डिजेल अभावले विकास निर्माणका काम अवरुद्ध

कैलाली, १९ असार । विगत दुई सातादेखि पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा सुदूरपश्चिममा विकास निर्माणका काम प्रभावित भएका छन् ।

आर्थिक वर्ष ०६८/६९ सकिन केही दिन मात्र बाँकी रहँदा डिजेल अभावले तीव्ररूपमा भइरहेको विकास निर्माणकार्य अवरुद्ध भएको हो । समयमा नै डिजेल पाउन नसक्दा निर्माणको काम रोकिएको निर्माण व्यवसायी बताउँछन् ।
आर्थिक वर्षको अन्तिम भएकाले विकास निर्माणका योजना दुई साताभित्र सिद्धयाउनुपर्ने बाध्यता रहेको छ भने अर्कोतिर बजारमा डिजेल नपाएर ती योजनाको काम गर्न ठूलो समस्या परिरहेको अवस्था विद्यमान छ ।
डिजेल अभावमा खोड्पे–बझाङ, बैतडी–दार्चुला, पूर्वपश्चिम हुलाकी राजमार्गलगायत ठूला परियोजनाको काम प्रभावित भएको हो । यी सडकको कालोपत्र गर्ने तथा अन्य काम रोकिएको छ । बैतडी–दार्चुला सडकको कालोपत्र गर्ने जिम्मा लिएको लामा नागार्जुन चन्द्रा एन्ड वसन्त जेभीका हरिविजय मिश्रले डिजेल नपाएर दुई सातादेखि काम रोकिएको बताए । यसअघि ३२ दिनसम्म सुदूरपश्चिम बन्दले काम रोकिएकोमा पुन: डिजेल नपाएर ४० वटा गाडी र अढाई सय मजदुर खाली बस्नुपरेको उनको भनाइ छ ।
कालोपत्र गर्न दैनिक पन्ध्र सय लिटर डिजेल चाहिनेमा हाल कम्पनीसँग एक लिटर पनि डिजेल नभएको सम्बन्धित निर्माण कम्पनीले जनाएको छ । डिजेल नपाएर रोपाइँ गर्ने काम पनि प्रभावित भएको छ । रोपाइँ गर्ने बेला भएको भए पनि बजारमा डिजेल नपाएर रोपाइँ गर्न ढिलाइ भएको कृषकले बताएका छन् । भारतीय बजार धाउँदासमेत डिजेल पाउन नसकेको धनगढी जुगेडाका यज्ञ विष्टले बताए । ‘धान रोप्ने समय भइसक्यो, डिजेल नपाएर खेत जोत्न पाएको छैन,’ विष्टले भने ।
आवश्यक मात्रामा डिजेल नपाइने भएकोले सवारीसाधन चलाउनमा समेत कठिनाइ भइरहेको गाडी व्यवसायीले बताएका छन् । डिजेल अभावले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा समस्या भइरहेको सुदूरपश्चिम बस व्यवसायी समितिले जनाएको छ ।
सरकारले आवश्यकताबमोजिम तेल खरिद गर्न नसकेर आपूर्ति गर्न नसक्दा तेल अभाव भएको धनगढीस्थित सुदूरपश्चिम आयल निगमले जनाएको छ । सुदूरपश्चिममा दैनिक ३ सय ५० केएल पेट्रोलियम पदार्थको माग भए पनि हाल ५० केएल मात्र आपूर्ति भइरहेको छ ।

प्रतिक्रिया