लडाकु समायोजन सुरु

कैलाली, २१ असार । अवरुद्ध सेना समायोजन प्रक्रिया बुधबारबाट सुरु भएको छ । चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन र कैलालीको तालबन्दस्थित सातौँ डिभिजनमा लडाकुको सेनामा समायोजन प्रक्रिया सुरु भएको हो ।

कैलालीमा रहेको माओवादी लडाकुको सातौँ डिभिजन तालबन्दमा पनि बुधबारबाट छनोट प्रक्रिया सुरु भएको नेपाली सेनाको कैलालीस्थित तेघरी ब्यारेकले जनाएको छ । तालबन्दमा रहेका कुल तीन सय १५ लडाकुको छनोट प्रक्रिया सुरु भएको हो । तेघरी ब्यारेकका कर्नेल अर्जुन खड्काको नेतृत्वको १० सदस्यीय छनोट टोलीले बुधबार सातौँ डिभिजन मुख्यालय तालबन्दमा छनोट केन्द्र स्थापना गरेको छ । छनोट क्याम्प स्थापना गरिएको र बिहीबारबाट नेपाली सेनामा समायोजन हुने लडाकुको आउने प्रक्रिया सुरु हुने कर्नेल खड्काले बताए । कैलालीमा रहेको एक मुख्य शिविर र तीन सहायक शिविरमध्ये यसअघि नै सहजपुरमा रहेको बहुवीरयोद्धा ब्रिगेडको कार्यालय सशस्त्रको जिम्मा लगाइएको थियो ।
अहिले, डिभिजन मुख्यालय तालबन्द, सहायक शिविरहरू बडैपुर र गोरंगेमा मात्रै माओवादी लडाकु बसिरहेका छन् । नेपाली सेनाको छनोट टोलीले सातौँ डिभिजन मुख्यालय तालबन्दमा मात्रै छनोट प्रक्रिया अगाडि बढाइने भएकाले सबै लडाकुलाई तालबन्दमा नै बोलाइएको छ । बुधबार सुरु गरिएको छनोट प्रक्रिया साउनको पहिलो सातासम्म सकिने नेपाली सेनाको छनोट टोलीले जनाएको छ । सातबुँदे सहमतिअनुसार माओवादी लडाकुलाई शिक्षामा एक तह, उमेरमा तीन वर्ष र वैवाहिक अवस्थामा छुट दिने भनिएको छ । तर, अन्य कुरामा भने विद्यमान सैनिक ऐन नै लागु हुने बताइएको छ । जसअनुसार सिपाही पदका लागि बियरिङका अलावा प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक परीक्षा, लिखित परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण र बोर्ड अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्ने प्रावधान तोकिएको छ ।
यस्तै, चितवनको शक्तिखोर शिविरमा बसिरहेका माओवादी लडाकुको भर्ना छनोट प्रक्रिया बुधबारबाट सुरु भएको छ । उपरथीहरू बलदेवराज महत र सुरेन्द्रबहादुर कार्की एवं प्रमुख सेनानी प्रकाश केसी शिविर पुगेपछि प्रक्रिया अघिबढेको हो । शमशेरदल गण भरतपुरका गणपति जोतेन्द्र महतका अनुसार लडाकुको दर्ताप्रक्रिया सुरु गरी औपचारिक रूपमा छनोट प्रक्रिया सुरुवात गरिएको छ । यस विषयको समाचार संकलनका लागि शिविर पुगेका पत्रकारलाई भने प्रवेश दिइएको छैन ।
देशका सात मुख्य शिविरमा समायोजन रोजेर बसेका तीन हजार एक सय २३ पूर्वलडाकुमध्ये ६ सय २५ जना चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा रहेका छन् । टोलीले केन्द्रको निर्देशनानुसार प्रक्रिया अगाडि बढाउने बताइएको छ । शिविरसँगै भरतपुरस्थित गणमा पनि छनोट प्रक्रिया थालिने गणपति महतले बताउनुभयो । छनोट प्रक्रियामा शारीरिक बनावटका विभिन्न पक्षको जाँच गरिने बताइएको छ । समायोजनका सम्बन्धमा महानिर्देशनालय गठनका साथै नागरिकता, अनमिनको प्रमाणीकरण बेलाको उल्लिखित उमेर, शिक्षा, दर्जा, सेवा अवधिजस्ता विषयमा विवाद टुंगिएको छैन । गत २८ चैतमा राजनीतिक निर्णयअनुसार अपर्झट नेपाली सेनालाई माओवादी लडाकु शिविरमा प्रवेश गराइएको थियो ।

प्रतिक्रिया