बहुलवादलाई अराजकताको पगरी

बहुलवाद आजको राजनीतिक चिन्तनभित्रको एक धार हो । दलगत राजनीतिको प्रतिस्पर्धा मात्र बहुलवाद होइन । बहुलतालाई पुँजीवादी दार्शनिकदेखि माक्र्सवादी दार्शनिकहरूमध्ये कतिपयले २१औं शताब्दीमा स्वीकार गरेको अवस्था विद्यमान छ । बहुलवाद सपनाको मायालोक पनि होइन । बहुलवाद समाजका हरेक अंग, जाति र पार्टी–पार्टीभित्र हुनुपर्छ । प्राचीन कालखण्डदेखि आजसम्मको संघर्षले समाजमा विभिन्न चिन्तन, दर्शनहरूको जन्म भइरहेको छ । बहुलवाद नै शाश्वत सत्य पनि होइन । बहुलता आज जीवन पद्धतिका रूपमा विकसित भइरहेको दृष्टिकोण हो । बहुलताको माध्यमबाट ऐतिहासिक तथ्यले ठहर गरेका आदिवासी, अल्पसंख्यक जातहरूको संस्कृति, त्यहाँभित्र रहेका रोजगारको अभाव, भोक, शोक, बढ्दो युवा शक्तिको पलायन, निराशा, कुण्ठा, जाति–जातिभित्रको शोषण, अन्याय, अत्याचार, अपराधहरू ज्यादा जटिलताले मुलुककै भविष्यमाथि खतरा बढाएको छ ।
बहुविचार, बहुसंस्कृति, बहुभाषा, बहुजातिको घोलन रहेको नेपालमा राजनीतिक जोड–घटाउ सत्ताप्राप्तिको भर्‍याङ मात्र बनाउनका लागि बहुलताभित्रको समाज, राजनीति, अर्थनीतिलाई उपयोग गर्ने मात्र हो भने जनजीवनमा कुनै फेरबदल आउँदैन । कर्णाली नेपालको भए पनि नेपाल हुन सकेको छैन । ज्वलन्त सामाजिक समस्या वर्तमान राजनीतिको राज्य पुनर्संचनाको नामको झगडाले समाधान हुँदैन । घर घरमा बहुलता पस्नुपर्‍यो, सार्थक सिर्जनाका लागि, देश विकासका लागि, सामाजिक उत्थान र प्रगतिका लागि । बहुलताको अर्थ जातिगत, धर्मगत राजनीति होइन । बहुलताले सामाजिक सद्भाव, सामाजिकता, एकअर्काको परिपूरक हुने जीवन्त दर्शनलाई निषेध गर्दैन । बहुलता निषेधको दृष्टिकोण बोकेको दर्शन होइन । बहुलता स्विकार्नु आजको समाज विकासक्रमको बाध्यता पनि हो । बहुलताले भोलिको सुन्दर नेपालको मार्गचित्र दिन सक्यो भने समाजले त्यसलाई वैधता दिन्छ । अन्यथा बहुलताप्रति प्रश्नचिह्न लगाउँदै समाज अर्को दर्शनको खोजीमा लाग्छ । बहुलता माक्र्सवादविरोधी पनि होइन र पुँजीवादविरोधी पनि होइन ।
वर्तमानमा सबै कुराको निदान माक्र्सवादले मात्र गर्न सक्दैन । समाजका विभिन्न तप्का र तहका जनजीवनहरूको उत्तरदायीपूर्ण राजनीति, साहित्य, कला, अर्थजगत्को मानवहित अनुकूल पुँजीवादले पूर्ण गर्न सक्दैन । समाजमा वर्ग संघर्ष, विद्यमान रहने हुँदा सो वर्ग संघर्षलाई आजको सन्दर्भमा बहुलताको माध्यमबाट वैधानिक संघर्षमार्फत समाधान गर्नुपर्छ । बहुलताभित्र रहेर त्यसभित्र हुने द्वन्द्वभित्र स्वस्थ र सुन्दर समाज निर्माण गर्नुपर्छ । राजनीतिक निरंकुशताविरुद्ध, सत्तामुखी राजनीतिविरुद्ध, पुँजीवादी र सामन्तवादी शोषणविरुद्ध, त्यसले निर्माण गरेको शोषणमुखी समाजविरुद्ध सोच निर्माण गर्नुपर्छ । नेपालको सन्दर्भमा बहुलवादी सोच, चिन्तन र सांस्कृतिक मान्यता भएको सार्थक र सिर्जन २१औं शताब्दीको समाजवादी मोडलको रूपरेखा खिच्नका लागि बहुलता आजको आवश्यकता हो । चुनाव मात्र हुनु लोकतन्त्र होइन । लोकतन्त्रभित्र बहुलता हुन्छ र त्यो बहुलताभित्र चुनाव नै सम्पूर्णता होइन । जीवन र जगत्लाई व्यवस्थित र सुन्दर बनाउने क्रममा असहमति र विरोध सामान्य हो । तर, असहमतिको नाममा, विरोधको नाममा समाजलाई, देशलाई टुक्राटुक्रा बनाउनु बहुलताको सिद्धान्त होइन । हामीले बहुलतालाई यसरी नै बुझ्नुपर्छ । बहुलताको अर्थ जातिको स्वायत्तता होइन, व्यक्तिको स्वायत्तता हो । त्यो स्वायत्तताभित्र समाजको सर्जक हुने, समाजलाई सकारात्मक दिशा दिने, सिंगो जनसमुदायको भावना, आकांक्षा, सुख, दु:खभित्र संवेदनशील मान्छेले नै आºनो स्वायत्तताको प्रयोग गर्ने हो । पश्चिमा शैलीको बहुलता र एसिया संस्कृतिभित्रको नेपाली संस्कृति जनजीवनमा हामीले खोज्ने बहुलता फरक हुन्छ । बहुलताभित्र कुनै पनि जातजातिको भूगोलभित्र राजतन्त्र हुनु हुँदैन । कुनै जाति कुनै भूगोलभित्र अभिजात वर्ग पनि हुँदैन । भूमण्डलीकरणको चाप र तापमा बहुलताभित्र जाति खोज्ने, त्यसका लागि राजनीति खोज्ने र नागरिकमाथि ज्यादतीपूर्ण भविष्य पस्किने वर्तमानको तयारी समाजविरोधी तयारी हो । भविष्यमा वर्तमानका जातका, भातका, राजनीतिका, अर्थका, संस्कृतिका तथाकथित नायकहरू खलनायक बन्न पुग्नेछन् ।
बहुलताले कट्टरतावाद स्वीकार गर्दैन, त्यसैले ११–१२ अर्बको महाभोज गरी संविधानसभा विघटन गरेभैँm फेरि पनि त्यस्तै तानाबाना बुनिदैँछ । पश्चिमा शैलीको बहुलताभित्र हाम्रो सामाजिक संरचनाको समीक्षा यथावत राख्दै फेरि खाने र सत्ता पाउने दाउमा वर्तमान तथाकथित नायकहरू लागिपरेका छन् । त्यसैले बेलैमा बहुलताको उपयोग गर्दै खबरदारी गरौँ । देशभित्र भइरहने सामाजिक विषमता, सांस्कृतिक विषमता र राजनीतिक विषमता हटाउने भ्रमपूर्ण नाराहरू बन्दुकको नालबाट वा चुनिएको सरकारबाट पूरा हुने अवस्था छैन । चित्रित चेहराहरू उही छन्, भोट फेरि तिनैलाई दिँदा के परिवर्तन हुन्छ र ? बन्दुकको नालको सत्ताको चमकदमकले १७ हजार लाश बनाउने इतिहास लेख्नेबाहेक केही भएन । भूमण्डलीकरणको हावामा तैरिँदा संविधान बनेन, माथिका भ्रमपूर्ण नाराका कारणबाट समृद्ध नेपाल बनेन । फेरि पनि जल, जमिन, जंगल, संस्कृतिमाथि संविधान ल्याउने नाममा खेलबाड हुँदैछ । भूमण्डलीकरणका आजका प्रणेताहरूसँग पुन: मुलुकले आत्मसमर्पण गर्न अभूतपूर्व दुर्घटना निम्त्याउने खतरा भएकाले बहुलताभित्र हाम्रो नेपाल आपैँmले खोज्ने प्रयत्न किन नगर्ने ?

प्रतिक्रिया