त्रिशूली ‘३–ए’को क्षमता बढाइने

काठमाडौं, १४ असार । त्रिशूली ‘३–ए’ जलविद्युत् आयोजनाको क्षमता बढाइने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००७ र सन् ०११ मा गरेको अध्ययन तथा ६० मेगावाट क्षमताको आयोजनालाई ९० बनाउँदा हुने फाइदाका आधारमा आयोजनाको क्षमता बढाउन लागिएको हो ।
‘क्यु ७० मा बनेको आयोजनालाई क्यु ५२ गर्दा प्राविधिक रूपमा उपयुक्त हुने भन्दै वर्षामा समेत लोडसेडिङ भोग्नुपर्ने अवस्थामा उत्पादन बढाउँदा नेपाललाई फाइदा नै हुने निष्कर्ष प्राधिकरणको छ । प्राधिकरणका उच्च कर्मचारीका अनुसार वर्षा खेर जान्छ भनेर विरोध गर्नुको अर्थ छैन । वर्षामा भारतलाई बेच्ने र हिउँदमा किनेर सन्तुलित बनाउनतिर सरकार लाग्नुपर्छ ।
आयोजनाको ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनीले प्राविधिक रूपले आयोजनाको क्षमता बढाउनु उपयुक्त भएको भन्दै चारपटक क्षमता बढाउनका लागि सरकारसँग प्रस्ताव गरिसकेको छ । पछिल्लोपटक २३ मार्च ०११ मा कम्पनीले सरकारसँग क्षमता बढाउनका लागि प्रस्ताव गरेको हो ।
एक वर्षअघि निर्माण सुरु भएर १८ प्रतिशत काम पूरा भइसकेको आयोजनाको क्षमता अभिवृद्धि गर्दा एउटा सर्तमा ठेक्का दिएकाले आयोजना थप्दा अर्को सर्तमा पुन: ठेक्का गर्नुपर्ने, आयोजनाको पुन:डिजाइन गर्नुपर्ने, नयाँ ऋण सम्झौता गर्नुपर्ने जस्ता कठिनाइ बेहोर्नुपर्छ । तर, क्षमता अभिवृद्धि गर्दा नेपालका लागि धेरै फाइदा हुने तर्क ठेकेदार पक्षधरको छ । ‘क्षमता अभिवृद्धि गर्दा प्रतिकिलोवाटको लागत एक हजार चार सय ८६.३ डलर अर्थात् प्रतियुनिट दुई दशमलव ६८ पैसा मात्र पर्छ, यो नेपालकै सबैभन्दा सस्तो हो,’ ठेकेदार कम्पनी पक्षधरले थपे, ‘उपलब्धिका लागि भेरिएसनका आधारमा कम्पनीलाई ठेक्का दिनुपर्दैन र ठेकेदार कम्पनीले विस्तृत डिजाइन गर्ने हुनाले ऋण लगानी गर्न चाइनाको एक्जिम बैंक तयार छ,’ उनीहरूको तर्क छ ।
सार्वजनिक खरिद ऐनमा १५ प्रतिशतसम्म थप्न सक्ने भएकाले भेरिएसन थप उत्पादन र उपलब्धिका लागि भएकाले आयोजनाको क्षमता बढाउँदा कुनै फरक नपर्ने तर्क प्राधिकरण उच्च स्रोतको पनि छ । मुख्य सिजनमा लोडसेडिङ समस्या रहेकाले क्षमता बढाउँदा हिउँदमा कुनै फाइदा नपुग्ने तर्क क्षमता अभिवृद्धि गर्न नहुने पक्षको भए पनि तुलनात्मक रूपमा अरू आयोजनाभन्दा त्रिशूली ‘३–ए’ले सुख्खा याममा बढी उत्पादन हुने तर्क छ । प्राधिकरणले गरेकै अध्ययनका आधारमा पनि ९० मेगावाट बनाउँदा सुख्खा याममा ३६ प्रतिशत दिने उल्लेख छ । जबकि माथिल्लो तामाकोसीले १२ प्रतिशत, ‘अपर मस्र्याङदी–ए’ले १९ प्रतिशत र अपर खिम्तीको १८ प्रतिशत मात्र सुख्खा याममा उत्पादन हुन्छ । तामाकोसीले पूर्ण उत्पादन साढे चार महिना मात्र दिने भए पनि त्रिशूली ‘३–ए’ले भने साढे ६ महिना पूर्ण उत्पादन दिने ठेकेदारसम्बद्ध स्रोतको दाबी छ । अहिले नेपालको आवश्यकता ९५० मेगावाट नियन्त्रित आवश्यकता मात्र भएकाले ६० बाट ९० मेगावाट बनाउँदा नेपाललाई फाइदा नै फाइदा हुने तर्क ठेकदारसम्बद्ध पक्षको छ । ठेकेदार स्रोतका अनुसार नयाँ ३० मेगावाट बनाउनका लागि थप करिब पाँच वर्ष तथा पाँच अर्बभन्दा बढी लाग्ने भए पनि अहिले ठेकेदारले लिखित रूपमै एक वर्ष म्याद थपे पुग्ने बताएको छ । उसले सरकारले चाहेमा त्यसलाई छिटो गर्न लगाएर थप ६ देखि नौ महिनाभित्रै आयोजना पूरा हुने र त्यसका लागि करिब साढे तीन अर्ब मात्र बजेट बढ्ने जनाएको छ ।
ठेकेदार कम्पनी स्रोतले भने त्रिशूली ‘३–ए’ आयोजनाको क्षमता बढाउँदा त्रिशूली ‘३–बी’ आयोजनाको क्षमता पनि ३७ मेगावाटलाई बढाएर ५५ मेगावाट बनाउन सकिने जनाएको छ । उनीहरुका अनुसार क्षमता बढाउँदा हेडबक्र्स र प्रसारण लाइनमा कुनै फेरबदल गर्नुपर्दैन ।

प्रतिक्रिया