बघौडा विद्युतीकरण अलपत्र

नेपालगन्ज, २० असार । बाँकेको सोनारी–बघौडा विद्युतीकरणको ठेक्का पाएका ठेकेदार काम छाडेर सम्पर्कबिहीन भएपछि आयोजना अलपत्र परेको छ । स्थानीय उपभोक्ता समितिलाई समेत जानकारी नदिई ठेकेदार काम छाडेर भागेको महिनौँ भइसकेको छ ।
ठेकेदार राजेन्द्र मिश्रले एकाएक काम छाडेपछि बाँके राप्तीपारिस्थित ९ गाविसमा विद्युत् विस्तारको काम अलपत्र परेको हो । बैजापुर, फत्तेपुर, बिनौना, कालाफाँटा, कटकुइँया, गंगापुर, नरैनापुर, मटेहियालगायतका गाविसमा विद्युत् विस्तारको काम साँढे दुई वर्षदेखि अघि बढ्न नसकेपछि बिजुली बाल्ने त्यसक्षेत्रका नागरिकको सपना अधुरै रहेको छ ।
डेढ वर्षभित्र विद्युतीकरणको काम सकाउने गरी ०६४ मा लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । तर ठेकेदार मिश्रले काम नगरेपछि ३३ केभी लाइन विस्तारको काम रोकिएको ग्रामीण सामुदायिक विद्युतीकरण समितिका संरक्षक अमर खड्काले जानकारी दिए । उनका अनुसार ४२ महिनाभन्दा बढी समयदेखी काम सकिएको छैन ।
विद्युत् विस्तारका लागि १० प्रतिशत स्थानीय स्तरबाट र अन्य सबै रकम सरकारले जम्मा गर्ने प्रावधानअनुसार स्थानीयले तीन करोड २२ लाख रकम जुटाइसकेका छन् । दुई वर्षका लागि आठ करोड ४० लाखमा सम्झौता भएको सबस्टेसन निर्माण भने करिब ९० प्रतिशत पूरा भइसकेको छ । तर, ठेकेदारका कारण ३३ केभिको लाइन विस्तार गर्न नसक्दा विद्युतीकरणका अन्य काम पनि रोकिएको खड्काले जानकारी दिए ।
बाँकेको राप्तीपारिको बघौडा क्षेत्रका सर्वसाधारणको घर अगाडि बिजुलीको पोल गाडेको लामो समय बितेको छ । तर, घरमा झिलिमिली बत्ती बाल्न भने पाएका छैनन् । त्यसक्षेत्रका सर्वसाधारण एक दशक पोल हेरेरै बिताउन बाध्य छन् । सोनारी–बघौडा विद्युतीकरणको काम सुचारु हुन लागेपछि त्यस क्षेत्रका नागरिकमा उत्साह थपिएको थियो । ठेक्का सम्झौताअनुसार काम नभएपछि भने अहिले निरुत्साहित बनेका छन् ।
राप्तीपारि वर्षांै पहिले जडान गरिएका विद्युत्का पोल जीर्ण भइसक्दासमेत विद्युत् विस्तार नभएपछि उज्यालोमा बस्ने आशा मरेको स्थानीयले बताए । विद्युत् सेवा नहुँदा उनीहरू टिभी, मोबाइल फोन लगायतका विद्युतीय उपकरण प्रयोग गर्नबाट बन्चित भएका छन् ।

प्रतिक्रिया