मधेसी दलहरूभित्र रडाको

काठमाडौं, १६ असार । सरकारबाट तत्काल हट्ने कि नहट्ने भन्ने विषयमा सत्तारूढ दलभित्रै विवाद सुरु भएको छ । खासगरी मधेसवादी र साना दलबाट मन्त्री रहेका नेता वर्तमान सरकारलाई टिकाउनुपर्ने पक्षमा छन् भने अन्य नेता तत्काल सरकार ढाल्नुपर्ने लबिङमा लागेका छन् ।
संविधान जारी गर्न नसकेकाले सरकारको औचित्य सिद्धिएको भन्दै तत्काल सरकार विघटन हुनुपर्ने तर्क केही नेताको छ । सरकारले मधेसवादी दलका मुद्दालाई समेट्न नसकेको र चारबँदे सहमति कार्यान्वयन हुन नसकेको भनेर पनि उनीहरूले असन्तुष्टि जनाउन थालेका छन् ।
मधेसी मोर्चामा रहेका पाँचवटै दलमा सरकारमा रहने कि नरहने भन्ने विषयमा विवाद छ । खासगरी गणतान्त्रिक फोरम र तमलोपाभित्र यो विवाद उत्कर्षमा पुगेको छ । गणतान्त्रिक फोरमका कार्यवाहक अध्यक्ष राजकिशोर यादव यही सरकारलाई टिकाउनुपर्ने पक्षमा छन् भने अन्य सबैजसो नेता पार्टी तत्काल सरकारबाट हट्नुपर्ने अडानमा छन् । ‘यो सरकारको औचित्य अब सिद्धिसकेको छ । पार्टी तत्काल सरकारबाट हट्नुपर्छ,’ गणतान्त्रिक फोरमकी नेत्री सुरिता साहले भनिन्, ‘हाम्रो पार्टीभित्र कार्यवाहक अध्यक्ष मात्र सरकारमा रहनुपर्ने पक्षमा हुनुहुन्छ ।’
तत्काल सरकारबाट हट्नुपर्ने भनी निर्णय गराउन पार्टीका केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन पटक–पटक माग गरेका छन् । तर, कार्यवाहक अध्यक्ष यादवले चार महिनादेखि बैठक बोलाएका छैनन् । दुई महिनाअघि उनले बैठक बोलाएका थिए तर बैठक बस्न नपाउँदै स्थगन भएको थियो । जेलमा रहेका पार्टी अध्यक्ष जेपी गुप्ता पार्टी तत्काल सरकारबाट हट्नुपर्ने पक्षमा छन् । जेलभित्रबाटै उनले यो सन्देश पार्टीका नेतालाई पुर्‍याएको स्रोतले बतायो । ‘पार्टीको बैठक बोलाउन पटक–पटक माग गरेका छौँ तर कार्यवाहक अध्यक्षले अझै बैठक बोलाउन मान्नुभएको छैन,’ साहले भनिन् ।
यस्तै विवाद तमलोपामा पनि छ । पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी यही सरकारलाई टिकाउने पक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर सरकार विघटनको पक्षमा । जितेन्द्र सोनाललगायत नेता पनि पार्टी सरकारबाट हट्नुपर्ने अडानमा छन् । ‘यो सरकार विघटन गर्नुपर्ने कुनै अवस्था छैन, यही सरकार टिकिरहन्छ,’ सौर्यसँगको कुराकानीमा पार्टी उपाध्यक्ष त्रिपाठीले भने । यता, नयाँ राष्ट्रिय सरकार गठन गर्ने विषयमा तमलोपा अध्यक्ष ठाकुरले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भेट गरेका छन् ।
तमलोपा नेपालमा पनि यस्तै विवाद सुरु भएको छ । पार्टी अध्यक्ष महेन्द्र यादव यही सरकारलाई निरन्तरता दिने पक्षमा छन् भने दानबहादुर चौधरी, गोविन्द चौधरीलगायत नेता पार्टी तत्काल सरकारबाट हट्नुपर्ने पक्षमा देखिएका छन् ।
यस्तै, विवाद साना दलमा पनि छ । नेकपा संयुक्तका गणेश शाहलगायत नेता पार्टी सरकारबाट हट्नुपर्ने पक्षमा छन् । सरकारमा रहेसम्म पार्टीको छवि बिग्रने तर्क उनीहरूको छ ।

कांग्रेस नेतृत्वमा सरकार : महतो

यसैबीच, सद्भावना पार्टीका अध्यक्ष तथा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार छिट्टै बन्ने दाबी गरेका छन् । मन्त्री महतोले भने, ‘अबको एक/डेढ महिनामा कांग्रेस नेतृत्वमा सहमतिको नयाँ सरकार बन्छ ।’ उनले दलहरूबीच भएको पछिल्लो पाँचबुँदे सहमतिअनुसार नै सरकार बन्ने दाबी गरे ।
महतोले सहमतिको सरकार बन्नुअघि नयाँ संविधानमा सहमति बन्ने बताए । उनले भने, ‘संघीयतासहितको संविधानमा पनि सहमति बनेपछि नयाँ सरकार बन्छ ।’ मुलुकलाई राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले त्यसका लागि दबाब सिर्जना गर्न आफूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र प्रधानमन्त्री बाबुराम भट्टराईसँग भेट गरिसकेको बताए ।
सरकार संवैधानिक नै रहेको दाबी गरेका मन्त्री महतोले भने, ‘कामचलाउ भइसकेको सरकारको राजीनामा माग्ने कार्य उचित होइन ।’ उनले राजीनामा माग्नुभन्दा सहमतिका लागि आवश्यक पर्ने काम गर्नुपर्ने बताए । प्रधानमन्त्रीले हालै त्रिभुवन विमानस्थलमा दिएको अभिव्यक्तिको मधेसी मोर्चाले समेत विरोध गरेको उनको भनाइ छ । ‘सहमति बिथोल्ने गरेर प्रधानमन्त्री भट्टराईले अभिव्यक्ति दिनुहुँदैन,’ महतोले भने, ‘वर्तमान सरकारले नै निर्वाचन गराउँछ, पद छाड्दिनँ भन्नु सहमति बिथोल्ने कार्य हो ।’
भट्टराईको पछिल्लो अभिव्यक्तिले दलहरूबीच तिक्तता ल्याएको उनले बताए । महतोले कामचलाउ भइसकेको सरकारको राजीनामा नमाग्न दलहरूलाई सुझाब दिएका छन् । उनले भने, ‘राजीनामा माग्ने होइन बरु दलहरूले सहमतिको प्रधानमन्त्री खोज्ने हो ।’ उनले सहमतिमा प्रधानमन्त्रीको उम्मेदवार अघि सारेमा बाबुराम भट्टराईले आफँैले पद त्याग गर्ने दाबी गरे ।
मन्त्री महतोले दलहरूले सहमति नजनाए पनि सरकारले पूर्ण बजेट ल्याउने दाबी गरे । मंसिर ७ मा गर्ने भनिएको निर्वाचन हुन सक्ने अवस्था आफूले नदेखेको उनले बताए ।

प्रतिक्रिया