उपत्यकाको विद्युत् लोड धान्न सुनकोसी

काठमाडौं, २४ असार । मुलुकभर कुल उपयोग हुने विद्युत्मध्ये एकतिहाइ खपत गर्ने उपत्यकाको आवश्यकता पूरा गर्न सुनकोसी–३ जलाशययुक्त आयोजना उपयुक्त देखिएको छ ।

जलाशययुक्त आयोजनाको अभावमा हिउँदमा नेपालले लोडसेडिङको चरम समस्या भोगिरहेका बेला उपत्यकाको लोड धान्न सुनकोसी उपयुक्त देखिएको हो । उपत्यकासँग जोडिएको काभ्रेको ठूलोपर्सेल र मादनकुँडारी गाविसबीचमा पर्ने कोल्पुमा विद्युत् गृह बन्ने सो आयोजना सबैभन्दा नजिकको आयोजनाका रूपमा लिइन्छ ।
सन् १९८३ मै पूर्व सम्भाव्यता अध्ययन भइसकेको आयोजनामा पुग्न काठमाडौं उपत्यकाबाट ६० किलोमिटर अर्थात् डेड घन्टा मात्र लाग्छ । ‘ऊर्जाका हिसाबले काठमाडांै उपत्यकाको केन्द्रीय लोड धान्नका लागि सबैभन्दा उपयुक्त आयोजना सुनकोसी हो,’ आयोजनालाई नजिकबाट अध्ययन गरिरहेका चिलिमे कम्पनीका प्रबन्धक कुलमान घिसिङले भने ।
‘काठमाडौंबाट सबैभन्दा नजिकको आयोजना भएकाले यसलाई अघि बढाउन सरकार सक्रिय हुनुपर्छ, चिलिमे, नेपाल विद्युत् प्राधिकरणलगायत मिलेर यसलाई बनाउनुपर्छ,’ उनले भने । प्राधिकरण प्रणाली सञ्चालन विभागका निमित्त निर्देशक भुवनकुमार क्षेत्रीका अनुसार देशभर खपत हुने करिब नौ सय ५० मेगावाटमध्ये तीन सय मेगावाट विद्युत् उपत्यकामा खपत हुन्छ ।
सुनकोसी प्राधिकरणको सहयोगमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) ले हालै सार्वजनिक गरेको १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये एक हो । छनोट भएका आयोजनामा पश्चिमका पाँच, पूर्वका तीन र मध्यबेसिनका दुई जलाशययुक्त आयोजना छन् । मध्येबेसिनका दुईमध्ये कोखाजोर जलाशययुक्त आयोजनाभन्दा सुनकोशी उपत्यकाबाट सबैभन्दा नजिक पर्छ ।
पाँच सय ३६ मेगावाटको सो आयोजना निर्माणका क्रममा दोलालघाट क्षेत्रसम्मका करिब एक हजार घर डुबानमा पर्छन् । उनीहरूलाई पाँचखाल, तिमाल र कोसीपारी क्षेत्रमा पुर्नस्थापित गर्न सकिने आयोजना अध्ययनका क्रममा देखिएको छ । प्राधिकरणका अनुसार अध्ययनका क्रममा ६२ करोड २० लाख डलर लागत लाग्ने अनुमान गरिए पनि अहिले करिब ८० अर्ब रुपियाँ लाग्ने अनुमान छ ।
पश्चिम सेती जलाशययुक्त आयोजना चीनको थ्री गर्जेजलाई दिएर विवाद भएपछि र यसबाट भारत असन्तुष्ट भएको चर्चा सार्वजनिक भएसँगै तत्कालीन अवस्थामा सुनकोसी–३ जलविद्युत् आयोजना भारतलाई दिने तयारी सरकारले गरेको थियो । ऊर्जा मन्त्रालय स्रोतका अनुसार अभिजित ग्रुप भारतले सुनकोसी बनाउन इच्छुक भएर ऊर्जा मन्त्रालयसँग छलफलसमेत अगाडि बढाएको थियो तर पछि पाँच सय मेगावाटभन्दा बढीका आयोजना लगानी बोर्डले गर्ने विवादका कारणले छलफल भने अघि बढ्न सकेन ।
जति छिटो सुनकोसी आयोजना बनाउन सकिन्छ त्यति नै नेपालमा लोडसेडिङ अन्त्यका लागि सहयोग पुग्ने र काठमाडौंको लोड थेग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी आयोजना निर्माण गर्न सकेमा सो आयोजना नेपालकै सबैभन्दा राम्रो पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न सकिने अवस्था पनि छ । र्‍याफ्टिङ, फिसिङ, सुन्दर होटेल निर्माण गरेर तिमाल, कोसीपारी र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना रहेको घिसिङ बताउँछन् ।
करिब २० वर्ष अघि आयोजनाको अध्ययनका लागि भन्दै गाउँमा हेलिकोप्टर आएपछि अब गाउँमा बिजुली आउने भो भन्दै खुसी भएका स्थानीयवासी पछिल्ला समयमा निराश थिए । तर जाइकाले अध्ययनका क्रममा देशभरका उत्कृष्ट १० जलाशययुक्त आयोजनामध्ये सुनकोशीलाई समेत छनोट गरेपछि भने खुशी भएका छन् । उनीहरूले अब सरकारले छिटोभन्दा छिटो आयोजना निर्माणलाई अगाडि बढाउन मागसमेत गरेका छन् । ‘पहिला हेलिकोप्टर आउँदा गाउँमा बिजुली आउने भनेर खुशी भएका थियौं, फेरि केही नहुने भनेर निराश पनि भयाँै तर फेरि उत्कृष्ट १० मा पर्दा गाउँ खुशी भएको छ,’ ठूलो पर्सेलका स्थानीय समाजसेवी सलामसिंह लामाले थपे, ‘आयोजना बनाउनका लागि हामी अब स्थानीयस्तरबाट संगठित दबाब दिन्छाँै, चाँडै सरकारले बनाउन अघि बढोस् ।’ स्थानीयवासीले आयोजनाका लागि सरकारले आह्वान गरेर सेयर हाल्नसमेत तयार रहेको बताए ।
आयोजना निर्माण भएमा काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक र रामेछाप जिल्लालाई प्रत्यक्ष फाइदा पुग्नेछ । पूर्वऊर्जा राज्यमन्त्री सुर्यमान दोङ चार जिल्लावासीलाई नै आयोजनाले फाइदा पुर्‍याउने भएकाले बनाउनका लागि राजनीतिक रूपमा दबाब दिने बताउँछन् । ‘धेरै फाइदा हुन्छ, चार जिल्लावासी र राजनीतिक दलका नेताले सामूहिक दबाब दिई छिटै काम गर्नका लागि दबाब दिनु आवश्यक छ ।’

प्रतिक्रिया