प्रधानमन्त्रीलाई सडकबाटै बर्खास्त गर्नु पर्छ

काठमाडौं, १८ असार । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई सडकबाटै बर्खास्त गर्न संयुक्त मोर्चाबन्दी गर्नुपर्ने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा उनले सरकार ढाल्न कांग्रेस, एमालेलगायतका दलले सुरु गरेको आन्दोलनमा आफूहरुले पनि सहभागिता जनाउने बताए ।
‘बाबुराम भट्टराईले राजीनामा दिदैनन्,’ उनले भने, ‘घेराबन्दीमा पारेर बर्खास्त गर्न सशक्त आन्दोलन गर्नुपर्छ ।’ प्रधानमन्त्रीलाई पदबाट हटाउन बालुवाटारभित्रै निरन्तर घेराबन्दीमा राख्नुपर्ने उनले बताए ।
उपाध्यक्ष गजुरेलले सत्तामा टिकिरहन प्रधानमन्त्री भट्टराईले संविधानसभा बिघटन गरेको दाबी गरे । प्रधानमन्त्री भट्टराई विदेशी शक्तिबाट संचालित भएको आरोपपनि उन लगाएका छन् । उनले विदेशी शक्तिकै दबावमा भट्टराईले राष्ट्रिय हितविपरित काम गर्ने गरेको आरोप लगाए ।
उनले सर्वोच्च अदालतको आइबारको फैसला अनुसार पूर्ण बजेट ल्याउन बाटो खोलिदिएको ठान्नु सरकारको भ्रम मात्र भएको जिकिर गरे । अदालतले राजनीतिक विषयमा बोल्न नमिल्ने जिकिर गर्दै जर्बजस्ती पूर्ण बजेट ल्याउन खोजे घातक परिणाम भोग्नुपर्ने गजुरेलले चेतावनी दिए ।
मंसिर–७ गते निर्वाचन नहुने बताएका उनले भने, ‘यो सरकारले गर्ने भनेको चुनावमा स्वयं उनको दलको प्रचण्डपक्ष समेत सहभागी हुँदैन ।’
केन्द्रीय कार्यालय कब्जा गर्ने
यसैवीच, उपाध्यक्ष गजुरेलले केन्द्रीय कार्यालय पेरीसडाँडाँ लगायत देशभरका कार्यालयहरुमा आफूहरुको समेत स्वामित्व रहेको जनाएका छन् । उनले स्वामित्व रहेको पार्टी कार्यालय त्यसै नछाड्ने बताए ।
‘पेरिसडाँडाको सम्पत्ति समेत बाँडफाँड हुनुपर्छ,’ उनले भने, ‘सहमतिमा नआए हामी कब्जा गर्छौं ।’
चितवन घटनामा प्रचण्डका भाई नारायण दाहाल र एमाओवादीका अर्का नेता चित्रबहादुर श्रेष्ठको प्रत्यक्ष निर्देशनमा गोली चलाइएको आरोप उनको थियो ।
‘हामीसँग हतियार छैन, सशक्त विचार छ,’ उनले भने, ‘लडाकुको सुप्रिम कमाण्डर, डेपुटी कमाण्डरका अलावा कमाण्डरहरु मात्र नभएर सेना, प्रहरी प्रशासन सबै प्रचण्डसँग छ भने हतियार कसरी हामीसँग हुन्छ ?’

प्रतिक्रिया