सिंहले फेरि ‘जादु गर्ने’ अपेक्षा

नयाँदिल्ली, १८ असार । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले अर्थमन्त्रीको समेत जिम्मेवारी लिएपछि भारतीय लगानीकर्ताले द्रूत आर्थिक विकासको अपेक्षा गरेका छन् ।
अर्थमन्त्रीको जिम्मेवारी लिएपछि सेन्सेक्स सेयर सूचकांक दुई महिनामा सबैभन्दा उच्चविन्दुमा पुगेको छ । उनले यसअघिको अति नै फस्टाएको अर्थतन्त्रलाई एकपटक पुन: जादुबाट जोगाउने अपेक्षा गरिएको छ । अहिले भारतको आर्थिक वृद्धि गत नौ वर्षको सबैभन्दा तल्लोस्तरमा पुगेको छ । अब यसमा सुधार आउने अपेक्षा उद्योगीव्यवसायीले गरेका छन् ।
भारतीय सेयर बजारका प्रभुदास लीलाधरका सहप्रबन्ध निर्देशक अमीशा बोराले प्रधानमन्त्री सिंहलाई अर्थतन्त्रको धड्कनको विषयमा जानकारी भएको र उनले केही सही निर्णय गर्ने आशामा आफू रहेको बताए । गत साता विश्व बैंकका पूर्व अर्थशास्त्रीले अर्थमन्त्रालय आफ्नो नियन्त्रणमा लिएपछि व्यापारिक समूहले भारतका करिब १५० जना उच्च कार्यकारी अधिकारीबीच गरेको सर्वेक्षणमा अर्थतन्त्रमा नयाँ ऊर्जा प्रवाह हुने अपेक्षा बढेको देखिएको छ ।
प्रधानमन्त्री सिंहले वरिष्ठ राजनीतिज्ञ प्रणव मुखर्जीले राष्ट्रपतिको पदका लागि उम्मेदवारी दिन राजीनामा दिएपछि सो पद लिएका हुन् । उनले अर्थतन्त्रको भावनालाई पुन: स्थापना गर्नुपर्नेमा जोड दिइसकेका छन् । गत साता अर्थमन्त्रालयका वरिष्ठ अधिकारीलाई अर्थतन्त्र पुन: अगाडि बढाउन तथा वृद्धिका कथा पुन: आरम्भ गर्न कार्य गर्नुपर्ने बताए । उनले निराशाको अवस्थामा परिवर्तन गर्न पनि आग्रह गरे ।
सन् १९९१ मा अर्थमन्त्रीको रूपमा उनले स्वतन्त्र बजारलाई अवलम्बन गर्दै तथा प्रशासनतन्त्रलाई तोड्दै द्रूत आर्थिक विकासलाई अगाडि बढाएका थिए । धेरैले प्रधानमन्त्री सिंहले अर्थमन्त्रीको पनि जिम्मेवारी लिएपछि दोस्रो चरणको सुधारका प्रक्रिया अगाडि बढाउने, दुई अंकको विकास प्राप्त हुने र लाखौँ भारतीय जनता छिट्टै गरिबीबाट मुक्त हुने आशा गरेका छन् ।
गठबन्धन सरकारभित्रै विरोध तथा अरबौँ डलरको भ्रष्टाचार कान्डका कारण भारत सरकारले सुधारका योजनाअगाडि बढाउन सकिरहेको छैन । सोही कारण लगानीकर्ता त्रसित छन् । उनले गत साता सम्बोधन गरेपछि व्यापारिक मनोभावनामा सुधार आएको छ । विश्लेषकहरूले उनको आफ्नो भनाइलाई गराइमा परिणत गर्नुपर्ने बताएका छन् ।
सिएलएसएका अर्थशास्त्री राजिव मलिकले एएफपीलाई भनेका छन्, ‘उनले आफूले बोलेको कुरामा अगाडि बढ्नुपर्ने र यसका लागि गठबन्धनले पनि सहयोग गर्नुपर्ने र विदेशी लगानीकर्तालाई दिक्क बनाउने क्रियाकलाप बन्द गर्नुपर्छ’, लन्डनमा केन्द्रीय कार्यालय रहेको लगानी परामर्स संस्था लालक्यापका प्रमुख दीपक लालवानीले प्रधानमन्त्री सिंहले भोडाफोनको निर्णयलाई उल्टाउन सक्नुभएमा उनले भारतमा विदेशी लगानीकर्ताको विश्वास पुन:स्थापना गर्नसक्ने टिप्पणी गरेका छन् ।
विश्लेषकहरूले अर्थतन्त्रलाई सुधारको बाटोमा पुन: ल्याउन नोभेम्बर महिनासम्म अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री सिंहले आफैँले सम्हाल्नु हुने र त्यसपछि मुखर्जीका प्रतिस्थापक खोज्नुहुने अनुमान गरेका छन् । अर्थतन्त्रकोस्तर मापन गर्ने विश्वव्यापी संस्थाले भारतको उच्च वित्तीय तथा चालु खाता घाटा र बढ्दो मुद्रास्फीतिका कारण उसको ऋणको स्तरलाई अझै घटाउन सक्ने चेतावनी दिएका छन् ।
यसबीच जनवरीदेखि मार्चसम्म भारतको अर्थतन्त्र ५.३ प्रतिशतले वृद्धि भएको छ भने आर्थिक वृद्धि घटेको छ । भारु सटहीदर अमेरिकी डलरका तुलनामा गत १२ महिनामा सबैभन्दा तल्लो स्थानमा रहेको छ । सुधारका पाइलाका रूपमा विश्लेषकले अमेरिकी वालमार्टजस्ता विदेशी विशालबजारलाई भारतमा ५१ प्रतिशत सेयर दिनुपर्ने धारणा राखेका छन् । यसबाट भारतमा अरबौँ अमेरिकी डलर बराबरको लगानी प्राप्त हुने अपेक्षा उनीहरूले गरेका छन् । साथै उनीहरूले उद्योगका लागि भूमि प्राप्त गर्ने कुरामा सरलता, विदेशी वायुसेवालाई घरेलु विमान सेवाको ४९ प्रतिशतसम्म सेयर खरिद गर्न पाउने सुविधा पनि माग गरेका छन् । उनीहरूले यसबाट हाल उड्डयन क्षेत्रलाई आवश्यक पर्ने लगानी प्राप्त हुने आशा गरेका छन् । प्रधानमन्त्री सिंह सन् ०१४ को निर्वाचनपछि प्रधानमन्त्री पदमा नहुने अनुमान गरिएको छ ।

प्रतिक्रिया