेलकुद विकास समितिको आयोजनामा १६ असारदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा द लिजेन्डले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा गणेश खड्काले खेल सुरु भएको १५औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ३२औँ मिनेटमा दोस्रो गोल थपेका थिए ।
त्यसैगरी ४५औँ मिनेटमा पारसजंग थापा र ५५औँ मिनेटमा सुवेद श्रेष्ठले एक–एक गोल थपेका थिए । प्रतियोगितामा विजेता टिमका गणेश खड्का उत्कृष्ट खेलाडी भए भने उत्तम गुरुङ उत्कृष्ट रक्षक भए । प्रतियोगितामा सात गोल गरेका पाथीभराका भुवन पौडेल हाइ स्कोरर भए भने बेस्ट गोलरक्षक युनिक ब्वाइजका मिलन थापा भए । प्रतियोगितामा विजयी हुने टिमलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिमल्सिनाले पुरस्कार वितरण गरे ।
उक्त अवसरमा तिमल्सिनाले कपनवासी खेलप्रेमी भएकाले हाल कपनमा रहेको २२ रोपनी जग्गामा रगंशाला निमार्णका लागि आफूले राष्ट्रिय खेलकुद परिषद्मा प्रस्ताव लगे त्यसका लागि खेलकुद परिषद् तयार रहने बताए ।
कार्यक्रममा पूर्वगाविस अध्यक्ष विक्रम अधिकारी, प्रतियोगिता संयोजक धुव्रराज न्यौपानेलगायतको उपस्थिति थियो । प्रतियोगितामा ४४ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया