रुवाबासीमा रोकिएन डोजर

काठमाडौं, १७ असार । ‘स्थानीयवासीले अवरोध मात्र गरेनन्, केही त आफ्नो घरमा डोजर चल्न सुरु भएपछि रुवाबासीमा उत्रिए । तर, सडक विस्तार क्रममा आसपासका घर भत्काउने काममा कठोरसँग प्रस्तुत ट्राफिक, महानगरपालिका र विस्तार अभियानमा जुटेको संस्थाले डोजर चलाइछाड्यो । रुवाबासी गर्नेको चित्कार सुनेन भने प्रहरी परिचालन गरेर घर भत्काउने क्रममा अवरोध गर्न आउनेलाई पक्राउ पनि गरियो ।

शनिबारदेखि निरन्तरता दिन थालेको सडक विस्तार अभियानअन्तर्गत लाजिम्पाट–महाराजगन्ज सडकखण्ड भत्काउने काम सुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका, स्थानीय सरोकारवाला संघसंस्थाको सहकार्यमा सडक विस्तार कार्य सुरु भएको हो ।
विस्तारमा स्थानीयको अवरोध निष्प्रभावी पार्न महानगरीय प्रहरी परिसरका आठ सय ५० र ट्राफिकसहित हजारभन्दा धेरै प्रहरी परिचालन गरिएका थिए । सडक विस्तार क्रममा लैनचौरबाट आठवटा डोजर र राष्ट्रपतिभवन तर्फबाट चारवटा डोजर एकैपटक लगाइएको थियो । ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक विस्तार गर्ने क्रममा शनिबार नै लाजिम्पाटस्थित होटल एम्बेसडोरदेखि महाराजगन्ज हुँदै गल्फुटारसम्मको दायाँ भाग भत्काइएको छ । महाशाखाका प्रमुख डिआइजी गणेशराज राईले सडक विस्तारको पहिलो चरणअन्तर्गत सडक आसपासका टहरा, पर्खाल, कम्पाउन्ड, सटर मात्रै भत्काइएको बताए । उनका अनुसार सडकखण्डमा बनाइका घर दोस्रो चरणमा भत्काइनेछ । डिआइजी राईले भने, ‘दोस्रो चरणको काम पनि चाँडै सुरु हुनेछ ।’
महाशाखाका अनुसार सडक मिचेर बनाइएका पक्की घर सकभर घरधनीलाई नै भत्काउन लगाउने योजना छ । ‘अटेर गरे बल प्रयोग गरिनेछ,’ डिआइजी राईले भने, ‘०३३ सालपूर्व बनेका घर र त्यसपछि बनेका घरको महानगरपालिकाबाट स्वीकृत नक्सासहित हकदाबी गर्न घरधनीलाई केही समय लाग्ने भएकाले चरणबद्ध रूपमा सडक विस्तार गरिएको हो ।’
महानगरपालिकाको नियमानुसार सडकखण्डमा परेका घरधनीले क्षतिपूर्ति पाउने व्यवस्था छ । ०३३ सालपूर्व बनेका घर र त्यसपछि बनेको घरको महानगरपालिकाबाट स्वीकृत नक्सा छ भने क्षतिपूर्ति पाउनेछन् । सडक विस्तारका क्रममा डोजर चलाएपछि केही स्थानीयले बिहानैबाट विरोध गरेका थिए । लाजिम्पाटमा विरोधमा निस्किएका केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । स्थानीयले आफूहरू युद्धभूमिमा पुगेको बताउँदै सरकारी दादागिरी बताएका थिए । कतिपयले पर्खाल भत्काउन सुरु गरेर सहयोग पनि गरेका थिए ।
पानीपोखरीका हरिशरण केसीले सरकारको योजना अत्यन्तै उपयोगी भए पनि सबै ठाउँमा समान रूपमा भत्काइनुपर्नेमा कसैको बढी र कसैको कम भत्काइएको गुनासो गरे ।
सरकारले राष्ट्रपतिभवन वरपर रहेको निषेधित क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको छ । यसअघि शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरेर अवरोध नगर्न र गरिए बल प्रयोग गर्ने चेतावनी दिएको थियो । सडक विस्तार भइरहेकाले सो क्षेत्रमा सवारी आवागमनलाई समेत रोकिएको छ । राष्ट्रपतिभवनदेखि लैनचौरसम्म कुनै पनि सवारीसाधन चल्न दिइएको थिएन । शनिबार व्यापारिक प्रयोजनमा रहेका घर, पर्खाल, अस्थायी टहरा, मोटर ग्यारेजलगायत संरचना मात्र भत्काइएको छ ।

प्रतिक्रिया