बिजुलीको नाफा सरकारलाई दिइने

काभ्रे, २० असार । काभ्रेका विकट गाविसका उपभोक्ताले बिजुलीबाट आर्जित नाफा सरकारलाई हस्तान्तरण गर्ने भएका छन् ।
बिजुलीको मूल्य बढ्ने तर लोडसेडिङ कम नहुने सहरी क्षेत्रको समस्याबाट वाक्क भइरहेका बेला सस्तो मूल्यमा बिजुली उपलब्ध गराएर नमुना बनेका छन् । स्थानीय उपभोक्ता प्रतिवाट ८० पैसामा बिजुली उपभोग गरिरहेका छन् । बत्तीबाट नाफा आर्जन हुन थालेपछि उपभोक्ता त्यस्तो रकम राज्यलाई दिन लागेका हुन् ।
जिल्लाको विकट गाविस डाँडापारीको बूढाखानी गाविसमा ०५७ सालमा उपभोक्ताले पार्वती लघु जलविद्युत्मार्फत बत्ती बालेका थिए । जिविस काभ्रेको ९८ हजार तीन सय ८२, वैकल्पिक ऊर्जाको १४ लाख र रिमेक काभ्रेको प्राविधिक सहयोगमा सो आयोजना सम्पन्न भएको थियो ।
एक सय ४७ घरधुरीले प्रयोग गरेको बत्तीको महसुलबाट मासिक रूपमा संकलन भएको ११ हजारबाट खर्च हुने पाँच हजार एक सय कटाएर अरू रकम नाफा हुने गरेको छ । जिविसका स्थानीय विकास अधिकारी गोविन्दबहादुर कार्कीलाई एक कार्यक्रमका साथ सो आयोजनाले नाफाको पाँच प्रतिशत लाभांश १८ हजार पाँच सय ५१ रुपियाँ हस्तान्तरण गरिएको छ । ‘हामी बर्षेनि लाभांशको रकम फिर्ता गर्दै जानेछौँ, उपभोक्तालाई लगानी गरेको रकम राज्यले फिर्ता पाउने रहेछ भन्ने देखाउन चाहन्छौँ,’ आयोजानका कोषाध्यक्ष टेकबहादुर थापाले भने ।
आयोजना सञ्चालन गर्न उपभोक्ताले पार्वती खोला लघु जलविद्युत् सहकारी दर्ता गरी मासिक बचतसमेत संकलन गरेका छन् । माओवादीको सशस्त्र युद्धले प्रभावित पारे पनि उपभोक्ताकै लागि आयोजना सञ्चालन गरेकाले निरन्तरता दिएको सचिव शिवबहादुर जर्घा मगरले बताए । सहकारीमा ६ लाख १४ हजार सेयर पुगिसकेको छ भने १० वर्षमा ३५ लाख रुपियाँ बराबरको कारोबार गरिसकेको अध्यक्ष टंकप्रसाद हुमागाईंले बताए ।
काभ्रेमा सञ्चालन भएका २७ लघु जलविद्युत्मध्ये ११ वटा मात्रै सहकारीको माध्यमबाट सञ्चालन भएका छन् ।

प्रतिक्रिया