बबरमहल बमकाण्डका नाइके पक्राउ

विराटनगर, १४ असार । १५ फागुन ०६८ मा काठमाडौं बबरमहलमा गराइएको बम विस्फोटका नाइकेलाई घटना भएको झन्डै पाँच महिनापछि प्रहरीले पक्राउ गरेको छ ।

फरार विश्वक्रान्ति उपनामका देवराज लामा उर्फ राजकुमार तामाङलाई पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । ‘नेल्सन’ उपनामले समेत चिनिने लामालाई डिएसपी भीम दाहालको नेतृत्वमा खटिएको विशेष टोलीले पाँचथर लुङरूपा–२ भुसापातेबाट पक्राउ गरेको हो । भुसापाते गाउँसम्म पुग्न प्रहरीलाई १६ घन्टा पैदल यात्रा गर्नुपरेको थियो ।
बबरमहलमा गराइएको शक्तिशाली बम विस्फोटमा तीनको मृत्यु भएको थियो भने पाँच घाइते भएका थिए । विस्फोटमा परी ज्यान गुमाउने धादिङ बैरेनी–१ का ३५ वर्षीय कृष्णबहादुर तामाङ, सोही स्थानका मानबहादुर तामाङ र वीरबहादुर तामाङ हुन् । कृष्णबहादुरको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको थियो ।
विस्फोटमा परेर बाराका ३५ वर्षीय सोमबहादुर तामाङ, भक्तपुर ताथली–४ का ४५ वर्षीय रघुनाथ खड्का, धादिङका ६२ वर्षीय लालबहादुर तामाङ, ललितपुरस्थित लुभुका २० वर्षीय वासु श्रेष्ठ, अछाम मस्टमाडौं– २ का मानबहादुर कुँवर, सोही स्थानका भीमबहादुर कुँवर र धनगढीका ४० वर्षीय विष्णुप्रसाद पुलारा घाइते भएका थिए ।
लामाले जातीय समर्थक व्यक्तिसँग मिलेर पूर्वका विभिन्न स्थानमा बम विस्फोट गराउने योजना बनाइरहेको प्रहरीको दाबी छ । प्रहरीले लामाबाट दुई केजी गन्धक, १५ केजी सोडा, सोडा र गन्धक मिसाएको पदार्थ २ केजी, दुईवटा मोबाइल, तीनवटा एटिएम कार्ड, परिचयपत्र, कम्ब्याट ड्ेरस, डायरी, माइन्युटलगायत दस्तावेज बरामद गरेको छ ।
धनकुटा हिले घर भएका ४१ वर्षीय विश्वक्रान्तिको खास नाम राजकुमार लामा भएको प्रहरीले बताएको छ । उनी संयुक्त जातीय मोर्चाको प्रवक्ता र विदेश विभाग प्रमुख थिए । पाँचथरको विकट स्थानमा उनी आफ्ना सहयोगीको घरमा बसेका थिए । प्रहरीले मोबाइल ट्रेस गरेर लामालाई पक्राउ गर्न सफल भएको जनाएको छ । लामाको खोजीमा पूर्वी पहाडी क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो ।
लामा १५ जेठ ०६६ मा संयुक्त जातीय मुक्ति मोर्चामा आबद्ध भएका थिए । त्यसपछि उनी भूमिगत सशस्त्र गतिविधिमा संलग्न थिए । प्रहरीका अनुसार लामा धादिङ कारागारबाट ०६८ कात्तिकको पहिलो साता छुटेका थिए । लामा ०६८ जेठमा धादिङ बैरेनीबाट पक्राउ परेका थिए । प्रहरीले उनको साथबाट त्यस बेला एक थान जिलेटिन र विस्फोट गराउन प्रयोग हुने केप बरामद गरेको थियो ।
पक्राउ परेलगतै जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा चलाई धादिङ जिल्ला अदालतले ६ महिना कैद सजायको फैसला गरेको थियो । त्यसको चार महिनापछि लामा धादिङका सिडिओको आदेशमा जेलमुक्त भएका थिए । त्यसको केही महिनापछि लामाको निर्देशनमा बबरमहलमा बम विस्फोट भएको थियो ।
त्यसभन्दा अघि लामा काठमाडौंस्थित केन्द्रीय कारागारमा जेल परेका थिए । काठमाडौं जिल्ला अदालतले मागेको १० हजार धरौटी रकम तिर्न नसकेपछि लामालाई केन्द्रीय कारागार चलान गरिएको थियो । उनलाई १९ जेठ ०६८ मा तीनचुलेबाट महानगरीय प्रहरी वृत्त बौद्धले चन्दा असुल्दै गर्दा पक्राउ गरेको थियो । वृत्तले उनलाई चन्दा आतंक फैलाएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।
त्यसअघि उनले कमलादीस्थित प्रज्ञाभवनमा सकेट बम राखेका थिए । त्यस बेला भवनमा राष्ट्रिय जनमोर्चाको कार्यक्रम चल्दै थियो । बम राखेको जिम्मेवारी दिँदै लामाले विभिन्न सञ्चारमाध्यमलाई गोप्य स्थानबाट अन्तर्वार्तासमेत दिएका थिए ।
उनले नै बालुवाटारस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयअगाडि मूलढोकामा सकेट बम र सुतली बम राखेका थिए । प्रहरीका अनुसार लामा ओखलढुंगा, बारा, पर्सा, सुनसरी, मोरङ, झापा, उदयपुर, पाँचथर, सिन्धुपाल्चोकलगायत जिल्लामा सशस्त्र गतिविधि गरेर आतंक मच्चाएका थिए । थप अनुसन्धानका लागि लामालाई बुधबार नै काठमाडांै ल्याइएको छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

प्रतिक्रिया