शिवराम र तारा सर्वश्रेष्ठ, रमिला लोकप्रिय

काठमाडौं,२१  असार । बजाज पल्सर स्पोटर्स अवार्ड–२०६८ मा गोल्फ खेलका शिवराम श्रेष्ठ पुरुषतर्फ र भारोत्तोलनकी तारादेवी पुन महिलातर्फ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । गोल्फ र भारोत्तोलनले मुख्य विधा जितेको यो पहिलोपटक हो ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना र हंसराज हुलासचन्द गोल्छाको बजाज पल्सर मुख्य प्रायोजक रहेको ‘बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०६८’ कार्यक्रम बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा सम्पन्न भयो । सोही कार्यक्रममा खेलकुदका विभिन्न आठ विधाअन्तर्गत विभिन्न पुरस्कार प्रदान गरियो ।
कार्यक्रमको सुरुमै पछिल्लो वर्षकी ‘लोकप्रिय खेलाडी’ पुरस्कारविजेता तथा हालकी सिने नायिका सिपोरा गुरुङले राष्ट्रिय झन्डासहितको राष्ट्रिय गीत गाएर सबैलाई मन्त्रमुग्ध पारेकी थिइन् । गत वर्ष सूर्य नेपाल गोल्फ टुरको ११ मध्ये ७ उपाधि जितेका शिवराम श्रेष्ठ नेपालको प्रतिष्ठित सूर्य मास्टर्समा दुवैपटक तेस्रो भएका थिए । ट्रफी हात पार्ने क्रममा शिवरामले पौडीका शैलेश राणा, क्रिकेटका पारस खड्का, एथलेटिक्सका तिलकराम थारू र घोडचढीका ध्रुवप्रसाद अर्याललाई पछि पारेका थिए ।
छैटौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको ६९ केजीमा क्लिन एन्ड जर्कमा ९१ केजी र कुलतर्फ १ सय ५७ केजी उचाल्दै नयाँ कीर्तिमान बनाएकी तारादेवी पुन सोही खेलमा स्ट्रङगेस्ट वुमन घोषित भएकी थिइन् । प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण जितेकी उनले वर्षको उत्कृष्ट महिला खेलाडी बन्ने क्रममा एथलेटिक्सकी प्रमिला रिजाल, पौडीकी श्रेया धिताल, टेबुलटेनिसकी नविता श्रेष्ठ र ब्याडमिन्टनकी नङसलादेवी तामाङलाई पछि पारिन् । यु–१९ क्रिकेट टोलीका कप्तान पृथु बास्कोटा वर्षका उत्कृष्ट युवा खेलाडी चुनिँदा क्रिकेटकै जगत टमाटा वर्षका उत्कृष्ट प्रशिक्षक बने ।
नेपाल एपिएफ क्लब एकदिवसीय राष्ट्रिय र छैटौँ राष्ट्रिय खेलकुदकी विजेता बन्दा महत्त्वपूर्ण खेलाडीमा रहेका पृथु आयरल्यान्डमा नेपाललाई आइसिसी यु–१९ विश्वकप छनोटमा उपविजेता बनाई छैटौँपटक यु–१९ विश्वकपमा छनोट गराउँदाका कप्तानसमेत थिए । विश्वकप छनोटमा उनले १५५ रन बनाउनुका साथै नौ विकेटसमेत लिएका थिए । पृथु युवाको विधामा क्रिकेटकै रुविना क्षेत्री, एथलेटिक्सकी विश्वरूपा बुढा र सिद्धान्त अधिकारी तथा पौडीका शिरीष गुरुङसँगै मनोनयनमा थिए ।
पृथुले कप्तानी गरेको नेपाली यु–१९ टोलीलाई प्रशिक्षण दिएका टमाटा उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भएका थिए । नेपाललाई यु–१९ को विश्वकपमा छनोट गराउने क्रममा टमाटा केवल दोस्रो घरेलु प्रशिक्षकसमेत हुन् । क्रिकेटका पुवुदु दसानायके, नवीन सिंह, जुडोका वीरबहादुर राना र पौडीका ईश्वर कार्की पनि प्रशिक्षकको मनोनयनमा परेका थिए ।
लोकप्रिय खेलाडीको पुरस्कार भलिबलकी रमिला तण्डुकारले जितिन् । १ लाख २३ हजार ६ सय ५२ एसएमएस भोटिङमध्ये रमिलाले ४४ हजार २ सय ५४ मत प्राप्त गर्दै वर्षको लोकप्रिय उपाधि हात पारिन् । फुटबलका भरत खवास दोस्रो स्थानमा रहे । उनले ३८ हजार ९ सय ५८ मत पाए । २४ हजार १ सय ८६ मतका साथ क्रिकेटका शक्ति गौचन तेस्रो स्थानमा रहे । मनोनयनमा परेका अन्य दुई खेलाडीमा एथलेटिक्सकी सविता चौधरी र टेनिसकी अश्लेषा लिसानोभिच थिए ।
स्मरणशक्ति कमजोर भएकी चितवनकी शर्मिला लामिछाने पारा एथलिट पुरस्कारबाट सम्मानित भइन् । २१ वर्षीया शर्मिलाले गत वर्ष ग्रिसमा सम्पन्न स्पेसल ओलम्पिकमा सटपुटतर्फ स्वर्णपदक जितेकी थिइन् । स्पेसल ओलम्पिकको दौडमा पनि भाग लिएकी उनले त्यहाँ भने चौथो स्थान हासिल गरेकी थिइन् ।
नेपाली खेलकुदमा दानवीरका रूपमा चिनारी बनाएका नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन विशेष पुरस्कारबाट सम्मानित भए । नेपालगन्जका उद्योगी टण्डनलाई नेपाल खेलकुद पत्रकार मञ्चले नेपाली खेलकुदमा उनले लामो समयदेखि गर्दै आएको योगदानका लागि विशेष पुरस्कारबाट सम्मानित गरेको थियो । नेपालगन्जमा १५ वर्षअघि चौथो राष्ट्रिय खेलकुद आयोजना गर्दा व्यक्तिगत रूपमा सहभागी सबै खेलाडी तथा पदाधिकारीको खानपिन र बसोबास व्यवस्था गरेका टण्डन नेपाली खेलकुदका ठूला लगानीकर्ता हुन् । नेपालगन्जमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन तथा हालै पहिलो दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिप गर्दा उनैले सबै खर्च व्यहोरेका थिए ।
पहिलो नेपाली ओलम्पियनमध्येका भूपेन्द्र सिलवाल लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए । नेपालले पहिलोपटक सन् १९६४ बाट ओलम्पिक सहभागिताको सुरुआत गर्दा सहभागी खेलाडीमध्ये सिलवाल एक थिए । पुख्र्याैली घर ललितपुरको गोदावरीवरिपरि डाँडाकाडाँमा दौडँदादौडँदै सिलवाल २० वर्षको उमेरमा नेपाली सेनामा भर्ती भए र आफ्नो औपचारिक खेलजीवन सुरु गरेका थिए । उनले सन् १९५८ को टोकियो एसियन गेम्समा खाली खुट्टा दौडिएरै सातौँ स्थान हासिल गरेका थिए ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र लोकप्रिय खेलाडीले बजाज पल्सर मोटरसाइकल, ट्रफी, सामसुङको क्यामेरा र डिसहोमको सेटबक्स प्राप्त गरे । त्यस्तै अन्य विधाका विजेताले जनही ट्रफी ३० हजार रुपियाँ, सामसुङको क्यामेरा, डिसहोमको सेटबक्स पाए । मनोनयनमा पर्नेले टाइमेक्सको घडी र जोनप्लेयरको तर्फबाट गिफ्ट हयाम्पर प्राप्त गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना तथा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको अटोमोबाइल ब्रान्ड पल्सरको मुख्य प्रायोजन रहेको अवार्डलाई डिसहोम, वेस्टर्न युनियन, सूर्य नेपाल, आइएसएमई र एभेन्युज टेलिभिजनलगायत व्यापारिक एवं व्यावसायिक संघसंस्थाले साथ दिएका थिए ।

विजेता र उपलब्धि
वर्षका उत्कृष्ट खेलाडी (महिला)
तारा पुन (भारोत्तोलन)
– छैटौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको ६९ केजीमा क्लिन एन्ड जर्कमा ९१ केजी र कुलतर्फ १ सय ५७ केजी उचाल्दै नयाँ कीर्तिमान
– छैटौँ राष्ट्रिय खेलकुदमा स्ट्रङगेस्ट वुमन घोषित
– नेपालगन्जमा सम्पन्न प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण दुई प्रथम खुला भारोत्तोलन ग्राँपीमा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण अध्येता हुन् ।

वर्षका उत्कृष्ट खेलाडी (युवा)
पृथु बास्कोटा । नेपाल एपिएफ क्लब एकदिवसीय राष्ट्रिय र छैटौँ राष्ट्रिय खेलकुदमा विजेता बन्दा महत्त्वपूर्ण खेलाडी ।
– आयरल्यान्डमा नेपाललाई आइसिसी यु–१९ विश्वकप छनोटमा उपविजेता बनाई छैटौँपटक यु–१९ विश्वकपमा छनोट गराउँदा कप्तान । १५५ रन र ९ विकेटको योगदान ।
– एसिसी टी–ट्वान्टी र विश्व टी–ट्वान्टी छनोटमा नेपाली टोलीमा ।
– एसिसी टी–ट्वान्टी मा कुवेतमाथि १ रनको जित निकाल्ने अन्तिम ओभरमा ३ विकेट लिन सफल । विश्व टी–ट्वान्टी मा ८३ रन र २ विकेट ।

वर्षका उत्कृष्ट खेलाडी (पुरुष)
शिवराम श्रेष्ठ । गोल्फ । ०६८ सालमा सर्वाधिक धन आर्जन गर्ने नेपाली खेलाडी ।
– सन् २०११–१२ को सिजनमा ९ लाख ९ हजार ६ सय रुपियाँ आर्जन । ११ मध्ये ७ प्रतियोगिताको उपाधि । नेपालको सर्वाधिक प्रतिष्ठित सूर्य नेपाल मास्टर्स वर्ष–०६८ मा दुईपटक आयोजना हुँदा दुवैपटक तेस्रो हुन सफल । प्रोफेसनल गल्फ टुर अफ इन्डियाको सन् २०१२ को छनोटमा विदेशीतर्फ दोस्रो हँुदै ‘फुल कार्ड’ लिन सफल ।

वर्षका उत्कृष्ट प्रशिक्षक
जगत टमाटा (क्रिकेट)
– नेपाल आइसिसी यु–१९ विश्वकप छनोटमा उपविजेता हुँदा प्रशिक्षक ।
– नेपाललाई छैटौँपटक आइसिसी यु–१९ विश्वकपका लागि छनोट गराउन सफल ।
– सन् २००० देखि २००८ सम्म लगातार चारपटक आइसिसी यु–१९ विश्वकप खेलेको नेपाल २०१० मा भने छनोट हुन सकेन । टमाटाको प्रशिक्षणमा नेपाल पुन: यु–१९ विश्वकपको ट्रयाकमा आउन सफल ।
– नेपाललाई यु–१९ को विश्वकपमा छनोट गराउने टमाटा केवल दोस्रो घरेलु प्रशिक्षक बन्न सफल ।
रोचक के छ भने कार्यक्रमको बीचबीचमा विभिन्न सांगीतिक कार्यक्रम समावेश गरिएका थिए । विशेषगरी तीनजना प्रोफेसनल नारी कलाकारले प्रस्तुत गरेको बेले नृत्य उत्कृष्ट मानिएको थियो भने नवोदित गायिका इन्दिरा जोशीको गायन अत्यन्त प्रशंसनीय थियो । अझ त्यसभन्दा बढी त हास्यकलाकार दीपकराज गिरीले प्रस्तुत गरेको चुट्किला, क्यारिकेचर र प्रहसन उन्नतस्तरको रहेको दर्शकहरूले गरेको ‘वन्स मोर’ को समवेत आवाजबाटै प्रस्ट हुन्थ्यो ।
‘नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको आजको कार्यक्रम निकै रोचक र उत्साहजनक रहयो । मलाई यस्तो धेरै सहभागिता देखेर अत्यन्तै खुसी लाग्यो,’ शेखर गोल्छा, रतन टण्डन, अतीशकृष्ण श्रेष्ठ, सुपरस्टार राजेश हमालसमेत विभिन्न वरिष्ठ व्यक्तित्वले सम्बोधन गरेको कार्यक्रम सकिएपछि तेक्वान्दो लिजेन्ड संगीना वैद्यले सौर्यसँग भनिन् ।

प्रतिक्रिया