विद्यार्थी अभावमा विद्यालय बन्द

खोटाङ : विद्यार्थीको संख्या घटेपछि खोटाङका तीनवटा विद्यालयलाई छिमेकी विद्यालयमा गाभिएको छ । गाउँघरमा खुलेका निजीस्तरका अंग्रेजी स्कुलमा बालबालिका पढाउन थालिएपछि सरकारी विद्यालय धमाधम बन्द हुन थालेकाले मर्ज अभियान सुरु गरिएको हो ।
युवाहरू वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका र उनीहरूले पठाएको पैसाले निम्नस्तरका परिवारले पनि आफ्ना बालबालिकालाई निजी स्कुलमा पढाउन थालेपछि सरकारी विद्यालय बन्द हुँदै गएका हुन् । विद्यालयमा विद्यार्थी संख्या घटेपछि सदरमुकाम दिक्तेलको नेपाल बालमन्दिर प्राथमिक विद्यालयलाई सरस्वती उच्च मावि दिक्तेलमा गाभिएको छ । करिब एक सय विद्यार्थीलाई उच्च माविमा गाभिएको शिक्षा कार्यालयले जनाएको छ ।
त्यस्तै, ऐसेलेखर्कको त्रिभुवन प्राविलाई त्रिभुवन उच्च माविमा र खोटाङबजारको बालमन्दिर प्राविलाई भगवती उच्च माविमा गाभिएको छ । जिल्ला शिक्षा कार्यालयमा हालै जिल्लास्तरको सर्वपक्षीय संयन्त्रले विद्यार्थी संख्या कम भएका जिल्लाका तीनवटा प्राविलाई नजिकका विद्यालयमा ‘मर्ज’ गरिएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले बताए ।
जिल्लामा मर्ज गर्ने खालका अन्य धेरै विद्यालय भए पनि भौगोलिक कारणले हिँड्न नसक्ने ससाना विद्यार्थीलाई ध्यानमा राखेर हाललाई तीनवटा विद्यालयलाई मात्र अर्को विद्यालयमा गाभिएको जिशिअ पोखरेलको भनाइ छ । यसरी मर्ज भएका विद्यालयका भवन र जग्गा बाल संगठनका नाममा रहने र चल सम्पत्ति मर्ज गरिएको विद्यालयमा प्रयोग गरिने पोखरेलको भनाइ छ । बैठकले जिल्लामा कार्यरत ५४ जना शिक्षकको दरबन्दी मिलान गरेको पनि शिक्षा कार्यालयले जनाएको छ । यसैबीच, विद्यार्थी संख्या कम भएपछि साउनेचौर गाविसको राप्चादेवी प्राविलाई बन्द गरिएको छ ।

प्रतिक्रिया