खानपानमा मात्रै ८४ हजार भुक्तानी

दोलखा, १९ असार । वर्षात् सुरुसँगै विकासे काम सिध्याउने र बजेट फ्रिज नपठाउने काममा दोलखाका सरकारी कर्मचारी सक्रिय भएका छन् । मिर्गेमा खनिएको सडकमा डोजर सञ्चालनभन्दा खानपानमा भुक्तानी बढी गरिएपछि राजनीतिक दल र गाविस सचिव मिलेर अनियमितता भएको खुलासा भएको हो ।

‘डोजर लगाएर सडक बनाउने र मानिसले खनेको बिल बनाउने काममा उपभोक्ता समूहले बदमासी गरेका हुन्,’ मिर्गेका एक स्थानीयले भने, ‘मिर्गे गाविसमा डोजरबाट काम लगाएर उपभोक्ताले डोजरको भाडाभन्दा बढी खाना र खाजामा खर्च गरेको देखाएका छन् ।’
गाविसभरि १२ शाखा रोड भए पनि सातवटा सडक मर्मत गरेर बाँकी सडकमा डोजरसमेत प्रयोग गरिएको थिएन । स्थानीय काममा नआएपछि डोजर प्रयोग गरेर बाटो निर्माण गरिएको गाविस सचिव सम्बरबहादुर तामाङले बताए । स्थानीय नआएका कारण डोजर प्रयोग गरिएको भनिए पनि खानपानमै ८४ हजार रुपियाँ भुक्तानी गरिएको उनले स्विकारे ।
‘चार राजनीतिक दलको पनि भागबन्डामा सहभागिता रहेको पाइएको छ,’ एक स्थानीयले भने, ‘७२ घन्टा डोजर चल्दा ८४ हजार रुपियाँको बिल नउठ्नुपर्ने हो तर खानपानमा त्यति ठूलो रकम भुक्तानी भएको छ ।’
गाविस सहायक अमृत तामाङले भने, ‘काममा पिछा गर्ने युवाहरूले खाएको पनि गाविसले भुक्तानी गर्नुपरेको छ ।’ जिविस दोलखाले भने ७२ घन्टा डोजर चलाएर खानपानमा मात्रै ८४ हजार रुपियाँको बिल उठेको र उपभोक्ता समूहको पैसा कटाउन कानुनसम्मत नभएको जनाएको छ । ‘व्यावहारिक रूपमा गाउँमा नै कुरा मिलेकोले हामीले प्रतिवाद गरेनौँ,’ जिविस दोलखाका योजना अधिकृत देवेन्द्र कार्कीले भने ।
मिर्गेमा तीन लाख रुपियाँ सडक मर्मतका लागि छुटयाइएकोमा ७२ घन्टा डोजर चल्दा र खानपिनमा करिब ६ लाख रुपियाँको बिल उठेपछि उपभोक्ताबाट असुल गर्ने गरी गाविसले कागजसमेत गरेको छ ।

प्रतिक्रिया