सहकारीको मल व्यापारीलाई बिक्री

नेपालगन्ज, १९ असार । रासायनिक मलको अभाव चर्किरहेको अवस्थामा सरकारले सहकारी संस्थालाई उपलब्ध गराएको सहुलियत मल व्यापारीको हातमा पुग्ने गरेको छ ।

बाँकेका सहकारी संस्थाले मल तस्करसँग मिलेर जिल्लाका कृषकका लागि पाएको मल दाङ, सुर्खेतलगायत पहाडी जिल्लामा बिक्री गर्ने गरेका छन् । सहकारी संस्थाले बिक्री गरेको रासायनिक मल ठूलो मात्रामा कम्दी–अगैया हुँदै ट्रयाक्टरमा दाङ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । कृषकका लागि अनुदानमा आएको मललाई सहकारी संस्थाले व्यापारीलाई बिक्री गरेपछि उनीहरूले सो मललाई चोर बाटो हुँदै आफ्नो जिल्लामा लैजाने गरेका छन् ।
दाङको टरिगाउँका सेवक केसीको लु १ त ७९३२ नम्बरको ट्रयाक्टरमा दाङ लैजाँदै गरेको एक सय नौ बोरा रासायानिक मल प्रहरीले बाँकेको कचनापुरमा बरामद गरेको छ । नेपालगन्जबाट कम्दी हुँदै दाङको टरिगाउँ लैजान लागेको ८५ बोरा युरिया र २४ बोरा डिएपी रासायनिक मल र चालक नारायण चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।
उनका अनुसार सो मल चुलिमालिका सहकारी संस्था कोहलपुर, भीमसरिया बहुउद्देश्यीय सहकारी संस्था नौवस्ता र जिल्ला सहकारी संघ, बाँकेका नामबाट कृषि सामग्री केन्द्र नेपालगन्जबाट खरिद गरिएको हो । जसमा ६० बोरा मलको बिल भए पनि बाँकी ४९ बोरा मलको कुनै स्रोत खुल्न सकेको छैन ।
‘थप अध्ययनका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाएको छु,’ खड्काले भने । उनले मल कहाँबाट ल्याइएको हो भन्ने प्रमाण नभएकाले सहकारी संस्थाबाटै किनेको पुष्टि भएको बताए ।
बाँकेमा कृषकहरू मल नपाएर हैरान छन् । उनीहरूका लागि भनेर वितरण गरिएको मल सहकारीबाट यसरी व्यापारीले बिक्री गर्ने गरिएको छ । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष पदम धितालले कृषकका लागि उपलब्ध गराइएको मल कुनै व्यापारीलाई बिक्री गर्न नपाइने बताए । ‘केही बदमासी भएको छ भने कडा कारबाही गर्छौँ,’ धितालले भने ।

प्रतिक्रिया