फर्किइन् सुकी

यंगोन, १७ असार । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी युरोपेली राष्ट्रहरूको दुई साता लामो भ्रमणपछि शनिबार स्वदेश फर्किएकी छिन् । स्वदेश फर्किएकी सुकीलाई विमानस्थलमा हजारौँ नागरिकले स्वागत गरेका थिए ।
१५ दिनअघि सुकीले स्विट्जरल्यान्डबाट युरोप भ्रमण आरम्भ गरेकी थिइन् । उनले युरोपका पाँच देशको भ्रमण गरेकी थिइन् । भ्रमणका क्रममा उनीप्रति ती देशका नागरिक तथा सरकारहरूले भव्य स्वागत तथा सम्मान प्रकट गरेका थिए । कतिपय राष्ट्रले उनलाई म्यानमारको राज्य प्रमुखलाई झैँ सम्मान प्रदान गरेका थिए । म्यानमारको जेल तथा आफ्नै निवासमा गरी करिब दुई दशक लामो बन्दी जीवन बिताएकी उनले २४ वर्षपछि पहिलोपटक युरोप भ्रमण आरम्भ गरेकी थिइन् ।
उनको स्वागतमा म्यानमारका नागरिक तथा उनको दलका कार्यकर्ताहरू हजारौँको संख्यामा विमानस्थल पुगेका थिए । साथै उनी फर्किने बाटैभरि स्वागतका लागि ठूलो संख्यामा नागरिक उभिएको समाचारमा जनाइएको छ । भ्रमणबाट फर्किएलगत्तै नेत्री सुकीले आगामी संसद्को बैठकमा सहभागिताका लागि आवश्यक तयारी गर्ने समाचारमा जनाइएको छ । ६७ वर्षीया सुकीले म्यानमारको संसद्को प्रमुख प्रतिपक्षी दलका नेताको हैसियत औपचारिक रूपमा लिने कार्यक्रम छ । साथै उनको दल नेसनल लिग फर डेमोक्रेसीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसद्हरूले पनि संसद्मा पार्टीका तर्फबाट म्यानमारका लागि आवश्यक एजेन्डा अघि सार्ने कार्यक्रम रहेको छ ।
स्वदेश फर्किएकी सुकीले पत्रकारहरूलाई कुनै प्रतिक्रिया दिइनन् । शुक्रबार फ्रान्सको राजधानी पेरिसमा फ्रान्सेली समाचार समिति
(एएफपी) लाई दिएको अन्तर्वार्तामा उनले भ्रमणका क्रममा युरोपेली राष्ट्रहरूले दिएको सम्मान र म्यानमारको प्रजातन्त्रका लागि व्यक्त गरेको ऐक्यबद्धताका लागि खुसी व्यक्त गरेकी थिइन् । साथै उनले आवश्यक परेको खण्डमा म्यानमारका नागरिकले चाहे आफू म्यानमारमा सरकारको नेतृत्व लिन पनि तयार रहेको बताएकी थिइन् । (एएफपी)

प्रतिक्रिया