एमाओवादी विघटनको अवस्थामा

बुटवल, १६ असार । एमाले अध्यक्ष झलनाथ खनालले गलत सिद्धान्त र सोंचका कारण एमाओवादी विघटनको अवस्थामा पुगेको दाबी गरेका छन् ।
एमाओवादीका विगत दिक्दारिपूर्ण क्रियाकलाप रहेको भन्दै उनले उसको अगाडिको भविष्य अन्यौलग्रस्त रहेको उल्लेख गरे । उनले भने, ‘एमाओवादीले मुलुकलाई अँध्यारो सुरुङ्गतिर धकेलेर आफै विघटनको बाटोमा पुगेको छ ।’
एमाले लुम्बिनी अञ्चलस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई आज बुटवलमा सम्बोधन गर्दै खनालले हत्या, हिंसा, अपराध र हतियारको बलमा जन्मिएको पार्टी भएकाले एमाओवादीले असफलता भोग्नुपरेको बताए ।
अनावश्यक वितण्डा झिकेर एमाओवादीले संविधानसभाको दुःखद अवसान गराएको खनालको भनाइ थियो । ‘आफूलाई संविधानसभाको मसिहा ठान्ने पार्टीले नै संविधानसभाको हत्या गरेको छ ।’
उनले मंसिर–७ गतेको चुनाव एमाओवादीको नौटंकी र नालायकी ढाछोप गर्ने बहाना मात्रै भएको बताए । उनले भने, ‘चुनाव हुनै सक्दैन ।’

प्रतिक्रिया