छैटौ डिभिजनमा भर्ना प्रक्रिया सुरु


सुर्खेत, २१ असार । अवरुद्ध रहेको सुर्खेतको दशरथपुरस्थित माओवादी लडाकुको छैटौ डिभिजनमा समायोजनको भर्ना छनौट प्रक्रिया सुरु भएको छ । अवरुद्ध भर्ना प्रक्रिया आजै साढे ४ बजेदेखि पुनः सुरु भएको नेपाली सेनाका प्रमुख सेनानी भरत कार्कीले जानकारी दिए ।
अन्य स्थानहरुमा बुधबारदेखि सुरु भएपनि छैटौ डिभिजनका लडाकुहरुले आन्तरिक छलफल नपुगेको भन्दै फारम बुझ्न मानेका थिएनन् ।
उनीहरुले पार्टीले योग्यता नपुगेका जुनियरलाई समेत माथिल्लो तहमा सिफारिस गरेकाले कमाण्डरहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।
दिउसो देखि लडाकुहरुले फारम भर्न सुरु गरेका छन् । छैटौ डिभिजनबाट ५ सय ७२ जनाले समायोजन रोजेका थिए । ती मधये १ सय १८ जना प्लाटुन कमाण्डरदेखि डिभिजन कमाण्डरसम्मका रहेका छन् । (तस्बिर गुगल)

उता, सिन्धुलीको दुधौलीस्थित २ नम्बर डिभिजनमा रहेका लडाकुहरुले आज देखि हुने भनिएको भर्ना तथा छनौट प्रक्रियालाई बहिस्कार गरेका छन् ।
डिभिजनमा रहेका ३ सय ७० लडाकु मध्ये ३ सय जनाले संयुक्त रुपमा असहमति पत्र जारी गरी भर्ना छनौट प्रक्रियामा सहभागी नहुनेहरुको हकमा चेक उपलब्ध गराउन माग गरेका छन् ।
उनीहरुले प्राप्त गरिने चेकको मिति ठोस हुनुपर्ने, चेक काठमाडौबाट नभई शिविरबाटै उपलब्ध गराउनु पर्ने, अवकासमा जाने व्यक्तिहरुले पाउनु पर्ने रकम एक मुष्ट पाउनुपर्ने र भर्ना प्रक्रियामा जानेहरुको हकमा उमेर हदबन्दी ठोस हुनुपर्ने लगाएतका माग राखेर छनौट प्रक्रिया वहिस्कार गरेको जनाएका छन् ।
‘असहमति पत्र’ छनौट समिति र पूर्व जनमुक्ति सेनामा पनि पेश गरिसकेको डिभिजनका कम्पनी कमाण्डर अर्जुन राउतले जानकारी दिए ।
राउतले आफूहरुले राखेका माग सरकारले लिखित रुपमा पूरा नगरेसम्म भर्ना तथा छनौट प्रक्रिया हुन नदिने चेतावनी दिए ।
शिविरमा सेना र लोकसेवा आयोगका पदाधिकारीको टोली पुगेको भएपनि अहिलेसम्म भर्ना तथा छनौट प्रक्रिया सुरु हुन सकेको छैन् ।

प्रतिक्रिया