काठमाडौं, २२ असार । चलचित्र निर्माणको क्रम ह्वात्तै बढेपछि हिजोआज नेपाली चलचित्रलाई सिंगल रिलिजको अवसर पाउनै मुस्किल परेको छ । अघिल्लो हप्ता दुई चलचित्र रिलिज भएकामा आज शुक्रबार थप तीन चलचित्र एकसाथ हलमा भिड्ने भएका छन् ।
भागीभागी नजाऊ, खै को कसको र जंगल लभले आजबाट दर्शकलाई आफूतिर तान्ने प्रयास गर्ने भएका हुन् । भागीभागी नजाऊ मदन घिमिरेको निर्देशन रहेको चलचित्र हो भने खै को कसकोलाई महिला निर्देशक सुचित्रा श्रेष्ठले निर्देशन गरेकी छन् । जंगल लभका निर्देशक हुन्, बाबु बलामी ।
दुई दर्जनबढी चलचित्र निर्माण गरिसकेका चिरञ्जीवी बस्नेत निर्मित भागीभागी नजाऊ क्यु सिस्टमअनुसार काठमाडौं उपत्यकामा प्रदर्शन हुन लागेको हो । चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई विषयवस्तु बनाएको छ । विराज भट्ट, जेनिसा केसी, रेस मरहट्ठालगायत कलाकार मुख्य भूमिकामा छन् भने लेखन शिवम् अधिकारी र निर्देशक घिमिरेले गरेका छन् । निर्माता बस्नेतले यो चलचित्रमा पहिलोचोटि संगीत पनि दिएका छन् । हिमाल केसीको द्वन्द्व, शिव विकको नृत्यनिर्देशन रहेको चलचित्र प्रदर्शनमा आउन लागे पनि कलाकार र निर्माता काठमाडौँमा नरहेकाले भनेजस्तो प्रचारप्रसार गर्न नपाएको निर्देशक घिमिरेले बताए । उनका अनुसार निर्माता बस्नेत विवाह गरेर इनरुवामा बस्दै आएका छन् भने नायक विराज भट्ट भोजपुरी चलचित्रमा व्यस्त छन् । नायिका जेनिसा केसी पारिवारिक काममा व्यस्त छिन्, अर्का नायक रेस मरहट्ठा विदेशमा छन् ।
अर्को चलचित्र खै को कसको चाहिँ देशभरबाट प्रदर्शनमा आउन लागेको हो । पारिवारिक विषयवस्तुलाई उठाएको चलचित्रमा राजेश हमाल, रेजिना उप्रेती, सुनील थापा, सुनील श्रेष्ठ, सुभाष गजुरेल, प्रतिष्ठा प्रसाईलगायतले अभिनय गरेका छन् । लक्ष्मी श्रेष्ठ र तीर्थ श्रेष्ठको संयुक्त लगानीमा निर्मित यो चलचित्र ध्रुव लम्सालले लेखेका हुन् । सन्तोष प्रगाढको संगीत, गोविन्द प्रभात र नारायण रिजालको नृत्य, प्रदीप खड्काको द्वन्द्वनिर्देशन छ । छायांकन रत्न कार्कीले गरेका छन् । काठमाडौँ उपत्यकाका छवटा तथा बाहिरका आठ स्टेसनबाट चलचित्र प्रदर्शन हुँदै छ ।
जंगल लभ भने उपत्यकामा मात्र प्रदर्शन हुन लागेको हो । केही दिनअघि निधन भएकी नायिका जेनिसा केसीको अभिनय रहेको चलचित्रमा अन्य सबै कलाकार नयाँ छन् ।
जंगली जनावर र मानिसबीचको आत्मीयतालाई विषयवस्तु बनाइएको चलचित्रमा ओमप्रकाश राईको संगीत, सुरेश चौधरीको नृत्य छ भने छायांकन देबेन्द्र गिरी हुरहुरले गरेका छन् । बिहीबार मात्र सेन्सरका लागि पुर्याइएको चलचित्र सो दिन सेन्सर हुन नसके शुक्रबार सेन्सर गराएर शनिबार प्रदर्शन गरिने तयारी गरिएको निर्देशक बाबु बलामीले जानकारी गराए ।
प्रतिक्रिया