कांग्रेस र एमालेले पूर्ण बजेटको प्रतिवाद गर्ने


काठमाडौं, १७ असार । कामचलाउ सरकारले अध्यादेश मार्फत ल्याउने पूर्ण बजेटको प्रतिपक्षी दल कांग्रेस र एमालेले प्रतिबाद गर्ने चेतावनी दिएका छन् ।
एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस सभापति सुशील कोइरालावीच आज खनाल निवास डल्लुमा भएको भेटवार्तामा आफूहरुलाई उपेक्षा गरेर ल्याईने पूर्ण वजेटको प्रतिवाद गर्ने सहमति भएको उनीहरुले बताएका छन् ।
करिब एक घण्टा भएको भेटमा शीर्ष नेताहरुले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिका लागि मार्ग प्रसस्त गर्नुको साटो पूर्ण बजेट ल्याउन लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
भेटमा सरकार बिरुद्ध संघर्षका कार्यक्रम ल्याउने विषयमा पनि कोइराला र खनालवीच सहमति भएको छ ।
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस सभापति कोइरालाले समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको भन्दै दलहरुका वीच सहमति गरेर बजेट ल्याउनु पर्ने बताए । उनले अध्यादेशबाट आउने पूर्ण बजेटलाई स्वीकार गर्न नसकिने बताए ।
एमाले अध्यक्ष खनालले कामचलाउ बनिसकेको सरकारले जब्बरजस्ती बजेट ल्याउन खोजे त्यसको प्रतिबाद गर्ने चेतावनी दिए । ‘प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहमति भन्दा बाहिरबाट बजेट नल्याउन सजग बनाईसकेको छौं,’ उनले भने, ‘दलहरु वीचको सहमति भन्दा बाहिरबाट आएको बजेटले मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पार्छ ।’

प्रतिक्रिया