सार्वजनिक स्थानमा चुरोट तान्ने १३० पक्राउ

काठमाडौं, १४ असार । सार्वजनिक स्थानमा धूमपान गरिरहेका एक सय ३० जनालाई प्रहरीले पक्राउ गरी छाडिदिएको छ । मानिसको भिडभाड बढी हुने सार्वजनिक स्थान तथा अस्पताल आसपासका क्षेत्रमा चुरोट तानिरहेकालाई महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पक्राउ गरेको हो ।

सरकारी नियमानुसार सार्वजनिक स्थानमा धूमपान तथा सुर्ती सेवन गर्न पाइँदैन । सरकारले गत वर्षदेखि सार्वजनिक स्थलमा धूमपान गर्न प्रतिबन्ध गरे पनि हालसम्म यसको कार्यान्वयन हुन सकेको थिएन । महानगरीय प्रहरी परिसर काठमाडौंले सो नियम कार्यान्वयनमा ल्याउन बुधबारबाट चलाएको अभियानको पहिलो दिनमै राजधानीको रत्नपार्क, कमलपोखरी, वीर अस्पताल, थापाथली, सिंहदरबार, दरबारमार्गलगायत विभिन्न स्थानबाट एक सय तीसजनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दका अनुसार पहिलोपटक भएकाले पक्राउ परेका सबैलाई सम्झाइ–बुझाइ गरी छाडिएको छ । उनले अबदेखि सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही गर्ने बताए । ‘सार्वजनिक स्थानमा चुरोट पिइरहेको भेटिएमा अबदेखि हामी पक्राउ गर्नेछौँ,’ उनले भने, ‘पक्राउपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लगेर जरिवानासमेत तिराइनेछ ।’
सरकारले ल्याएको ‘सुर्तीजन्य पदार्थ
(नियन्त्रण र नियमन गर्ने) ऐन २०६८’ मा सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई सरकारले एक सय रुपियाँदेखि सार्वजनिक स्थलबाट बहिष्कार गर्नेसम्मको कारबाही गर्न सक्ने व्यवस्था छ । एसएसपी चन्दका अनुसार काठमाडौं मातहतका सबै निकायलाई परिसरले सार्वजनिक स्थानमा चुरोट खाएको भेटेमा पक्राउ गर्न निर्देशन दिएको छ ।
‘ऐन आएको लामो समयसम्म पनि कार्यान्वयन हुन सकेन,’ उनले भने, ‘त्यसकारण हामीले अभियानकै रूपमा कार्यक्रम सञ्चालन गरेका हौँ ।’ उनले यो कार्यक्रम निरन्तर चलिरहने जानकारी दिए । सरकारले गत २२ साउनदेखि सार्वजनिकस्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई कारबाही गर्ने नियम ल्याएको थियो । देशव्यापी रूपमा लागू भएको ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८’ मा भनिएको छ, ‘यदि कसैले ऐनविपरीत कार्य गरेमा निजलाई तुरुन्त धूमपान वा सुर्तीसेवन गर्न रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपियाँ जरिवाना वा दुवै सजाय हुनेछ ।’
स्वास्थ्यसचिव डा. प्रवीण मिश्रले प्रहरीले सुरु गरेको अभियानले ऐन कार्यान्वयनमा सहयोग पुगेको भन्दै यो अभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए । ‘सार्वजनिक स्थानमा मात्र होइन, कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारीसाधनभित्र धूमपान गर्न नपाउने व्यवस्था ऐनले गरेको छ,’ उनले भने ।
ऐनले सडक वा बाटोलाई सार्वजनिकस्थलका रूपमा परिभाषित नगरेकाले सो स्थानमा चुरोटका अम्मलीले अरू मानिसको अनुपस्थितिमा चुरोट खान सक्ने स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले बताए । ‘कुनै पनि कार्यालय वा सार्वजनिक स्थल र सो स्थानको हाताभित्र धूमपान तथा सुर्ती सेवन गरेमा कारबाही हुनेछ,’ उनले भने, ‘तर चुरोट तथा सुर्ती सेवन गर्नेले सडक, बाटो वा खुला स्थानमा कोही व्यक्ति पनि नभएको समयमा खान सक्नेछन् ।’
सरकारी तथ्यांकअनुसार नेपालमा प्रत्येक दिन सुर्ती सेवनका कारण ४४ जनाले ज्यान गुमाउनुपरेको छ । सुर्ती सेवनकै कारण उत्पन्न हुने रोगका उपचार गर्न बर्सेनि १६ अर्ब रुपियाँ खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा हरेक वर्ष ५० लाखभन्दा बढी मानिसको सुर्तीजन्य पदार्थको प्रयोगबाट अकालमा मृत्यु हुन्छ  । (तस्बिर गुगल)

धूमपान गर्न नपाइने स्थान
सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धवृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटेल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेना गृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रंगशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी–पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल तथा सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टर र ती क्षेत्रका हाताभित्र

प्रतिक्रिया