भारतमा ‘चलिए पोखरा’ अभियान

पोखरा, १८ असार । पोखराको पर्यटन प्रवद्र्धन गर्न भारतबाट ‘चलिए पोखरा’ कार्यक्रम सुरु गरिने भएको छ । पश्चिमाञ्चल होटल संघ पोखरा नेपालको आन्तरिक तथा बाह्य सहयोगमा पर्यटन प्रवद्र्धनको अभियान सुरु गर्न लागिएको हो ।
अभियान सफल पार्नका लागि यही २१ देखि २६ असारसम्म पोखरालाई भारतीय बजारमा प्रवद्र्धन गर्न कार्यक्रम सुरु गर्न लागेको संघका अध्यक्ष विप्लव पौडेलले बताए । उनका अनुसार यो अभियानलाई भारतका विभिन्न सहरमा पुर्‍याइने योजना छ ।
संघले भारतका खासगरी गोरखपुर, लखनउ र कानपुरमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । पोखरा र पोखरावरपरका पर्यटकीय गाउँलाई भारतीय सहरमा प्रचार गर्नु र भारतीय पर्यटकलाई विशेष प्याकेजका साथ पोखरा भ्रमणका लागि निम्तो दिनु रहेको पनि अध्यक्ष पौडेल बताउँछन् । सो सम्बन्धमा जानकारी दिन आयोजित कार्यक्रममा द्विपक्षीय व्यापारिक भेटघाट कार्यक्रमका साथ प्रचारात्मक गतिविधि अगाडि बढाइने संघले बताएको छ । अध्यक्ष पौडेलका अनुसार बोर्डर सिटी प्रवद्र्धन कार्यक्रमपछि नेपालको भारतीय पर्यटक आगमनमा १५ देखि २० प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ ।
उत्तर प्रदेश राज्यअन्तर्गत पर्ने गोरखपुर, लखनउ र कानपुरजस्ता सहरमा अहिले ४० डिग्री सेल्सियस हाराहारीको चर्को तापक्रम रहेको छ । त्यस्तो उकुसमुकुसबाट मुक्त भई केही दिन भए पनि आनन्द लिन भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य हुनसक्ने संघको विश्वास छ । पछिल्ला वर्षमा भारतको आर्थिक वृद्धिदर र भारतीयको प्रतिव्यक्ति आयसमेत बढ्दै गरेको अवस्था, उल्लेखित तीन सहरको जनघनत्व पनि बाक्लो रहेको र त्यहाँका नागरिकलाई पोखरासम्मको पहुँचसमेत छोटो र सहज पर्ने पोखरेली पर्यटन व्यवसायीको विश्वास छ ।
पोखरामा अहिले चार सयभन्दा बढी पर्यटकीय होटेल सञ्चालनमा छन । पोखराको पर्यटनमा करिब ५५ अर्ब रुपियाँ लगानी रहेको अनुमान छ । त्योमध्ये सबैभन्दा ठूलो हिस्सा होटल क्षेत्रको रहेको छ । सन् ०१० मा दुई लाख ३० हजार सात सय ९९ विदेशी पर्यटकले पोखरा क्षेत्रको भ्रमण गरेको तथ्यांक छ ।

प्रतिक्रिया